Comments Add Comment

६ करोड खर्चिएर गंगालाल–पुष्पलाल स्मृति पार्क

२१ जेठ, रामेछाप । राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा रामेछापमा स्मृति पार्क निर्माण हुने भएको छ ।

भंगेरीमा ५ करोड ९४ लाख रुपैयाँ लागतमा स्मृति पार्क निर्माण हुन लागेको हो ।

गंगालाल र पुष्पलालका पिता कुनै बेला रामेछाप बजारमा रहेको माल अड्डामा बडा हाकिम थिए । उनी रामेछाप बजारसँगै जोडिएको भंगेरीमा डेरा लिएर बसेका थिए । दुई दाजुभाइ गंगालाल र पुष्पलालको सोही समयमा भंगेरीमा जन्म भएको थियो ।

पार्क निर्माणको लागि दुई वर्षअघि नै घोषणा गरिएको थियो । तर सो स्थानमा व्यक्तिको जग्गा भएकाले अधिग्रहण गर्न बजेट नहुँदा काम अगाडि बढ्न सकेको थिएन । यस वर्ष अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयलाई पार्क निर्माणको लागि ५२ रोपनी जग्गाको मुआब्जाको बजेट उपलब्ध गराएपछि अब काम अगाडि बढने भएको छ ।

भंगेरी विश्वका प्रजातन्त्रवादी र कम्युनिस्टहरुको पवित्र स्थल भएकाले अब यसलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले बताए । ‘मुस्लिमहरुको लागि मक्का मदिना, हिन्दूहरुको लागि पशुपतिनाथजस्तै प्रजातन्त्रवादी र कम्युनिस्टहरुको लागि भंगेरी पवित्र स्थल हो । अब भंगेरीको विकास त्यही रुपमा अघि बढ्छ’, मन्त्री ढुंगेलले भने ।

दुई वर्षअघि प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले पार्क निर्माणको निर्णय गरेको थियो । गंगालाल र पुष्पलाल जन्मेको क्षेत्रलाई समेटेर करिब ५२ रोपनी जग्गा अधिग्रहणका लागि बजेट नहुँदा काम रोकिएको थियो ।

नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल स्मृति प्रतिष्ठान, रामेछापका अध्यक्ष देवशकंर पौडेल पार्क निर्माणको कामले अब गति लिने बताउँछन् । बजेट अभावमा काम रोकिएकोमा अब बजेट व्यवस्था भएकोले काम अघि बढ्ने उनले बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले खातामा पैसा आएलगत्तै मुआब्जा वितरणको काम अगाडि बढ्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment