News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निर्वतमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी एकता कायम राख्न सभापति गगनकुमार थापाले पहल नगरेको गुनासो गरेका छन्।
- शेरबहादुर देउवा समूहका नेताहरूले पार्टी एकताका लागि सभापति थापाको भूमिका अर्थपूर्ण हुने तर अहिलेसम्म कुनै कदम नचालेको बताएका छन्।
- नेता भीमसेनदास प्रधानले सभापति थापालाई सबैको सभापति हुने कि एउटा गुटको मात्र हुने भन्ने स्पष्ट पार्नुपर्ने बताए।
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान उपसभापति पूर्णबहादुर खड्काले डाकेको भेलामा सहभागीहरूले पार्टी एकता कायम राख्न सभापति गगनकुमार थापाले पहल कदमी नगरेको गुनासो गरेका छन् ।
धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको शेरबहादुर देउवा समूहका नेताहरूको भेलामा सहभागीहरूले पार्टी एकताका लागि सभापति गगनकुमार थापाको भूमिका अर्थपूर्ण हुने बताएका हुन् । तर अहिलेसम्म थापाले एकताका लागि कुनै कदम नचालेको उनीहरूको गुनासो छ ।
नेता भीमसेनदास प्रधानले सभापति गगनकुमार थापालाई एउटा गुटको मात्रै सभापति हुने कि समग्र कांग्रेस पार्टीकै सभापति हुने भन्ने समय आएको बताए ।
‘अहिले वैधानिक सभापति गगन थापा नै हो । सबैको सभापति हुने कि एउटा खेमाको मात्रै हुने भन्ने हो,’ छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने ।
त्यस्तै नेता रामहरि खतिवडाले पार्टीको विवाद सर्वोच्चले निरुपण गरिसके पनि १५औं महाधिवशेन वृहत एकतासहित कसरी गर्ने भन्नेमा सभापतिले छलफल अघि बढाउनुपर्ने बताए ।
‘फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्न विवाद थियो । सर्वोच्चले निर्णय गरिसक्यो । अब वृहत एकता गरेर १५औं महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ भेलामा उठेका कुराबारे उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने पहल सभापतिले नै गर्नुपर्छ भन्ने आइरहेको छ ।’
प्रतिक्रिया 4