Comments Add Comment

प्रधानमन्त्री ओलीलाई मानार्थ ‘डाक्टर’को उपाधि

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ ।

बुधबार काठकाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित समाचारमा जनाइएको छ ।

उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाईगरेको सम्मानका रुपमा लिएको बताए । उनले भने, ‘यो सम्मान मेरो व्यक्तिगत होइन, सम्पूर्ण नेपालीको सम्मान हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल पनि अब छोटो समयमै विकसित हुने बताए ।

उपाधि दिने संस्था क्रिश्चियन

सन् १९४६ सालमा चुङ एङ थियोलोजी इन्स्टिच्युटको नाममा क्रिश्चियन धर्मको विकासका लागि स्थापना भएको विद्यालय १९७६ मा काङनम सोसियल वयलफेयरको नाममा परिवर्तन गरिएको थियो । १९९८ मा काङनम कलेजका रुपमा रहेकोमा १९९२ मा विश्वविद्यालयको मान्यता पाएको थियो । जुन निजीस्तरमा क्रिश्चियन विश्वविद्यालयका रुपमा रहेको छ ।

काङनम विश्वविद्यालयले क्रिष्टियानिटी र मानवताको सिद्धान्तमा रहेर मानव जातिप्रतिको सत्य, स्वतन्त्रता, समानता र कल्याणमा विश्वास गर्दै काम गर्न आफूहरु लागिपरेको आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । विश्वविद्यालयको स्थापना नै क्रिश्चियन मार्गमा विश्वास गरेर ईश्वरीय भक्ति र मानवजातिको रक्षाको निम्ति काम गर्न भन्ने उल्लेख गरिएको छ ।

यसअघि २०१० मा काठमाडौंमै ग्रिनफोर्ड विश्वविद्यालयले ओलीलाई राजनीतिशास्त्रमा मानार्थ विद्यावारिधि दिएको थियो । अमेरिकन विश्वविद्यालय भनेर दिइएको उक्त विद्यावारिधि विवादमा परेको थियो । विश्वविद्यालयनै नक्कली रहेको कुरा बाहिरिएपछि विवाद उत्पन्न भएको थियो ।

त्यही विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि लिएका कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले भने आफूहरुले फर्जि विश्वविद्यालयबाट शैक्षिक ठगहरुबाट विद्यावारिधि लिँदा लज्जा महसुस गरेको भन्दै विद्यावारिधि फिर्ताको घोषणा गरेका थिए । तर ओलीले भने त्यसपछि पनि औपचारिक रुपमा केही बोलेनन् ।

यस्तै भारत उत्तराखण्डको पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एंव प्रौधोगिक विश्वविद्यालयबाट पनि प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि पाएका छन् । पहिलोपटक प्रधानमन्त्री भएका बेला भारतको राजकीय भ्रमणमा जाँदा उनलाई उपाधि दिइएको थियो ।

उनलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपालमा शान्ती स्थापनाका लागि भूमिका खेलेको भन्दै उनलाई संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिएर र्फकने क्रममा कोस्टारिका भ्रमणमा जाँदा उपाधि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment