Comments Add Comment

हवाई क्षेत्रमा झण्डै १६ अर्ब बजेट, प्राथमिकतामा परेन हवाई सुरक्षा

१५ जेठ, काठमाडौं । सरकारले नागरिक उड्ययन (हवाई क्षेत्र) मा यो वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

आगामी वर्ष पर्यटन वर्ष मनाउन लागिएकाले सरकारलाई हवाई क्षेत्रमा ठूलो लगानी गर्न दबाव थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले निर्माण र स्तरोन्नतिको क्रममा रहेका विमानस्थललाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।

तर हवाई सुरक्षा सुधारका सवाललाई भने बजेटले बेवास्ता गरेको छ । हाल नेपाल हवाई सुरक्षामा कमजोर रहेका कारण युरोपियन युनियनको कालोसूचीमा छ । हवाई दुर्घटनाहरु बढ्दै गर्दा त्यसलाई न्यूनीकरण गर्न बजेटले केही बोलेको छैन ।

बजेटमा भाषणमा आन्तरिक आवद्धता बढाउन, आवागमनलाई सहज गर्न तथा आन्तरिक र वाह्य पर्यटन क्षेत्रको विकास गर्न सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय हवाई पूर्वाधारलाई प्राथिमिकता दिएको उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक परम्परा र संस्कृति झल्कने बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गर्ने योजना दोहो¥याइएको छ । यो विमानस्थललाई चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइने अर्थमन्त्रीले बताएका छन् ।

हाल त्रिभुवन विमानस्थलको रन–वे स्तरिकरणको काम भइरहेको छ । यस्तै बुटिक विमानस्थल बनाउन पनि काम भइरहेको छ । यस्तै बजेटले उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने घोषणा पनि गरेको छ ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम आगामी वर्ष सम्पन्न गर्ने ल्क्ष्य बजेटले लिउको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान संचालन गर्न ३ अर्ब ३४ करोड विनियोजन भएको छ । यो विमानस्थलको धावनमार्ग बनिसकेको छ । यो विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ ।

यसै गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन ८ अर्ब छुट्याइएको छ । पोखरा विमानस्थलको पनि धावनमार्गको निर्माण सकिएको छ ।

यो वर्षको बजेटले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारी कार्य अघि बढाउने कामलाई निरन्तरता दिएको छ । हालसम्म निर्माण्को मोडालिटी टुंगिन नसकेको यो आयोजनालाई यस वर्ष कति बजेट छुट्याइयो भन्ने भाषणमा उल्लेख छैन ।

यो विमानस्थल निर्माणमा कतार सरकारले चासो देखाकएको छ । तर उसले पनि अन्तिम निर्णय गरी नसकेकाले यो विमानस्थल निर्माण्को काम अघि बढाउन अन्योल छ ।

बजेटले आन्तरिक विमानस्थलहरुको निर्माण तथा स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिएको छ । विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज, दाङ, धनगढी लगायतका विमानस्थलहरुको स्तरोन्नति गरी ठूला विमान अवतरण गर्न सक्ने बनाउने योजना छ ।

सुर्खेतमा नयाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी र चुहानडाँडालगायतका स्थानहरुमा विमानस्थल निर्माणको कार्य अघि बढाउने घोषणा भएको छ ।

रातमा उडान–अवतरणको सुविधा नभएका विमानस्थलहरुमा रात्रिकालीन उडानको पूर्वाधार निर्माण गरिनेछ ।

पर्यटक धेरै आउने देशसँग थप हवाई सेवा सम्झौता गर्ने योजना पनि ल्याइएको छ । नयाँ हवाई प्रवेश बिन्दु र हवाई मार्ग प्रयोगका लागि छिमेकी देशहरूसँग समझदारी तथा सम्झौता गर्ने कार्यक्तम पनि बजेटमै उल्लेख छ ।

हवाई पूर्वाधारहरुको निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्ने अर्थमनन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment