Comments Add Comment

ओली सरकार आएपछि बर्बाद भयो : देउवा

२६ जेठ, गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रचारको कामबाहेक केही नगरेको आरोप लगाएका छन् । आइतबार गोरखा सदरमुकामा आयोजित कार्यक्रममा उनले सरकारले सबैको अधिकार खोसेको दावी गरे ।

‘ओली सरकार आएपछि बर्बाद भयो, सबै ठाउँमा बिगारेको छ, सबैको अधिकार खोसेको छ, प्रचारको कामबाहेक केही भएको छैन,’ उनले भने ।

सरकारले अख्तियार, मानवअधिकार आयोग जस्ता संवैधानिक निकायको अधिकार खोस्ने र प्रेसलाई नियन्त्रणमा राख्न खोजेको देउवाले आरोप लगाए । ‘यिनीहरु भनेको सरकारले गरेको बदमासीलाई खबरदारी गर्ने स्वतन्त्र निकाय हुन्,’ उनले भने, ‘तर ओली सरकारले यी क्षेत्रको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ ।’

देउवाले प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदमा कुनै हालतमा पास हुन नदिने बताए ।

बुढीगण्डकी जलबिद्युत आयोजना पैसाको चलखेलमा चिनियाँ कम्पनीलाई दिन लागेको देउवाले दावी गरे । ‘विना प्रतिस्पर्धा आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिनु गैरकानूनी हो, नेपाली आफैले त्यो आयोजना बनाउन सक्छन्,’ उनले भने ।

भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुनर्निर्माणमा ढिलाइ भएको भन्दै उनले आपत्ति जनाए । ओली सरकारले गरेका गल्तीहरु सुधार नगरे सडक आन्दोलन गर्ने देउवाले चेतावनी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए । विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन नसकेको भन्दै उनले ओली सरकार आलोचनाको पात्र मात्र बनेको जिकिर गरे । ‘उही गोत्र, उही सिद्धान्त बोकेर हिँडेको विप्लवको एउटा कम्युनिष्ट पार्टीलाई विश्वासमा लिन नसक्ने अनि ठुलो गुड्डी हाँक्दै हिँड्ने,’ प्रधानमन्त्री ओलीलाई शर्माले प्रश्न गरे ।

प्रचण्डलाई मारेर विप्लवले भनेजस्तो गणतन्त्र नआउने भन्दै रगत बगाउने काम छाडेर शान्ति प्रक्रियामा आउन विप्लवलाई उनले आग्रह गरे । वाइडवडी र वालुवाटारको जग्गा काण्डमा कांग्रेसलाई अनावश्यक मुछेको भन्दै उनले दोषी भए कारवाही भोग्न तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment