Comments Add Comment

रंगशालाको विवाद मिल्यो, स्थानीयबासीले गरे आत्मालोचना

१८ जेठ, चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् ।

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए ।

जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेशनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।

रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए । तर, फाउन्डेशनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।

त्यसपछि फाउन्डेशन र स्थानीयबीच आरोप प्रत्यरोप सुुरु भयो ।

तर, शुक्रबार राति अवेर भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउन्डेशनबीच सहमति भएको छ ।

फाउन्डेशन का अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् ।

रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।

निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् ।

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले पनि आफ्नो उपस्थितिमा स्थानीयबासीको निर्णय भएको स्वीकार गरे । ‘सहमतिपछि स्थानीयले नै ढलेको बार उठाउन थालेका छन् । सहमति व्यवहारमा कार्यान्वयन भएपछि हामीले काम सुरु गर्छौ भनेका छौं’ उनले अनलाइनखबरसँग भने ।

रंगशालामा देखिएको विवादका कारण सहयोगी मनहरुमा चोट परेको भन्दै उनले सबैसँग माफी मागेका छन् ।

ढलेको बार उठाइयो

फाउन्डेशन र स्थानीय टोल सुधार समितिको सहमतिसँगै भरतपुर महानगरको अगुवाईमा जनप्रतिनिधि, स्थानीयबासी लगायतले भत्किएको बार उठाएका छन् । घटनाले चितनवासीलाई दुःखी बनाएको भन्दै सहभागीहरुले आगामी दिनमा यस्ता गतिविधीहरु नहुने गरी काम अघि बढाउन अपिल गरे ।

मेयर रेनु दाहालले रंगशालाको डीपीआर आएपछि बाटोका विषयमा स्थानीयसँग बसेर मिलाउने बताइन् । यसबारे छलफल भइरहेको बेलामा डोजर लगाइएको भन्दै उनले संलग्नहरुमाथि कानुनअनुसार कारर्वाही गरिने बताइन् ।

सांसद कृष्णभक्त पोखरेल, नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार र कांग्रेस चितवनका सचिव राजीव न्यौपाने लगायतले रंगशाला निर्माणमा सहयोग रहने बताए ।

कार्यक्रममा सिताराम कट्टेल धुर्मुसले रंगशालाका बिषयमा आफूले कुनै गलत र बनावटी कुरा नगरेको बताए । उनले भने, ‘रंगशालामा भएको घटनाका बिषयमा मैले कुनै बनावटी र गलत कुरा बोलेको छैन, यदि कसैले प्रमाणित गर्छ भने म नजिकै रहेको रुखमा झुण्डिएर मर्न तयार छु ।’

विदेशमा पसिना बगाएका नेपालीहरुले गाँस कटाएर दिएको रकमले लगाएको जस्तामा डोजर लगाउँदा भक्कानो छुटेको उनले बताए । ‘यो पीडा र दुःख कि त मैले महसुस गरेको छु कि त विदेशमा पसिना बगाउनेहरुले गरेका छन्’ उनले भने, ‘आखिर उनीहरुले रंगशाला बनाउन किन पैसा दिए । यहिको विकासका लागि होयन र ? खै त यहाँका स्थानीयले कुरा बुझेको ? मसँग कुनै स्वार्थ छैन, न म भ्रष्टचार गर्न आएको हुँ, न कमिसन खान ।’

रंगशाला निर्माणपछि सबैभन्दा बढी लाभान्वित यहीका जनता हुने भन्दै उनले सहयोगका लागि अपील गरे । धुर्मुसले बाटोको मुद्धा फाउन्डेशनले भन्दा भरतपुर महानगरपालिकाले पहल गरेर मिलाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment