+
+
Shares

नेकपा सचिवालय बैठक स्थगित, ओली र प्रचण्डबीच अलग्गै छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १२:२९

२० जेठ, काठमाडौं । दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमवार निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बैठक स्थगनको सूचना पठाएका हुन् ।

नेकपा स्रोतका अनुसार केन्द्रीय सदस्यहरुको कार्य बिभाजनलगायतका विषयमा निर्णय गर्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने भएको छ । दुई नेताबीच प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि असमझदारी बढ्ने आशंका भइरहेका बेला सचिवालय बैठक सारेर छलफल हुन लागेको एक नेताले बताए ।

ओली निकट स्रोतका अनुसार आफू भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा गएका बेला अर्को अध्यक्षले प्रधानमन्त्रीको कार्यकाल १५ महिनामात्र बाँकी रहेको आशयको अभिव्यक्ति दिएकोमा उनले चित्त दुःखाएका छन् ।

सामान्यतः प्रधामन्त्री विदेश भ्रमणमा रहेका बेला विपक्षी दलले समेत देशको प्रधानमन्त्रीलाई कमजोर बनाउने खालका अभिव्यक्ति नदिने प्रचलन रहेकोमा आफ्नै दलको अध्यक्षबाट यस्तो अभिव्यक्ति आउँदा ओलीले चित्त दुःखाएको उनी निकट एक नेताले बताए ।

यद्यपि यो विषयमा प्रचण्डले स्पष्टिकरण दिँदै ओली पाँचै वर्ष प्रधानमन्त्री रहन सक्ने अभिव्यक्तिसमेत दिइसकेका छन् । दुई नेताबीच यसबारे समेत छलफल हुने र कार्य बिभाजन टुंग्याउने र पोलिटव्यूरो गठन गर्ने वा नगर्ने बारेमा सहमति भएपछि मात्र सचिवालय बैठक बस्ने भएको छ । सचिवालय बैठक सम्भवतः मंगलवार बस्ने नेकपा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीले बरिष्ठ नेता माधव नेपालसँग पनि छलफल गर्दैछन् । कार्य बिभाजनका सन्दर्भमा नेपालसँग छलफल गर्ने बताइएको छ । पछिल्लो समय नेपालले ओलीको बचाउमा अभिव्यक्ति दिएपछि दुई नेताबीच थप समझदारी बनाउन केही नेता सक्रिय छन् । ओली र प्रचण्डबीच आइतबार पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?