Comments Add Comment

राष्ट्रिय परीक्षा बोर्डमा शर्माको हाजिरी, नेविसङ्घले माग्यो राजीनामा

बोर्ड भन्छ- शर्मालाई परीक्षासम्बन्धी जिम्मेवारी दिइएको छैन

१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा पुनः कृष्ण शर्मालाई फर्काइएको छ । कक्षा १२ को परीक्षा सकिएलगत्तै शर्मालाई पुनः परीक्षा नियन्त्रकको जिम्मेवारीमा फर्काइएको हो ।

यसअघि उनकी छोरी १२ कक्षाको परीक्षामा सहभागी हुन लागेको र बुवा प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा संलग्न भएको भन्दै कर्मचारीहरुले नैतिक प्रश्न उठाएपछि शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।

कक्षा १२ को परीक्षा गत वैशाख १५ गतेबाट सुरु भएको थियो । बुबाको नेतृत्वमा प्रश्नपत्र छपाइ सकिएपछि शर्माकी छोरीले ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षा दिन लागेको खुलासा भएको थियो ।

त्यसपछि शर्माले आफू परीक्षा नियन्त्रकको जिम्मेवारीबाट अलग हुने भन्दै बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई लिखित निवेदन दिएका थिए । त्यसलगत्तै घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।

यद्यपि अनलाइनखबरलाई प्राप्त शर्माको हाजिरी रेकर्डमा उनले वैशाख १५ गते पनि हाजिर गरेको देखिएको छ । त्यसपछि उनले एक्कै चोटि वैशाख २४ र २५ गते हाजिर गरेका छन् । जब कि कक्षा १२ को परीक्षा २६ गते मात्रै सकिएको थियो ।

स्रोतका अनुसार शर्मा कक्षा १२ को परीक्षाको प्रश्नपत्र छपाई, प्याकिङमा समेत प्रत्यक्ष संलग्न थिए । अहिले उत्तरपुस्तिका जाँचको बेलामा उनी फेरि कार्यालयमा हाजिर भएका छन् ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माका पालामा आफ्ना सन्तान परीक्षामा सहभागी हुँदा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण लगायतका प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरिएको थियो ।

तर, छोराछोरीले दिने परीक्षामा उनीहरुकै अभिभावक परीक्षा नियन्त्रक भएको यो पहिलो घटना भने होइन । यसअघि दुर्गा अर्याल साविकको उच्च माध्यमिक शिक्षा परिषदमा परीक्षा नियन्त्रक हुँदा आफ्नै सन्तान पढिरहेको परीक्षा प्रक्रियामा सहभागी भएका थिए । अर्याल हाल सदस्य-सचिवका रूपमा बोर्डको कार्यकारी नेतृत्वमा छन् ।

नेविसङ्घले माग्यो राजीनामा

यसैबीच नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले शर्माको राजीनामा माग गरेको छ । बोर्डका सदस्य सचिव अर्याललाई गत बुधबार ज्ञापन पत्र बुझाउँदै सङ्घले राजीनामा माग गरेको हो ।

ज्ञापन पत्रमा आज शुक्रबारसम्म राजीनामा नआए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

बोर्ड भन्छ- शर्मालाई परीक्षाबारे जिम्मेवारी दिइएको छैन

शर्माको हाजिरका सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा बोर्डका सदस्य सचिव अर्याल र नियन्त्रक शर्माले फोन उठाएनन् । कार्यालयमा फोन गर्दा दुबैजना कार्यकक्षमा नरहेको जानकारी दिइयो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने शर्मालाई कक्षा १२ को परीक्षाबारे कुनै जिम्मेवारी नदिइएको दाबी गरे ।

‘उहाँले सर्टिफिकेटमा साइन गर्नुहुन्छ, अन्य प्रशासनिक काम गर्नुहुन्छ । कक्षा १२ को काम चाहिँ कृष्ण घिमिरेले गर्नुहुन्छ,’ पौडेलले अनलाइनखबरसँग भने ।

 रिसइबी साँध्नका लागि मात्रै नेविसंघबाट ज्ञापनपत्र बुझाइएको पाैडेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment