Comments Add Comment

जहाँ पहुँच छैन, त्यहाँ जनार्दन

२६ जेठ, काठमाडौं । मानिस जहाँ पुगोस्, आफू जन्मेको माटोले तानिहाल्छ । यदि माटोको गन्धले नतान्ने भए जनार्दन गौतम वर्षको दुई/तीन पटक नेपाल आउने थिएनन् । उनी स्विटजरल्याण्डको टापुमा कतै अड्किरहेका हुन्थे ।

स्विटजरल्याण्डलाई कर्मथलो बनाएको १९ वर्ष भयो । स्वीस नागरिकलाई जीवन संगिनी बनाएका छन् ।

तर, पाँच वर्षअघि जनार्दन फाउण्डेशन पनि दर्ता गरेका छन्, जसले नेपालमा काम गर्छ । हालै नेपाल आए र दुई हप्ता बसेर स्विटजरल्याण्ड फर्किए ।

काठमाडौं झरेको केही दिनमै उनी जन्मभूमि ओखलढुंगाको लिखु गाउँपालिकामा पुगेका थिए । उनी त्यहाँ एक्लै गएनन्, सँगै स्वास्थ्यकर्मीको टिम लगेका थिए । किनभने लिखुको पोकली गाउँमा उनले निःशुल्क स्वास्थ्य शिविर गर्नु थियो ।

जनार्दन भन्छन्, ‘चार दिनको स्वास्थ्य शिविरमा आँखाबाहेक सम्पूर्ण जाँच गरेको थियौं । सामान्य सर्जरी पनि त्यहीँ ग¥यौं । सबैभन्दा बढी दाँत जाँच गराउन आउनुभएको थियो ।’ स्वास्थ्य जाँच गराउनका लागि धेरै लाइन लागेका थिए ।

०००

जनार्दन पेसाले ट्राभल व्यवसायी हुन् । उनको हिमालय राइजन ट्राभल एन्ड टुरले स्टिवजरल्याण्डका नागरिकलाई नेपाल ल्याउँछ । अनि हिमाल पहाड डुलाउँछ ।

उनले त्यसबापत हुने आम्दानीको १० प्रतिशत रकम परोपकारी कामको लागि छुट्याउँछन् । जनार्दनले सन् २००० देखि परोपकारी काममा दिल हालेका हुन् । किनकी परोपकारी काममा दिमागभन्दा पनि दिलको बढ्ता भूमिका हुन्छ । उनले यो अवधिमा गरेका परोपकारी कामको फेहरिस्त भने लामो छ ।

पोकलीमा सञ्चालित स्वास्थ्य शिविर ।

एक पटक जनार्दन पर्यटकलाई गाइड गर्दै गोकर्ण पुगेका थिए । तामाङ बस्तीको बीचमा एउटा विद्यालय थियो ।

तर, त्यो विद्यालय विद्यार्थी बस्नलायक थिएन । विद्यार्थीहरु विद्यालयबाहिरै बसेर पढिरहेका थिए । विद्यालय नाम थियो ‘बालुवा माध्यामिक विद्यालय ।’

जनार्दनलाई स–साना बालबालिकाको माया लाग्यो । अनि स्कुलको तला थप्न सहयोग गरे । केही समयपछि लाइब्रेरी र कम्प्युटर कोठा पनि तयार पारिदिए ।

ओखलढुंगाको पोकलीमा स्कुल थिएन तर, गाउँ ठूलो थियो । विद्यार्थीहरु स्कुल पुग्नका लागि डेढ घण्टा हिँड्नुपर्ने ।

यदि जनार्दन हुने थिएनन् भने त्यहाँ ‘पुरुषोत्तम प्राथामिक विद्यालय’ पनि हुने थिएन । जनार्दनले सन् २००३ मा पोकलीमा स्कुलको स्थापना गरे । त्यसपछि कम उमेरमै विद्यालय छोड्ने बालबालिकाको आँकाडा निकै कम भयो । स्कुलमा उनले नै तलब दिएर शिक्षक राखेका थिए । अहिले दुई वटा शिक्षक दरवन्दी आयो ।

तर, भूकम्पले भवन भत्काइदियो । जनार्दनले फेरि भूकम्प प्रतिरोधी भवनका लागि सहयोग गरे । भूकम्पपछि सिन्धुपाल्चोक र धादिङमा राहत सामाग्री बोकेर पुगेको थियो जनार्दन फाउन्डेसन ।

उनको विद्यालयमा निकै लगाव छ । ओखलढुंगाको ‘च्युरीडाँडा माध्यमिक विद्यालय’मा तीन कोठे भवन निर्माणाधीन छ । गाम्नाटारका स्थानीयलाई जनार्दनले उद्यमी बन्न सिकाउने तयारीमा छन् । त्यहाँ कफी खेतीबारे अध्ययन भइरहेको छ । ‘हामीले नै उहाँहरुलाई कफीको बीऊ उपलब्ध गराउँछौं, खेती गर्न सिकाउँछौं, प्राविधिक लागत पनि ब्यहोर्छौं’, जनार्दन भन्छन्, ‘र, हामीले नै उहाँहरुको कफी खरिद गरिदिन्छौं । जसको युरोपमा राम्रो बजार छ ।’ यो विषयमा रामेछापमा पनि अध्ययन भइरहेको जनार्दनले बताए ।

जनार्दन फाउण्डेशनले निर्माण गरेको विद्यालय ।

पाँच वर्षअघि जनार्दन आमाको उपचारका लागि त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका थिए । आमा खुट्टा भाँचिएको थियो । इमर्जेन्सी वार्डमा रहेकी आमालाई उपचारको क्रममा यताउता पुर्‍याउनुपर्ने भयो । त्यसका लागि जनार्दनले ह्वीचेयर खोजे । भेटाएनन् । ह्वीलचेयरका कारण जनार्दनको आमा जस्ता थुप्रै विरामीले दुःख पाएको देखे । उनले १० वटा ह्वीलचेयर उपलब्ध गराए ।

उनले टिचिङमा मात्र होइन, सर्लाहीको सर्पदंश उपचार केन्द्रमा पनि ठूलो दुई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । जहाँ अक्सिजनकै अभावमा सर्पको टोकाईबाट अस्पतालमा आएका विरामीहरुको उपचारमा समस्या हुन्थ्यो ।

‘हामीले सिलिण्डर उपलब्ध गराएपछि थोरै भए पनि राहत पुग्यो । एक सिलिण्डरले चार महिनाभन्दा बढी समय काम गर्छ’, जनार्दन भन्छन्, ‘अब ग्यास भर्ने मेसिन पनि दिँदैछौं ।’ फाउण्डेशनले केन्द्रलाई वार्षिक ४० हजार सहयोग गर्छ ।

जनार्दन फाउण्डेशनले स्विटजरल्याण्डमा केही रचनात्मक काम गरेर पनि परोपकारी कामको लागि सहयोग संकलन गर्छ । वार्षिक १५ देखि २० लाख रुपैयाँसम्मको परोपकारी काम गर्दै आएको जनार्दनले बताए । उनले भने, ‘जहाँ सरकारको ध्यान पुगेको छैन, सुविधानमा पहुँच छैन त्यहाँ पुगेर हामीले सहयोग गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment