Comments Add Comment

तातोपानी नाका : उद्घाटन भयो, सञ्चालनमा आएन

सञ्चालनमा आएपछि पनि ड्राइभर र लोडरलाई मात्र प्रवेश दिइने

२७ जेठ, काठमाडौं । तामझामले उद्घाटन गरिएको नेपाल-चीन तातोपानी नाका अझै सञ्चालनमा भने आउन सकेको छैन । उद्घाटनपछि एउटा पनि कन्टेनर यस नाकाबाट आवतजावत नभएको पाइएको छ ।

नेपालतर्फ भन्सार कार्यालय तयार नभएकाले उद्घाटन भएको दुई सातासम्म नाका सञ्चालनमा आउन नसकेको हो । रातो कार्पेट बिछ्याएर भव्यरुपमा उद्घाटन समारोह आयोजना गरिएको थियो । २०७२ सालमा गएको भूकम्पपछि भौतिक संरचना भत्किएका कारण बन्द तातोपानी नाका १५ जेठमा उद्योगमन्त्री मात्रिका यादवले उद्घाटन गरेका थिए ।

उद्घाटनका बेला औपचारिकताका लागि कन्टेनर ओहोर-दोहोर गरिएको बाहेक नाका सञ्चालनमा आउन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । औपचारिकताका लागि नाका उद्घाटन गरिए पनि राम्रोसँग सञ्चालनमा आउन अझै डेढ महिना लाग्न सक्ने उनको भनाइ छ ।

चीन सरकारले आफ्नै लगानीमा नेपालका लागि सुख्खा बन्दरगाह बनाइदिएको छ । तर बन्दरगाहमै रहने भनिएको भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरहरु व्यवस्था अझै गरिएको छैन । फर्निचरहरु व्यवस्थापनका लागि भन्दै नेपालस्थित चिनियाँ दूतावासमा आग्रह गरिएको छ । हालसम्म फर्निचर आइनपुगेको बस्नेतले बताए ।

‘कार्यालय व्यवस्थापनका कामहरु अझै बाँकी छन्, फर्निचर पनि आइपुगिसकेको छैन’ उनले भने, ‘औपचारिक त भयो तर सञ्चालनमा आउन अझै केहि समय लाग्छ ।’ उसो त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले समेत भन्सार नाकामा सरकारी संरचना निमार्णमा भएको ढिलाइले व्यवसायिक सञ्चालन केही ढिलो हुने स्वीकार गरेका छन् ।

सचिव अधिकारीले नाकालाई व्यवसायिक सञ्चालन ल्याउन मन्त्रालयले तिब्र रुपमा काम भईरहेको जानकारी दिए । भन्सार कार्यालयको संरचना निमार्ण जारी रहे पनि पूर्ण हुन समय लाग्दा अझै केहि दिन नाका सञ्चालनमा आउन समय लाग्ने अधिकारीले बताए ।

व्यवसायीको आशंका कायमै

जेठ १५ गते नाका खुल्ने भएपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघको टोली एक साताअघि नै स्थलगत निरीक्षणका लागि तातोपानी पुगेको थियो । स्थलगत निरीक्षणपछि महासंघ अध्यक्ष नरेश कटुवालले भौतिक पूर्वाधारका कामहरु सम्पन्न हुन धेरै बाँकी रहेको भन्दै केही दिनभित्रै सञ्चालनमा आउन नसक्ने बताएका थिए ।

जेठभित्रसम्म पनि नाका खुल्नेमा आफू सशंकित रहेको उनको भनाइ छ ।

‘हामीले त पहिले नै भनेका थियौं नि, जेठभित्रै राम्ररी सञ्चालनमा आउने सम्भावना अत्यतै कम छ भनेर, अन्तत प्रमाणित भयो’ अध्यक्ष कटुवाल भन्छन्, ‘सरकारले विशेष ध्यान दिएर नाका चाडो खुलाउनतर्फ लाग्नु पर्छै ।’

नाका खुलासँगै व्यवसायीको सहज पहुँच बनाउनु पर्ने समेत उनको माग छ । नाका सञ्चालनमा आएपछि सिण्डिकेट लागु हुन सक्ने सम्भावना रहेको भन्दै उनले भन्सारसम्म व्यवसायीको सहज पहुँच हुनुपर्नेमा जोड दिए ।

नेपाल चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्गमा २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आंशिकरुपमा ठप्प भएको थियो भने २०७२ सालको भुकम्पपछि पूर्णरुपमा ठप्प भएको थियो । यो नाका नेपाल-चीन मध्येको सबैभन्दा बढी कारोबार हुने नाकाको रुपमा परिचित थियो ।

पहिलेजस्तो नहुने

भूकम्प अघिसम्म नेपालीहरु खासा बजारसम्म सहजै जान सक्थे । यसका लागि चिनिय पक्षले पासको व्यवस्था मिलाउँथ्यो । पास लिएर आफ्नै सवारी साधनमा गएर खासा बजारमा किनमेलसमेत गर्न सकिने अवस्था अब भने हुने छैन ।

लामो समयपछि खुल्न लागेको तातोपानी नाका पारी अब व्यक्तिलाई प्रवेश अनुमति नदिइने भएको छ । चिनियाँ पक्षले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नेपाली भूमिभन्दा अगाडी बढ्न नदिने प्रस्ताव गरेको थियो । नेपालीहरू खासा बजारसम्म पुग्ने र चीन विरोधी गतिविधि हुन सक्ने आशंका गरेर चिनियाँ पक्षले यस्तो प्रस्ताव राखेको बताइएको छ ।

अब कुनै पनि व्यक्ति चिनिया नाकामा प्रवेश नगराउने सहमति भएको प्रमुख भन्सार अधिकृत बस्नेतले जानकारी दिए । ड्राइभर र कामदार (सामान लोड गर्ने) व्यक्तिबाहेक अरुलाई प्रवेश अनुमति नदिने चिनियाको प्रस्ताव रहेको उनले सुनाए ।

यताबाट गएका कामदारहरुलाई साँझ चीनमा बस्ने अनुमति भने हुँदैन । गएकै दिन फर्किनु पर्नेगरी दुईदेशीय सम्झौता भएको उनले बताए ।
आफूले भने सामानको मालिकलाई चाहिँ प्रवेश अनुमति दिनु पर्ने प्रस्ताव राखेको उनले बताए ।

‘गाडी लिएर जाने ड्राइभर एक जना र १२ जना कामदारलाई अध्यागमनको पास लिएर जाने र सोही दिन फर्किनु पर्ने कुरा भएको भएको छ’ अधिकृत बस्नेतले भने, ‘गाडीमा साहुलाई पनि जान दिनु पर्ने मैले प्रस्ताव गरेको छु, साहु नै नगए त कसरी सामान हाल्ने ?’

अन्य सर्वसाधारणले भने नाकाभन्दा अगाडीसम्म मात्र प्रवेश नपाउने उनले जानकारी दिए । नेपालीलाई प्रवेश दिन तयार नभए पनि नाका खुलाउन भने चिनिया पक्ष नै लागिपरेको थियो ।

चीन सरकारले आफ्नै लगानीमा नेपालका लागि सुख्खा बन्दरगाहसमेत बनाइदिएको छ । ०७० पुस ५ गते सुख्खा बन्दरगाहको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी नदीको बाढीले निर्माण कार्य रोकिएको थियो । चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुरु भएको थियो । चीन सरकारले केही दिनमा नै सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गरेपछि भन्सारसम्बन्धी सबै काम यहीँबाट हुने तातोपानी भन्सार प्रमुख बस्नेतले जानकारी दिए ।

नेपाल-चीन सीमा क्षेत्र र हालको भन्सार कार्यालय रहेकोभन्दा ६ किलोमिटर तल निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह अन्तर्राष्ट्रियस्तरको छ । सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गो र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको ढकालले जानकारी दिए । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ ।

बन्दरगाहमा भन्सार कार्यालय, जाँचपाँस यार्ड, चेक पोष्ट, बैंक, क्वारेन्टाइन, लगायतका संरचनाहरु निर्माण भएका छन् । कर्मचारीहरुका लागि आवास समेत बन्दरगाहभित्रै निर्माण गरिएको बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment