Comments Add Comment

प्रहरी निरीक्षक गिरीलाई घुस दिन खोज्ने पक्राउ

१६ जेठ, काठमाडौं । चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको दमक–१६ का अभिषेक कार्की छन् । उनले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ दिन खोजेका थिए ।

१३ जेठमा लागुऔषध मुद्दाका थुनुवा कालिकोट राजकोट–६ का नवीन शाही ठकुरीलाई भेट्न जाँदा भाइ पुजन बम ठकुरी र साथी धर्मेन्द्र लिम्बुले चाउचाउमा लुकाएर लागूऔषध लगिदिएका थिए ।

अहिले पुजनविरुद्ध लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ भने लिम्बु साधारण तारेखमा छुटेका थिए । लिम्बुलाई जिम्मा लिएर उनै कार्की गएका थिए ।

प्रहरी निरीक्षक गिरीले कार्कीलाई तत्कालन नियन्त्रणमा लिएर वृत्तका प्रमुख डीएसपी कुमारविक्रम थापालाई जानकारी गराए । थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीलाई खबर गरेर घुस दिन लागेको रकमसहित अनुसन्धानका लागि बुझाएका छन् ।

अख्तियारले कार्कीको साथमा रहेको १ लाख २० हजार रुपैयाँ पनि बरामद गरेको छ । राष्ट्र सेवक प्रहरी कर्मचारीलाई अनुचित प्रलोभनमा पार्न खोज्नु कानुनविपरित भएकाले कार्कीलाई कारबाही गरिएको डीएसपी थापा बताउँछन् ।
यसअघि पनि थानकोट प्रहरीले कर्मचारीलाई घुस दिन खोज्न ४ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

लागूऔषधसहित दुई पक्राउ

थानकोट प्रहरीले चेकजाँचका क्रममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका २० वर्षीय अनुप खनाल र खोटाङका जीवन फुयाँल छन् ।

डीएसपी कुमार थापाका अनुसार बुटवलबाट काठमाडौं आइरहेको लु १ ख ९४६९ नम्बरको यात्रुबहाक बसमा चेकजाँच गरेर खनाललाई नियन्त्रणमा लिइएको थियो । उनको साथबाट नुफिन, फेनारगन र डाइजेल्याब गरी १३ सय ४६ एम्पुल लागूऔषध बरामद भएको छ ।

प्रहरीले उनको साथबाट ६ ट्याब्लेट नाइट्राभेट र एउटा अनरेक्सको सीसी पनि भटेको थियो ।

अनुसन्धानका क्रममा उनले फुयाँललाई त्यो लागूऔषध दिन लागेको खुलेकाले उनलाई पनि पक्राउ गरिएको थियो । थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment