Comments Add Comment

बारंगीमा पुग्यो बिजुली : स्थानीयमा पलायो पक्की घर बनाउने सोच

२२ जेठ, विराटनगर । मोरङको उत्तरी गाउँ बारंगीका आइजीत राई मंगलबार निकै हर्षित देखिन्थे । नहोउन् पनि किन, उनले जीवनकालको ७६ वर्षपछि आफैंले घरमा बिजुली बत्ती बाल्न पाएका थिए । उनमा अब नयाँ पक्की घर बनाएर बत्ती बाल्ने सोच पलाएको छ ।

पुरानो फुसको घरमा जडान गरिएको मिटर देखाउँदै उनले भने, ‘मेरो जीवनकालमा पहिलोपटक बिजुली आयो, मलाई धेरै हर्ष छ, तर यो थोत्रो घरमा बत्ती जोड्न डर लाग्यो ।’

‘फुसको छानोमा बत्ती जोड्दा आगो लाग्ने खतरा हुन्छ अरे । अब म नयाँ पक्की घर बनाउँछु, त्यहीँ सरेपछि बत्ती बाल्छु ।’

बारंगी मोरङ जिल्लाकै बिकट गाउँ मानिन्छ । हाल यो पहाडी नगरपालिका लेटाङको ७ नम्बर वडामा पर्दछ । हुनेखानेले सोलार बाले पनि गरिब परिवारका बासिन्दा भने टुकीको सहारा लिन बाध्य थिए । मंगलबार पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयबासीमा हर्षको सीमा छैन ।

स्थानीय अक्षयकुमार राई टुकी बाल्नुपर्ने बाध्यता अब सकिएको बताउँछन् । अब बिजुलीबाट चल्ने मिलमा कुटानी पिसानी गर्न पाइने आशा उनीमा छ ।

‘अब टुकी बाल्ने दिनको अन्त्य भएको छ, बिजुली आएपछि गाउँ नै झलमल्ल भयो । कुटानी पिसानीको लागि पनि गाउँमै मेसिन जोड्न सकिने भयो,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणको ३१ लाख लागतमा बारंगीमा विद्युत विस्तार गरिएको हो । जुन विद्युत मंगलबार सोही निर्वाचन क्षेत्रका प्रदेश सांसद उपेन्द्र घिमिरेले ट्रान्समिटरमा राखेको स्विच अन गरेर उदघाटन गरेका थिए ।

साविकको वारंगी गाविस (हालको लेटाङ नगरपालिका– ७) मा ७ सय घर परिवारमध्ये पहिलो चरणमा समला गाउँमा विद्युत विस्तारको काम पूरा भएको हो । यद्यपि मोरङ जिल्लाका उत्तरीपालिका केराबारी र लेटाङकै चार वटा वडामा अझै पनि बिजुली पुगेको छैन ।

ती क्षेत्रमा पनि विद्युत विस्तारको कामलाई तीव्र पारिएको जनप्रतिनिधिहरु बताउँछन् । लेटाङ नगरपालिकी उपमेयर कृष्णाकुमारी निरौलाले बिजुली नपुगेका ठाउँमा एक वर्षभित्रै बिजुली पुर्‍याउने योजना रहेको जानकारी दिइन् । विद्युत विस्तारका लागि २५/२५ लाख रुपैयाँ छुटाइएको पनि उनले बताइन् ।

नेपाल विद्युत प्राधिकरणका क्षेत्रिय निर्देशक सचिदानन्द यादवले सबै घरमा विजुली पुर्‍याउने सरकारको योजनाअनुसार विद्युत विस्तारको काम जारी रहेको बताए ।

उनकाअनुसार स्थानीय समला विद्युत उपभोक्ता समिति गठन गरी पहिलो चरणमा समला गाउँमा ३१ परिवारलाई बिजुलीको पहुँचमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment