Comments Add Comment

यो साताका किताब

२५ जेठ, काठमाडौं । यो साता बेलायतदेखि दार्जीलिङसम्म नेपाली पुस्तकहरु बजारमा देखिएका छन् । बर्खा लाग्न थालेपछि प्रकाशकहरुले पुस्तक प्रकाशन कम गर्दै जान्छन् । बजारमा नयाँ पुस्तक नआउँदा पुस्तक पसलेहरुले केही अघि छापिएका र बजारमा नदेखिएका पुस्तकहरु पाठकका आँखा पर्ने गरी राख्ने गर्छन् ।

योसाता कालिपोङका चर्चित कवि राजेन्द्र भण्डारी र बेलायतमा बसोबास गर्दे आएका नियात्राकार केदार सङ्केतका पुस्तकहरु बजारमा आएका छन् । त्यसैगरी रुमन न्यौपानेको उपन्यास, किरण भन्डारीको अनुसन्धानमूलक पुस्तक र तर्कना शर्माको उपन्यास पनि बजारमा देखापरेका छन् ।

तर्कना शर्माको जेब्राक्रस र केदार संकेतको नियात्रा ‘बुद्धल्याण्ड टु स्वीजरल्याण्ड’ केहीअघि विमोचन भए पनि पुस्तक पसलहरुमा यी पुस्तकले महत्व पाएको देखिएको छ ।

इतिहासको बाडुली

लामो समयसम्म सिक्किम विश्वविद्यालयमा नेपाली भाषा प्रमुख भएर काम गरेका राजेन्द्र भण्डारी चर्चित कवि हुन् । उनका कविताहरु हिन्दी र अंग्रेजी भाषामा पनि अनुदित भएका छन् । उनले नेपाली साहित्यको प्रतिनिधित्व गर्दै विदेशी फोरमहरुमा पनि आफ्नो प्रस्तुति दिएका छन् । यिनै कविको पछिल्लो कृति हो ‘इतिहासको बाडुली’ ।

एउटै पुस्तकमा उनले कविता र भारतमा नेपाली भाषीहरुको इतिहास प्रस्तुत गरेका छन् । पुस्तकको पहिलो खण्डमा गोर्खाल्याण्ड आन्दोलनमा नेपाली भाषीले गरेको संघर्षलाई कवितात्मक प्रस्तुत गरिएको छ भने दास्रो खण्डमा भारतमा नेपाली भाषीको इतिहास र उनीहरुको अस्तित्वको खोज गरिएको छ ।

एउटै पुस्तकमा उनले आफ्नो कवित्व र खोज अनुसन्धानको व्यक्तित्व देखियोस् भन्ने उनको चाहाना हुन सक्छ । कविता खण्ड ठूलो छ भने इतिहास खण्ड निकै सानो । यद्यपि दुबै खण्डले राजेन्द्र भण्डारीको उच्च व्यक्तित्व झल्कन्छ ।

बुद्धल्याण्ड टु स्वीजरल्याण्ड

सेवानिवृत्त बेलायती लाहुरे (गुर्खाज) ले आफ्नो जागिरे जीवनमा के देख्दैन ? उसले गाउँको गरिबी देखेको हुन्छ । देश गरिब हुनुका राजनीतिक र सामाजिक कारण देखेकेा हुन्छ । लाहुरे भएपछि सम्पन्नताको अनुभव गरेको हुन्छ । सबैभन्दा ठूलो कुरा उसले जागीरकै क्रममा संसार घुमेको हुन्छ ।

आफूले गरेका यी अनुभवहरु कतिले बाँड्छन् ? बाँड्नेहरु मध्ये पनि गहन तरिकाले कतिले प्रस्तुत गर्छन् ? यो सधैंभरि गरिने प्रश्न हो ।

पूर्वी नेपालको गरिब परिवारमा जन्मिएर बेलायती सेनाको उच्च पद मध्ये एक पाएर हालै सेवा निवृत्त भएका केदार सुनुवारको साहित्यिक नाम केदार सङ्केत हो । बेलाबेलामा उनले लेखेका कवितालाई नेपाली समालोचकहरुले मानक डायस्पोरिक सिर्जना मान्ने गरेका छन् ।

केही वर्षअघि प्रकाशन भएको ‘एथेन्सको झरी’ पुस्तकले केदार संकेतको कामलाई समालोचकहरुले निकै मनपराएका थिए । विशेष गरी अमेरिकी र बेलायती सेनाको संयुक्त टोलीले इराक आक्रमण गरेर सद्दाम हुसेनको सत्ता पल्टाएको क्षण र सद्दामको चरित्रलाई पुस्तकमा जसरी उनेका थिए, त्यसले निकै प्रसंसा पाएको थियो । उक्त क्षणमा बेलायती सेनाका रुपमा केदार सुनुवार पनि त्यो युद्धको हिस्सा बनेका थिए ।

उनको नियात्राकै दोस्रो पुस्तक ‘बुद्धल्याण्ड टु स्वीटजरल्याण्ड’ यस्तै प्रसंसनीय पुस्तक हो । बेलायती सेनाबाट अवकाश पाएपछि लेखिएको यो पुस्तकमा उनले घुमेका संसारमा सुन्दर देशको वर्णन गरेका छन् । पुस्तकमा मानव निर्मित सौन्दर्य र प्राकृतिक सौन्दर्यले भरिएका देशहरुको वर्णन छ । ती देश सुन्दर हुनुमा प्रकृतिले दिएको उपहारभन्दा त्यहाँका मानिसले गरेको महेनतलाई उनेले सह्राहना गरेको देखिन्छ ।

अनुगामी

युवा उपन्यासकार रूमन न्यौपानेको पहिलो उपन्यास ‘अनुगामी’ यसै साता बजारमा आएको हो । स्वैरकल्पनाको प्रयोग गरी लेखिएको उपन्यासमा एउटा चित्रकारको कथा समेटिएको छ । प्रेम र जीवनका उतारचढावलाई प्राथमिकता दिइएको उपन्यास इन्डियो इन्कले प्रकाशनमा ल्याएको हो । चित्रकारिता एवं कलाकारितामा लागेको समाजले फरक सोच देख्ने विद्रोही युवकको कथा भएका कारण उपन्यास केही फरक छ ।

उपन्यासमा अंग्रेजी सिनेमामा प्रयोग हुने डार्क शैलीको प्रयोग भएकाले युवा पुस्ताले रुचाउन सक्छन् । नेपाली उपन्यासमा कलालाई केन्द्रमा राखेर लेखिएको मैदारो, अबिरपछि अनुगामी तेस्रो कृति मानिएको छ ।

जेब्राक्रश

पत्रपत्रिकामा लेखिरहने कर्तना शर्माको पहिलो उपन्यास हो जेब्राक्रश । शर्मा सुरुदेखि नै सीमान्तकृत समुदाय र विषयलाई महत्व दिने लेखिका हुन् ।

उपन्यास जेब्राक्रशमा तर्कनाले फरक शैलीमा महिला स्व्ाभिमानको पक्ष लिएकी छिन् । प्रेमपछि विवाह भएको उपन्यासकी नायिका त्यो फेला अप्ठ्यारो अवस्थामा पुग्छे, जब उसले आफ्नो श्रीमान् समलिङ्गी भएको थाहा पाउँछे ।

समाजमा देखाउनकै लागि आफूमाथि नक्कली प्रेम र सक्कली विवाह भएको थाहा पाएपछि नायिकाले पारपाचुकेको निर्णय गर्छे । यो निर्णय गर्नुअघिको महिलाले भोग्नुपर्ने सामाजिक प्रताडना र पारपाचुकेपछि पुनः गर्नुपर्ने आर्थिक संघर्षका संकेतले उपन्यासलाई सुन्दर बनाएको छ ।

उपन्यासले एकै साथ नेपाली समाजको महिला पुरुषबीचको फरक, आर्थिक र समाजिक विभेद र आधुनिक मानिसको समाजको कुरुपता एकसाथ पस्केको छ । पहिलो उपन्यासमै तर्कना शर्माले नेपाली साहित्यमा सुनौलो भविष्य कोरेकी छन् ।

उत्पति

पृथ्वीको उत्पति कसरी भयो, यसका विषयमा अनेक सिद्धान्त प्रतिपादन भएका छन् । विज्ञानको एउटा मत छ भने विभिन्न धर्मग्रन्थका फरक मत छन् । हिन्दु धर्मभित्र पनि वेद र पुराणका उत्पति कथाहरु फरक फरक छन् ।

किरण भण्डारीद्वारा लिखित गैरआख्यान पुस्तक ‘उत्पति’ ती सबै उत्पति कथाको संयुक्त संकलन हो । पुस्तकमा पृथ्वी र ब्रम्हाण्डको उत्पतिसम्बन्धी सबै किसिमका सिद्धान्तहरुलाई संकलन गरिएको छ । पुस्तकका अधिकांश विषय लेखकका आफ्ना होइनन् तर लेखकले त्यसलाई सरल र छोटो शैलीमा बुझाएर लेखकले गम्भीर विषयलाई सरलीकृत गरिदिएका छन् ।

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस यो साताका ५ पुस्तक यो पनि पढ्नुहोस साताका ४ पुस्तक : ‘युद्धका ती दिन’देखि ‘धम्मपथ’सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment