Comments Add Comment

आर्थिक असक्षमता : बचत र लगानीबीचको खाडल बढ्यो

१४ जेठ, काठमाडौं । विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न लगातार आह्वान गरिरहेको सरकारले स्वदेशी पूँजी परिचालनमा भने खासै ध्यान दिएको छैन । चालु आर्थिक वर्षको आँकडा हेर्दा कुल गार्हस्थ उत्पादनमा वचतको अनुपात केही बढे पनि त्यसलाई लगानीमा परिणत गर्न नसकिएको छर्लङ्ग हुन्छ ।

सरकारले सार्वजनिक गरेको आव ०७५/७६ को आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा उपभोगको अंश ७९.५ प्रतिशत प्रतिशत रहने अनुमान छ । जसको अर्थ २०.५ प्रतिशत वचत भएको छ । गत वर्ष उपभोग ८२.२ र वचत १७.८ प्रतिशत थियो ।

उपभोगको तुलनामा वचतको अनुपात बढ्नु सुखद हो । तर, यो वर्ष बचत बढे पनि लगानीको दर भने घटेको छ । गत वर्ष लगानीमा परिणत नभएको वचतको अनुपात ३७.५ प्रतिशत थियो । चालु आर्थिक वर्षमा यो बढेर ४१.८ प्रतिशत पुगेको छ । पछिल्लो ३ वर्षमा कुल पुँजी निर्माणको वृद्धिदर कुल गार्हस्थ बचतको भन्दा न्यून छ ।

गत वर्ष ३३.६ प्रतिशत रहेको कुल लगानीको वृद्धिदर यो वर्ष २९ प्रतिशतमा खुम्चिएको छ । यो वर्ष लगानी २१ खर्ब ५७ अर्ब पुग्ने अनुमान छ । यस बर्ष करिब ७ प्रतिशतको आर्थिक वृद्धि हात पार्ने अनुमान गरेको सरकार यति लगानीबाट सन्तुष्ट हुन सक्दैन ।

यस वर्ष कुल गार्हस्थ उत्पादनसँग कुल लगानीको अनुपात ६२.३ प्रतिशत रहने अनुमान छ । यसको मतलब हो, गार्हस्थ उत्पादनको ६२.५ प्रतिशत लगानी हुन्छ । गत वर्ष यस्तो अनुपात ५५.२ प्रशित थियो ।

‘उच्च आर्थिक वृद्धिका लागि अर्थतन्त्रको सबै क्षेत्रका बचत अभिवृद्धि गरेर बढ्दो लगानीको माग पुरा गर्ने कार्य चूनौतिपूर्ण छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ ।

अर्थविदहरु पनि लगानी र बचतबीचको अन्तर बढ्दा उच्च आर्थिक वृद्धिको लागि सरकारलाई अप्ठेरो पर्ने बताउँछन् ।

यस वर्ष सरकारी क्षेत्रको ११.५ प्रतिशत, निजी क्षेत्रको ११.४ र गैरनाफामूलक क्षेत्रको १.६ को अनुपातमा उपभोग हुने अनुमान छ । पछिल्ला वर्षहरुमा निजीतर्फको उपभोगमा खाद्यान्न उपभोगको अंक घट्दै गएको छ । यो वर्ष निजीतर्फ खाद्यान्न उपभोग ६३.२ प्रतिशत छ भने गैर खाद्यवस्तुमा २६.२ र सेवातर्फ १०.२ प्रतिशत उपभोगमा खर्च हुने देखिएको छ ।

पछिल्ला वर्षहरुमा बैंकले दिने आकर्षक ब्याजदका कारण पनि बचत बढेको हो । कुल गार्हस्थ उत्पादनसँग कुल राष्ट्रिय बचतको अनुपात ५२.४ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो अनुपात ४७.१ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment