+
+
Shares

कांग्रेसको संस्थापनइतर समूह समानान्तर गतिविधिबाट के माग्दैछ ?

शीर्ष नेताहरूसँगको परामर्शपछि पूर्णबहादुर खड्काले ६ वैशाखमा १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला डाकेका थिए । सोही भेलाको निष्कर्षपछि खड्काले फेरि मंगलबार अर्को भेला बोलाएका हुन् ।

केशव सावद केशव सावद
२०८३ वैशाख १५ गते २२:०२

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारितासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भइसक्दा पनि संस्थापनइतर समूहले समानान्तर गतिविधिलाई निरन्तरता दिइरहेको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई दिएको आधिकारितालाई चुनौती दिँदै दायर गरिएको रिट सर्वोच्चले खारेज गर्दा पनि निवर्तमान समापति पूर्णबहादुर खड्का समानान्तर गतिविधि गरिरहेका छन् ।

४ वैशाखमा सर्वोच्चले निवर्तमान सभापति शेरबहादुर देउवासँगै खड्काले दायर गरेको आधिकारितासम्बन्धी रिट खारेजको फैसला सुनाएको थियो । रिट खारेज भएसँगै विशेषबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएको थियो ।

त्यसअघि निर्वाचन अयोगले पुस मसान्तमा आयोजित विशेष महाधिवेशनलाई मान्यता दिएको थियो । २ माघमा बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत ठहर्‍याउँदै त्यसबाट चुनिएको केन्द्रीय कार्यसमितिका विवरण आद्यावधिक गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयसँगै विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भन्दै देउवा समूहले गरेको दाबी स्वत: खारेज भएको थियो । आयोगले विशेषलाई मान्यता दिएपछि देउवा–खड्का आधिकारिता दाबी गर्दै सर्वोच्च पुगेका थिए ।

आधिकारितासम्बन्धी मुद्दाको तीन महिनापछि रिट खारेज भएलगत्तै ५ वैशाखमा निवर्तमान कार्यवाहक सभापति खड्काले आफ्नै निवास गल्फुटारमा शीर्ष नेताहरूसँग परामर्श गरेका थिए ।

शीर्ष नेताहरूसँगको परामर्शपछि उनले ६ वैशाखमा १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला डाकेका थिए । सोही भेलाको निष्कर्षपछि खड्काले फेरि मंगलबार अर्को भेला बोलाएका हुन् ।

दुई दिनसम्म चल्ने भेलामा उनले १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य, जिल्ला सभापति र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरेका थिए ।

धुम्बाराहीस्थित होटल स्मार्टमा जारी भेलामा खड्कासँगै १४ औं महाधिवेशनमा निर्वाचित ६२ केन्द्रीय सदस्यहरू, ४ प्रदेश सभापति तथा उपसभापतिहरू, ३४ जिल्ला सभापतिहरू, ३० क्षेत्रीय सभापतिहरू, ४० जना पूर्वजिल्ला सभापति, बहालवाला जिल्ला सदस्य र महासमिति सदस्यहरूको उपस्थिति रहेको सहभागीहरूको दाबी छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार मंगलबारको भेलामा २३ जना नेताहरूले आ–आफ्नो धारणा राखेका छन् । निवर्तमान कार्यवाहक सभापति खड्काले भेला बुधबार बिहान ११ बजे फेरि बस्ने सूचना गरेको बैठकमा सहभागी कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले जानकारी दिए ।

पूर्वरक्षामन्त्री समेत रहेका नेता भीमसेनदास प्रधानका अनुसार भेलामा सहभागीहरूले पार्टी एकता कायम राख्न सभापति थापाले पहल कदमी नलिएको गुनासो गरेका छन् । उनका अनुसार पार्टी एकताका लागि सभापति थापाको भूमिका अर्थपूर्ण हुने भए पनि अहिलेसम्म एकताका लागि कुनै कदम नचालेको सहभागीहरूको गुनासो थियो ।

भेलास्थलबाट बाहिरिने क्रममा नेता प्रधानले सभापति थापालाई एउटा गुटको मात्रै सभापति हुने कि समग्र कांग्रेस पार्टीकै सभापति हुने भन्ने समय आएको प्रतिक्रिया दिए । ‘अहिले वैधानिक सभापति गगन थापा नै हो । सबैको सभापति हुने कि एउटा खेमाको मात्रै हुने भन्ने हो,’ उनले भने ।

अर्का नेता नेता रामहरि खतिवडाले भेलामा पार्टीलाई बलियो बनाउने पहल सभापतिले नै गर्नुपर्छ भन्ने आइरहेको बताए । पार्टीको विवाद सर्वोच्चले निरुपण गरिसके पनि १५ औं महाधिवशेन वृहत एकतासहित कसरी गर्ने भन्नेमा सभापति थापाले छलफल अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवाद थियो । सर्वोच्चले निर्णय गरिसक्यो । अब वृहत एकता गरेर १५ औं महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ भेलामा उठेका कुराबारे खतिवडाले भने, ‘कांग्रेसलाई बलियो बनाउने पहल सभापतिले नै गर्नुपर्छ भन्ने आइरहेको छ ।’

  

संस्थापनइतरको नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन सभापतिको भूमिका रहने बताइरहेका बेला थापाले भने ६ वैशाखमै निवर्तमान कार्यवाहक सभापति खड्कालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

न्यायालयबाट विवाद निरूपण भएपछि पार्टीलाई बलियो बनाउन सभापति थापाले अग्रसरता लिइसकेको उनीनिकट नेताहरू बताइरहेका छन् । तर, खड्काले भने समानान्तर गतिविधिलाई निरन्तरता दिइरहेका छन् ।

यससँगै अदालतले पार्टीको विवाद निरूपण गरिसकेपछि नेता खड्कालाई किन पार्टी काममा फर्किन सकस भइरहेको छ भन्ने प्रश्न उठिरहेको छ । यसबारे अनलाइनखबरले प्रतिक्रिया लिन खोज्दा उनी बोल्न मानेनन् ।

तर, उनीनिकट नेता मीन विश्वकर्माले सर्वोच्च अदालत र निर्वाचन आयोगबाट कानुनी र संवैधानिक विवाद निरूपण भए पनि राजनीतिक र व्यवहारिक विवाद यथावत रहेका कारण समानान्तर गतिविधि भइरहेको प्रतिक्रिया दिए ।

‘अदालत र आयोगले दिएको निर्णय पनि कानुनी र संवैधानिक विवाद त निरूपण गर्‍यो । तर, राजनीतिक र व्यवहारिक विवादहरू यथावत रहेको हुनाले पार्टी एकता जरूरी छ,’ उनले भने, ‘त्यो एकताका लागि १५ औैं महाधिवेशनलाई साझे (साझा) महाधिवेशन कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइराखेको हो ।’

निवर्तमान प्रचार विभाग प्रमुख विश्वकर्माले आप्mनो समूहमा रहेका नेताहरूको भूमिका थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा नहुँदासम्म समानान्तर गतिविधिहरू चलिरहने समेत संकेत गरे ।

‘पार्टी कामका लागि सानेपामा जानलाई यहाँ रहेका कुनै पनि नेताहरू केन्द्रीय कार्यसमितिको कुनै पनि भूमिका हुनुहुन्न,’ उनले भने, ‘त्यो भूमिकामा जाने वातावरण जबसम्म बन्दैन, तबसम्म पार्टी एकता भएको मान्न सकिँदैन ।’

नेता विश्वकर्माले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमिति एकलौटी ढंगले चल्दा १४ औं महाधिवेशनबाट निर्वाचित थुप्रै नेताहरू पार्टीको मूलधारबाट बाहिर रहने स्थिति बनेको पनि बताए ।

‘१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिले १५ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरिसकेपछि बीचमा निर्वाचन आयो,’ उनले भने, ‘निर्वाचन अघि कुनै पनि महाधिवेशन हुन्न भनेर वैशाखमा तोकेकोमा विशेष महाधिवेशनबाट आएको समितिबाट एकलौटी ढंगले पार्टी सञ्चालन भयो । १४ औं महाधिवेशनमा निर्वाचित भएका थुप्रै साथीहरू पार्टीको मूलधारबाट बाहिर रहने स्थिति भयो ।’

निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले इतर समूहका नेता पार्टी काममा नफर्किएको टिप्पणीको खण्डन गरे ।

‘हामीहरू पार्टीको काम गरिरहेकै छौं । जहाँ पार्टीका नेता–कार्यकर्ता साथीहरूले खोज्नुहुन्छ, जहाँ पार्टीको आवश्यकता हुन्छ, हामी हुन्छौं । यो अहिले हामीले गरेको भेला पनि पार्टीकै काम हो,’ उनले भने ।

बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले पार्टी कामकै लागि भेला राखिएको तर्कसमेत गरे । ‘पार्टी बलियो कसरी बनाउन सकिन्छ, पार्टीलाई एकताबद्ध कसरी बनाउन सकिन्छ, कमजोर प्रतिपक्ष भएका बेला कसरी बलियो प्रतिपक्षी बन्न सकिन्छ, कसरी सरकारलाई खबरदारी गर्न सकिन्छ, कसरी नागरिकको पक्षमा काम गर्न सकिन्छ, भनेरै मिटिङ गरेको हो,’ उनले प्रश्न गरे, ‘यो मिटिङलाई के सम्झिनु भएको छ ?’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?