Comments Add Comment

हुलाकी राजमार्गलाई यसपाली साढे १३ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड बजेट छुट्याईको छ ।

२८ वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडकले अझै गति लिन सकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजामर्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो । तर, ‘भारतले बनाइदिन्छ’ भनेर बस्दाबस्दै वर्षाैं बितेपछि सरकार आफैंले काम थालेको यो राजमार्गमा अझै पनि खासै प्रगति छैन । २८ वर्षमा करिब १ सय ५० किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।

यो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्वपश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ, जसको लम्बाइ २१८ किलोमिटर छ । १७ मध्ये ७ खण्डमा नेपाल सरकारले काम गरिरहेको छ जसको लम्बाई, २१८ किलोमिटर छ ।

दोस्रो चरणमा ४ सय ३७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । करिब साढे ५ सय किलोमिटर खण्डमा काम नै सुरु भएको छैन । अहिलेसम्म बसन्ता जंगलको सेक्न बाहेक लम्की-टिकाकपुर-धनगढी, लमही-कोइलाबास, चारआली-केचना, भद्रपुर-राजगढ, जितपुर-तौलिहवा, नवलपुर-मलंगवा, कदमचोक-कपतौल र गितानगर-घान्द्रक लगायतका खण्ड मात्रै कालोपत्रे भएको छ ।

अन्य खण्डहरु वर्षमा हिलाम्ये र वर्षमा धुलाम्य हुने गरेका छन् । जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती त भएको छ नै, राजमार्ग भएर आवातजावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता छ । भारत सरकारले जिम्मा लिएका खण्डमा अझै पनि काम सुस्त नै छ ।

आयोजनाको निर्माण सक्न ४७ अर्ब लाग्ने पुरानो अनुमान थियो । अब त्यति लागतमा आयोजना बन्ने अवस्था छैन । हुलाकी सडकका लागि भारतले ८ अर्ब रुपैयाँ मात्र खर्चँदैछ । बाँकी रकम नेपाल सरकारले आन्तरिक श्रोतबाटै जुटाउनुपर्छ ।

हुलाकी सडकमा २ सय १९ वटा पुल पनि निर्माण गर्नुपर्नेछ । तर, करिब ८० वटा पुल निर्माणधीन छन् भने ५० भन्दा बढी वटा पुल निर्माणको काम नै सुरु भएको छैन ।

मधेसी समुदायले यो मार्गको विकासलाई अत्यन्तै महत्व दिँदै आएको छ । तत्कालीन राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग बनाउन सुरु गर्दा तत्कालिन मधेसवादी नेता तथा जनताले यही हुलाकी राजमार्गलाई पूर्व-पश्चिम राजमार्गको रुप दिन माग गरेका थिए । तर, महेन्द्रले त्योभन्दा माथि पहाडको फेद एवं चुरे क्षेत्रलाई छुने गरी पूर्व-पश्चिम राजमार्गको निर्माण गराए ।

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व-पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम हुँदैछ । तीन वर्षमा पहिलो चरणको काम सक्ने गरी सरकारले काम सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment