+

विश्वकप क्रिकेट : भारत र दक्षिण अफ्रिका भिड्दै

२०७६ जेठ  २२ गते ७:२८ २०७६ जेठ २२ गते ७:२८
विश्वकप क्रिकेट : भारत र दक्षिण अफ्रिका भिड्दै

२२ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।

यता, भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै  सुखद् सुरुवात गर्ने लक्ष्यमा भारत छ । तर भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका छ ।

सन्तुलित भारत, खस्किँदो दक्षिण अफ्रिका

उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो । अझ क्रिकेट पण्डितहरुले भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन् ।

भारतको ब्याटिङ, बलिङ र फिल्डिङ यी तीनै पक्ष बलियो छ । शिखर धवन र रोहित शर्माको जोडीले ओपनिङ गर्दा, कप्तान विराट कोहली, केएल राहुल, केदार जाधव, दिनेश कार्थिक र महेन्द्रसिंह धोनी जस्ता ब्याट्सम्यान मध्यक्रममा छन् । त्यस्तै, रवीन्द्र जडेजा र हार्दिक पाण्ड्याजस्ता अलराउण्डर फिनिसिङ लाइनमा छन् ।

विशेषगरी आजको खेलमा भारतीय स्पिनरले मुख्य भूमिका खेल्ने छन् । कुलदीप यादव, रवीन्द्र जडेजा, युजभिन्द्र चाहालजस्ता स्पिनर आजको म्याच चेन्जरको रुपमा हुन सक्छन् ।

यता, दक्षिण अफ्रिकाले भने आफ्नो लय बिर्सिएको छ । कुनै बेलाका बलियो टिम अहिले खस्किँदो अवस्थामा छन् । तर दक्षिण अफ्रिकासँग विश्वका उत्कृष्ट ब्याट्सम्यान र बलरहरु भने नभएको होइन । तालमेल नमिल्नुको कारण विश्वकपमा दक्षिण अफ्रिकाको नतिजा सकरात्मक नआएको हो ।

कप्तान फाफ् डु प्लेसिस, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलर जस्ता विश्वचर्चित ब्याट्सम्यान छन् । त्यस्तै, इमरान ताहिर, कागिसो रबडा जस्ता बलर छन् । तर पनि नतिजा भने शून्य छ ।

भारत टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बेउरन हेन्ड्रिक्स, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय