
१५ जेठ, विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीहरुले सरकारले ल्याएको बजेट विगतकै निरन्तरता भएको बताएका छन् ।
उनीहरुले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र औद्योगिकरणलाई मद्दत पुग्ने कार्यक्रम नआएको गुनासो गरेका छन् ।
अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्योगी व्यवसायीले धेरै आशा राखेर सुझाव दिए पनि उपलब्धीमुलक हुन नसकेको उनीहरुको गुनासो छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले औद्योगिक पूर्वाधार निर्माणको पक्षमा बजेट नआएको बताए । ‘विगतका जस्तो कनिका छरे जस्तो सानातिना आयोजनामा बजेट छर्ने कामको अन्त्य बजेटले गरेको छ,’ उनले भने,‘तर उद्योगी व्यवसायीहरुको हितका लागि भने खासै ठोस कुरा आउन सकेन ।’
उनले सरकारले स्वदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने, अल्लो, बाँस, कपास जस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने कार्यक्रम भने सकारात्मक रहेको टिप्पणी गरे ।
त्यसैगरी बजेटमार्फत सरकारले त्यस्ता उद्यमीको लगानी सुरक्षित गर्ने गरी च्यालेन्ज फण्ड बनाउने घोषणालाई पनि सकारात्त्मक पक्षका रुपमा लिएको राउतले बताए ।
‘बजेटका धेरै राम्रा पक्ष भए पनि उद्योगी व्यवसायीको समस्या समाधानका लागि कुनै कुरा नगर्नु दुःखद छ,’ उद्योगी राउतले भने ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बजेट उत्साहजनक रहेको टिप्पणी गरे । उनले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा बजेट केन्द्रिकृत भएको आफूले पाएको बताए ।
‘समग्रमा बजेट सन्तुलनमा आएको देखिन्छ’ घिमिरेले भने, ‘जतिसुकै राम्रो बजेट भए पनि त्यसको कार्यान्वयन पक्ष दह्रो हुन आवश्यक देखिन्छ, यो बजेट कार्यान्वयन भए उत्साहजनक देखिन्छ ।’
मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दाडाले समग्रगमा बजेट नेपालको विकासमा लक्षित भएको बताएका छन् ।
उनले सरकारको नारा समृद्ध नेपाल, सुखी नेपालीको नारालाई विषेश प्राथमिकतामा राखेर बजेट ल्याएको बताए । ‘सरकारले विशेष महत्व शिक्षा, स्वास्थ्य र पूर्वाधारमा बजेटलाई केन्द्रित गरेको देखिन्छ’,उनले भने ‘स्वदेशी उत्पादनलाई प्रोत्साहनदेखि औद्योगिक विकासका लागि योगदान दिने कुरामा बजेटले समेटेको देखिन्छ ।’
प्रतिक्रिया 4