Comments Add Comment

केही त स्वार्थी हुन पनि जरुरी छ

‘आज मौसमले च्यालेन्ज गर्‍यो, के बस्ने हो ?’ तपाईंका सहकर्मीहरु मुडमा छन् । उनीहरु साँझ रंगिन बनाउने तर्खरमा लाग्छन् ।

‘ल, बसौं-बसौं’ सबैजना सहमतिमा पुग्छन् । कुनै रेष्टुरेन्ट वा घरबाहिर बसेर रमझम गर्ने तयारी हुन्छ । यो प्रस्ताव तपाईंसामु पनि आइपुग्छ । तपाईं अब द्विविधामा फस्नुहुनेछ । एक त तपाईंको मासिक बजेटले फजुल खर्च गर्न गाह्रो छ । अर्कोतिर घरमा चाडै पुग्न पाए बालबच्चालाई समय दिन पाइन्थ्यो भन्ने लाग्छ ।

अब के गर्ने त, सुटुक्कै घरतर्फ लाग्ने कि साथीहरुसँग रमझम गर्ने ?

एकदिन इष्टमित्रले घुमफिर गर्ने योजना बनाए । विदाको समय पनि थियो । सबैलाई फुर्सद थियो । आफन्त, इष्टमित्र सबै घुम्ने भए । त्यसमा तपाईंलाई पनि सामेल गराए । तर, तपाईंले यसअघि नै योजना बनाउनुभएको थियो कि, त्यस अवधीमा बाँकी रहेको कुनै काम सम्पन्न गर्ने । अरुबेला गर्न उक्त काम गर्न पाउनुभएको थिएन, भ्याउनुभएको थिएन ।

अब के गर्ने त, आफन्तसँग मिलेर घुम्न जाने कि आफ्नो महन्वपूर्ण काम फत्ते गर्ने ?

छिमेकका कसैले तपाईंको घरमा निम्तो पठायो, आज पारिवारिक जमघट छ भनेर । नजिकका छिमेक एवं साथीहरुलाई निम्तो गरेर उनीहरु रमाइलो साट्न खोजिरहेका छन् । तर, तपाईंको पेट त्यती ठिक छैन । तपाईंले प|mेस अनुभव गरिरहनुभएको छैन । रमझममा बस्ने, हो-हल्ला गर्ने मुडमा हुनुहुन्न ।

अब के गर्ने त, घरमै आरम गर्ने कि छिमेकीको मन राखिदिने ?

भन्न त हामी भन्छौ, स्वार्थी हुन हुँदैन । एकलकाँटे हुनुहुँदैन । तर, सधै अरुको लयमा दौडिएर आफ्नो जीवनको धुन बजाउन सकिदैन । कसैले बनभोजको योजना बनाउँछन्, कसैले चलचित्र हेर्ने, कसैले फेमेली गेट-टुगेदर । सबै कुरामा तपाईंलाई सहभागी गराउन चाहन्छन् । तर, तपाईंको स्थिती त्यती अनुकुल छैन । कारण अनेक हुनसक्छ । जस्तो तपाईंसँग पर्याप्त खर्च नहुन सक्छ । तपाईंको स्वास्थ्य ठिक नहुन सक्छ । तपाईंलाई मुड नचलेको हुनसक्छ । जे पनि हुनसक्छ । यस्तो अवस्थामा के निर्णय गर्नुहुन्छ ?

तपाईंको मन द्विविधाग्रस्त हुन्छ । के गरौं, के नगरौं दोधारमा पर्नुहुन्छ । यस्तो अवस्थामा तपाईंले साथीभाई/आफन्तको नजरमा केही स्वार्थी बन्नैपर्छ । साथीभाइले तपाईंको कुरा काट्न सक्छन् । आफन्तले मन दुखाउन सक्छन् । तर, उनीहरुको लहलहैमा लागेर तपाईं आफ्नो जीवनको लय किन टुटाउनुहुन्छ ? तपाईं आफैलाई किन दुःख दिनुहुन्छ ?

विलासिता, रमझम, फजुल खर्च गर्ने कुरामा तपाईं स्वार्थी भएकै ठिक । अरुको मन राख्नका लागि, अरुको चित्त बुझाउनका लागि तपाईंले आफुलाई ‘बलिको बोको’ बनाइरहन आवश्यक छैन । तर, यसो भन्दैमा तपाईं पूर्णत एकलकाँटे भने बन्न सक्नुहुन्न । परिस्थिती अनुकुल छ भने तपाईं उनीहरुको रमझममा मिसन सक्नुहुन्छ । मुड चलेको छ भने तपाईं उनीहरुसँग रमाउन सक्नुहुन्छ । यद्यपी ‘स्वार्थी बनिने’ भयले भने आफैलाई समस्यामा पार्न हुन्न ।

धेरै आज्ञाकारी पनि नबनौ

सबैको राम्रो हुन, सबैको पि्रय, सबैको घनिष्ठ हुन त हामीलाई मन लाग्छ । कसैले हामीप्रति गुनासो नगरोस् । कसैले हामीप्रति चित्त नदुखाइदियोस् । आफ्नो कारणले कसैलाई खल्लो नहोस् । सबैसँग मित्रवत् सम्बन्ध होस् । सुमधुर होस् । हामी यस्तै चाहन्छौ ।

तर, साथीभाई, आफन्त सबैको लागि राम्रो बन्न आफुलाई समस्यामा पार्न ठिक होइन । जसले जे भन्छ, त्यसमा स्विकारोक्तीको टाउको हल्लाउन ठिक होइन । तपाईं आफ्नो काम, लक्ष्य, धारणामा अविचलित हुनुपर्छ । कसैको लहलहैमा लागेर आफैलाई पेन्डुलम बनाउन ठिक होइन ।

नाई भन्नुहोस्

कतिपय कुरामा हामीले ‘हुन्न’, ‘नाई’ भन्न सक्नुपर्छ । सहकर्मी, साथीभाई, आफन्तमा मात्र होइन, श्रीमान्-श्रीमतीबीच पनि सबै कुरामा एकमत हुनुपर्छ भन्ने छैन । कतिपय कुरा आफुलाई मन पर्दैन । कतिपय काममा आफुलाई रुची हुँदैन । कतिपय कार्यक्रममा आफुलाई चासो हुँदैन । यस्तो अवस्थामा अरुको मन राख्नकै लागि तपाईंले ‘हुन्छ’ भन्नु गलत हो । तपाईंले आफ्नो अडान पनि राख्नुपर्छ । सही र जायज कुरामा आफुलाई सन्तुलित पनि राख्नुपर्छ ।

स्वार्थको सीमा

स्वार्थीको पनि सीमा हुन्छ । कति स्वार्थी बन्ने ? यो समय र परिस्थितीले निर्धारण गर्ने कुरा हो । यद्यपी तपाईंको स्वार्थले अरुलाई नराम्रो असर भने गर्नु हुँदैन । तपाईंको स्वार्थ फगत तपाईंका लागि मात्र हुनुपर्छ ।

यसको पनि सीमा हुन्छ । तपाईं कुनै सामाजिक वा सामूहिक हितको कुरामा स्वार्थी बन्न सक्नुहुन्न । परिस्थितीवस् उत्पन्न हुने कतिपय कुरामा तपाईं पन्छिन सक्नुहुन्न । समाजमा कसैलाई दुःख परेको छ, समस्या परेको छ । तत्काल उद्वार गर्नुपर्‍यो । तपाईंले यतिबेला आफ्नो काम, धन्दा थाती राखेर पनि सहयोग गर्न तत्पर हुनुपर्छ । अरुको आपत-विपतमा हामीले आफ्नो स्वार्थ त्याग्नुपर्छ । यदि त्यसो गरिएन भने मानविय समाजको निर्माण हुनै सक्दैन । स्वार्थको लुछाचुडीमा लागेर हामी आफु-आफु नष्ट हुनेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment