Comments Add Comment

रत्नपार्कको रमिता : सेकेन्ड ह्यान्ड जुत्तादेखि नगरवधुसम्म

नागर्जुनको थुम्कोबाट घाम ओझेल हुँदै गर्दा रत्नपार्कको सडक किनार रंगीन बन्दै जान्छ । जति-जति रात छिप्पिदै जान्छ, रत्नपार्कको मात चढ्दै जान्छ ।

चौडा फुटपाथमा थरीथरीको दोकान थापिन्छन् । कहीँ परफ्युम सजाइदैछ, कहीँ ‘बफ भुटन’ पाक्दैछ, कहीँ सेकेन्ड ह्यान्ड जुत्ता फिजाइँदैछ ।

मधुरो आँचमा पाकिरहेको मसलेदार भुटनको बास्ना फैलिएको छ, वायुमण्डलमा । ‘ए हजुर कता…’ रेकर्डेड ध्वनी गुञ्जदैछ ।

अनेकथरी मान्छे, अनेकथरी ढंग, अनेकथरी लक्ष्य/स्वार्थको साझा कोलाज बन्दैछ । रातको रत्नपार्क गुल्जार बन्दैछ ।

राजधानीको यो रात्रीमेला भर्न को आउँछन् ? किन आउँछन् ? कहाँबाट आउँछन् ?

दैनिक आउजाउ गर्नेहरु पातलिँदै गएपछि यहाँ नयाँ अनुहारहरुको प्रवेश हुन्छ । आगन्तुकहरुमा कुनै धपेडी हुन्न, हतारो देखिँदैन । उनीहरु विन्दास रत्नपार्कको भीडमा मिसिन्छन् । कोही आरामसाथ भुटन चपाउन थाल्छन्, कोही रेलिङमा अडेसिएर रमिता हेर्न थाल्छन् । कोही सेकेन्ड ह्यान्ड जुत्ता मोलमोलाई गर्न थाल्छन्, कोही आकाशे पुलको आड लागेर नगरवधूुसँग ‘गोप्य संवाद’ गर्न थाल्छन् ।

साँझ ६ बजेपछि यो सडक किनार बटुवाको लागि साँघुरिँदै जान्छ । घर र कार्यथलोको दुरी छोट्याउन लामो-लामो पाइला चाल्नेहरु पनि यहाँ आएपछि अल्झन्छन् । दोकानको आयतन फैलिँदै जान्छ, रमिते थपिँदै जान्छन्, रत्नपार्क चलयमान हुन्छ ।

तीन घण्टे रमझम

रात ढल्किदै गएपछि काठमाडौं शहर सुस्ताउन थाल्छ । सटरहरु बन्द हुन्छन् । सडकमा सवारी पातलिँदै जान्छ । कोलाहल मत्थर हुँदै जान्छ । शहर अध्याँरो र सन्नटामा हराउँदै जान्छ ।

ठीक यहीँ घडीमा ठमेल, झम्सिखेल, दरबारमार्ग जस्ता सीमित नाइट-जक्सन भने तंग्रिदै हुन्छ ।

नाइटलाइफको मस्ती लुट्न आतुर तन्नेरीहरुले यी ठाउँमा कब्जा जमाउन थाल्छन् । यी तन्नेरीलाई लोकदोहोरीदेखि डिस्को थेकसम्मले आमन्त्रण गर्छ । रैथाने लोक भाकादेखि पश्चिमा हार्ड रक, ब्लुजको मिश्रति धुनले यहाँको रात संगीतमय बनाइदिन्छ । हुक्का बार, पब एवं डिस्को थेकहरु मदहोस बन्दै जान्छ ।

थरीथरीका संगीत सुन्दै, हुक्का तान्दै, मदिरा पिउँदै, मुड चल्दा डान्स फ्लोरमा उत्रिदै रात्रीकालिन मनोरञ्जन लिनेहरुको निर्विकल्प गन्तव्य यीनै हुन् । साँझ ७ बजेदेखि अविछिन्न मध्यरातसम्म यी जक्सन जागा रहन्छ । यत्तिका अवधी ननस्टप मस्ती लिनका लागि खल्ती भरिएको हुनैपर्छ ।

रत्नपार्कको रात्री मेला भर्नका लागि भने खर्च अनिवार्य छैन ।

दिनभरको तनाव र झै-झमेलाबाट उन्मुक्त भएर क्षणभरकै लागि रमाइलो गर्ने मुडमा त्यहाँ पुगे हुन्छ । ५० रुपैयाँमा पेटभर बफ भुटन र भुजा खाएर वेपर्वाह टहल्नु हुन्छ कि सस्तो-सस्तो सामान किनमेल गर्नुहुन्छ ? तपाईंको मर्जी । ५५० मा जुत्ताचप्पलदेखि लताकपडासम्म पाइन्छ । परफ्युमदेखि विद्युतीय उपकरण पाइन्छ । घरायसी आवश्यकताका अरु मालमत्ता पनि अन्त खोज्नुपर्दैन ।

तर, यो मेलामा किनमेलका लागि भन्दा पनि घुमघामको मुडमा पुग्नेहरु धेरै हुन्छन् । स्थानीय जुत्ता व्यवसायी रामकाजी श्रेष्ठ यसै भन्छन् ।

‘केही किनौं भनेर आउने होइन क्या’ विगत १० बर्षदेखि रत्नपार्कको रात्री बजारमा अड्डा जमाउँदै आएका रामकाजी भन्छन्, ‘यसो आएको मौकामा सस्तोमस्तो भेटेर किन्ने हो । खासमा त घुम्नकै लागि आउने धेरै हुन्छन् ।’

यद्यपि रत्नपार्कको यो रात्री बजार लामो समय रहँदैन । साँझ ६ बजेबाट सुरु हुने मेला ९ बजे उठिसक्छ । अर्थात तीन घण्टामै यहाँको रौनक एकाएक शिथिल हुन्छ । र, त्यसपछिको समय रत्नपार्क उसैगरी सुस्ताउन थाल्छ ।

डिम लाईटमा सेकेन्ड ह्यान्ड जुत्तादेखि नगरवधूसम्म

सडक बत्तीको उज्यालो पुटपाथसम्म झलमल्ल हुन्न । अलि टाढाबाट फैलने धिमा उज्यालो वा डिम लाइट पनि रत्नपार्कको खास हो । यही डिम लाईट छ र त नगरवधूदेखि सेकेन्ड ह्यान्ड जुत्तासम्मको यहाँ दोकान थापिएको छ ।

अलि अध्याँरो ठाउँ रोजेर केही थान सेकेन्ड ह्यान्ड जुत्ताको लस्कर लगाइएको छ । ‘कहाँबाट ल्याएको हो ?’ यो प्रश्नले पसलेको सातो जान्छ वा रिसले कन्पारो तात्छ । उनीहरु हडबडाउँदै प्रतिप्रश्न गर्छन्, ‘किन्ने हो कि नकिन्ने हो ?

‘यो जुत्ताको कति हो ?’ रमाइलो गर्ने मुडले हो वा खरिद गर्ने ध्येयले, एक अधवैंशे सोध्नछन् ।

‘पन्ध्रसय ।’ बृद्ध पसले निर्धक्क मूल्य बताउँछन् ।

‘यस्तोलाई पनि पन्ध्र सय ? नयाँ आइहाल्छ नि ।’

‘मिलाएर दिन्छु’ पसले लोभ्याउँछन् ।

अधवैंशे ग्राहक ओल्टाइ-पल्टाइ र्हेछन् । छामछुम गर्छन् । सोध्छन्, ‘पाँच सयमा दिने ?’

‘अरु पचास रुप्पे थपिदिनु’ पसले भन्छन् ।

अधवैंशे ग्राहक फेरि जुत्ता उठाउँछन् । ‘ह्या होस्’ उनी भन्छन्, ‘पछि आउँला ।’

बृद्ध पसले हेरेको-हेर्‍यै ।

नजिकैको आकासे पुलमाथि दुई युवती देखापर्छन् । अनुहारमा माक्स र टाउकोमा हेलमेट पहिरिएका । सडकतिर फर्केर एकोहोरो टोलाएजस्तै । उनीहरुको पछाडि भने युवाहरुको जत्था छ । खासखुस गरिरहेका छन् । तर, स्पष्ट केही सुनिँदैन ।

‘एड्स लाग्ला है’ युवतीले अलि कर्कस स्वरमा यस्तै-यस्तै भन्छन् । कुन सन्दर्भमा किन भनेको बुझ्न सकिँदैन । युवाहरु छिल्लिन्छन् । युवतीहरु बेवास्तापूर्वक अर्को कुनातर्फ लाग्छन् । युवाहरु पच्छ्याउँदै त्यहीँ पुग्छन् ।

बफ भुटन विद भुजा

रत्नपार्कको रात्री बजार चाहर्ने हो भने बफ भुटन नचाखी सुखै छैन । किनभने रत्नपार्कको रात्री बजारमा पाक्ने खास परिकार भनेको बफ भुटन नै हो । राम्ररी मरमसला मोलेर, हरियो खुर्सानी हालेर मधुरो आँचमा पाक्दै गरेको बफ भुटन देखेपछि मुखमा पानी आउँछ । पचास रुपैयाँमा प्लेटभर बफ भुटन र भुजा पाइन्छ ।

बफ भुटनको पारखी कतिसम्म छन्, भुटन दोकान थाप्नुअघि नै त्यस आसपासमा ग्राहकहरुले घेरा हालिसकेका हुन्छन् । कतिबेला भुटन पाक्छ र खाउँला भनेझै गरेर उनीहरु अधैर्यसाथ प्रतिक्षा गर्छन् ।

स्थायी घर दाङ भएका सीताराम चौधरीले वितेको दुई बर्षयता बफ भुटन बेच्दै आएका छन् । विदेश जान खुट्टा उचालिसकेका उनी अहिले भुटन बेचेरै मनग्ये कमाउँछन् । यसअघि उनी एक हस्पिटलमा जागिरे खान्थे । जागिरको कमाइले पेट पाल्नै धौ-धौ । विदेश जान आँट गरे । तर, साथीभाइ विदेशबाट रित्तो हात फर्किएको देखेपछि उनको जाँगर सेलायो । अन्ततः रत्नपार्कमा भुटन बेच्न थाले । हामीसँग गफिइरहँदा उनी ‘२५-३० केजी भुटन बेचिसकें’ भन्दै थिए । प्लेटको हिसाब-किताब छैन । करिब तीन घण्टामा तीस केजी भुटन बेचिसक्छन् ।

यत्तिका भुटन बेचिसक्दा उनको हातमा चोखो मुनाफा सरदर १५ सय बच्छ । यस हिसाबले उनले महिनाको ४० हजार आरामले बचाउँछन् ।

दिनभर मासु पसलमा काम गर्छन् । त्यहीबाट भुटन जम्मा गर्छन् । कोठमा ल्याएर सफा गर्छन् । मरमसला मोल्छन् । प्लाष्टिकको ठूलो जारमा हाल्छन् । साँझ परेपछि भाडावर्तन, जार, चुल्हो बोकेर रत्नपार्कको सडक किनारमा पुग्छन् । जसै उनको चुल्होबाट भुटनको बास्ना फैलन थाल्छ, ग्राहकको भिड लाग्छ ।

त्यसो त रत्नपार्कमा ननभेज परिकार मात्र विक्दैन । यहाँ शुद्ध शाकाहारीले पनि भोको पेट बस्नुपर्दैन । सुख्खा रोटी, तरकारी खान सकिन्छ ।

थरीथरीका ग्राहक

रत्नपार्कको रात्री बजार भर्न को आउँछन् ?

नाइटलाइफका लागि ठमेल, दरवारमार्ग नपुग्नेहरुको निर्विकल्प गन्तव्य हो यो । तर, यहाँ मध्यरातसम्म मस्ती गर्ने छुट छैन ।

स्थानीय व्यवसायीहरुको भनाइमा यो ‘काठमाडौंको मुटु’ हो । त्यसैले काठमाडौंभरी छरिएर बसेका मान्छेहरु कुनै न कुनै बेला रत्नपार्कमा पाइला टेक्न आइपुग्छन् । बर्षौंदेखि जुत्ता पसल राख्दै आएका रामकाजी श्रेष्ठ भन्छन्, ‘काठमाडौंका रैथानेदेखि बाहिरबाट घुम्न आएकाहरु पनि रत्नपार्क आएकै हुन्छन् ।’

उनको भनाइमा रत्नपार्क यस्तो ठाउँ हो, जहाँ पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिरका मान्छेहरु एकमुष्ठ भेला हुन्छन् ।

रत्नपार्कको रात्री मेला भर्न आउनेहरु पनि यीनै विविध अनुहार हुन् । यहाँ कुनै भेग वा क्षेत्रको आधिपत्य छैन । एक हिसाबले भन्ने हो भने यो ‘समावेशी मेला’ हो । सबैको उत्तिकै पहुँच, उत्तिकै उपस्थिती भएको ।

तर, रत्नपार्कको रात्री मेलामा आउनेहरुको मनोदसा एकनास हुँदैन । उनीहरु ग्राहक वा रमिते मात्र हुँदैनन् । रामकाजीले यहाँ पसल थापेदेखि अनेक-अनेक मान्छे झेलेका छन् । ‘कति त पेशेवर ठग हुन्छन्’ रामकाजी भन्छन्, ‘ठग्नकै लागि आउने ।’

रामकाजीका अनुसार केही समयअघि एक युवती आइन् र पाँच सयको जुत्ता उठाइन् । रामकाजीले पैसा मागे । जुत्ताको पैसा दिनुको साटो ति युवतीले उल्टै रामकाजीसँग पैसा माग्न थाले ‘मैले अघि नै हजार रुपैयाँ दिएको’ भन्दै ।

उनीहरुवीच झगडा भयो । युवती कराउन थालिन् । फोन गर्न थालिन् । आखिरमा रामकाजीको केही लागेन । व्यर्थमा थप पाँच सय रुपैयाँ युवतीलाई दिनुपर्‍यो, जुत्ता त छँदैछ । ‘उनी पेशेवर ठग रहेछ’ रामकाजी भन्छन्, ‘पछि अरु ठाउँ पनि उनले यसैगरी ठगेको पाइयो ।’

वैदेशिक रोजगारीका लागि काठमाडौं आएका र सुन्धारा लगायतको लजहरुमा डेरा जमाएकाहरु पट्यारलाग्दो साँझ कटाउन रत्नपार्कमै पुग्छन् । घुम्नकै लागि काठमाडौं आएकाहरु पनि किनमेलपछि यही मेलामा अल्झन्छन् । ‘दुई/तीन घण्टा भएपनि यहाँ निकै रमाइलो हुन्छ’ रामकाजी भन्छन्, ‘हामी बर्षौदेखि यहीँ बसेका छौं, तर कुनै दिन दिक्कलाग्दो छैन ।’

रत्नपार्कको राग

अस्पतालमा कुरुवा बसेकाहरु, वैदेशिक रोजगारको चक्करमा सुन्धाराका लजमा डेरा जमाएकाहरु, असन-इन्द्रचोकमा किनमेल गरेर फर्किएकाहरु, क्याम्पस पढ्न पुगेकाहरु, जागिरका लागि तयारी गरिरहेकाहरु, प्रेमी-प्रेमिकालाई कुरिरहेकाहरु सबै-सबै पुग्ने उपयुक्त गन्तव्य हो, रत्नपार्क ।

राजधानी, जहाँ एकछिन सुस्ताउने ठाउँ फेला पार्न मुश्किल पर्छ । चर्को घाम छल्दै शितल छहारीमा आरम गर्ने ठाउँ दुर्लभ छ । न्यानो मध्यन्ह सुन्तला र बदाम चपाउँदै लमतन्न ढल्कने वा चौतारीमा बसेर साथीभाइसँग भलाकुसारी गर्ने ठाउँको अभाव छ ।

र, यी सबैको एकमुष्ठ हल गरिदिएको छ, रत्नपार्कले ।

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रानी रत्नराज्य लक्ष्मी शाहको नाममा निर्माण गराएको यो पार्कको ४० रोपनी क्षेत्रफलमा फैलिएको छ । गणतन्त्रपछि यसको नाम शंखधर उद्यान राखियो, तर पुरानै नाम नै यसको खास चिनारी बन्यो ।

तस्वीर तथा भिडियो- शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment