Comments Add Comment

‘सौतेनी आमा’ आमा होइनन् र ?

नीमा मोक्तान 'माया'

अब्राहम लिंकन ९ बर्षका थिए । त्यहीबेला विषालु दुध पिएर उनको आमाको मृत्यु भयो । उनका पिताले अर्को विवाह गरे । सानैमा आमा गुमाएका अब्राहमको घरमा सौतेनी आमा भित्रिए । तर, जसै सौतेनी आमा भित्रिइन्, अब्राहमले आफ्नै आमाको अभाव विर्सिए । सौतेनी आमाले उनलाई एकदमै प्रेम र स्नेहले हुर्काए ।

अब्राहम पढ्न चाहन्थे । सौतेनी आमाले नै उनलाई पुस्तकहरु खोजेर, किनेर ल्याइदिन्थे । उनै अब्राहम लिंकन पछि अमेरिकाको राष्ट्रपति भए । अहिलेसम्मकै अमेरिकाको सबैभन्दा लोकपि्रय र लामो समय शासन गर्ने राष्ट्रपतिको रुपमा अब्राहम लिंकनको नाम छ ।

सौतेनी आमा

‘सौतेनी’ नाम नै हाम्रो समाजमा अपि्रय छ । तुच्छ छ । कसैले कुनै भेदभावपूर्ण व्यवहार गरेमा भन्ने गरिन्छ, ‘कस्तो सौतेनी व्यवहार गरेको ?’

कसैले आफुमाथि अन्याय भएको रोष पोख्नुपरेमा भन्छन्, ‘के म चाहि सौताको छोरो/छोरी हुँ ?’

सौता भन्ने शब्दावली नै यहाँ अन्यायपूर्ण छ । सौता भनेको कुनै पर-पुरुषसँग विवाह गर्ने महिलालाई बुझिन्छ । ति महिला जो, विवाहित पुरुषको दोस्रो वा कान्छी श्रीमती बन्न पुग्छन् । कसैको श्रीमती हुँदाहुँदै, घरबार राम्रो हुँदाहुँदै दोस्रो उक्त पुरुषसँग नजिकिएपछि उनको घरबार लथालिंग हुनसक्छ । उनकी जेठी श्रीमती, छोराछोरीप्रति अन्याय हुनजान्छ । त्यसैले यस्तो अवस्थामा सौता बनेर कसैको घरमा प्रवेश गर्नु भनेको अन्याय नै हो ।

लथालिंग घरबार सम्हाल्नका लागि

तर सबै अवस्थामा एउटी महिला कसैको घरबार बिगार्न पुग्दैनन् । बिगि्रएर लथालिंग भएको घरबार सम्हाल्न पनि पुग्छन् । कोही पुरुष विवाहित भएर पनि उनीहरुको घरबार राम्रो भएको नहुन सक्छ । श्रीमती र उनको सम्बन्ध सुमधुर नहुन सक्छ । उनीहरु भौतिक र भावनात्मक रुपले टाढिएको हुनसक्छ । यस्तोमा सबै दोष पुरुषमाथि मात्र दिन पनि मिल्दैन । घरबार विग्रनुमा, दाम्पत्य सम्बन्ध बलियो नहुनुमा दुबैको दोष हुनसक्छ । दुबैको समस्या हुनसक्छ ।

तर, घरबार बिगि्रएपछि हामी धेरैजसो दोष पुरुषको थाप्लोमा थोपर्छौ । पुरुषलाई दोषी देखाउँछौ । पुरुषलाई अपराधी र घृणित देखाउँछौ । तर, श्रीमती र श्रीमानले बराबर तालमेल मिलाउन नसक्दा नै घरबार बिगि्रएको हुनसक्छ ।

कतिपय दम्पतिको सम्बन्ध राम्रो हुँदाहुँदैपनि कारणवस् उनीहरु विछोडिएको हुनसक्छ । जस्तो श्रीमतीको मृत्यु भएको पनि हुनसक्छ । यस्तै अरु भवितव्यले पनि कतिपयको घरबार बिगि्रएको हुनसक्छ ।

यस्तो अवस्थामा कोही महिला आपसी समझदारीमा उक्त पुरुषको घरमा भित्रिन्छन् भने उनलाई कसरी नराम्रो भन्ने ? उनले त एउटा व्यक्तिको बिगि्रएको घरबार सम्हाल्न गएको हुन्छ । यो त उनको समर्पण, त्याग र धर्म पनि हो ।

यसरी कसैको घरमा दोस्रो श्रीमती बनेर भित्रिएकी महिलाले समाजको धेरै कुरा सहनुपर्छ । तिखो बचनहरु सुन्नुपर्छ । आफ्नै माइती पक्षले समेत चित्त दुखाउँछ । यी सबै कुरा सहेर एउटी महिला जब कसैको घरबार सम्हाल्नका लागि जान्छ, उनलाई पनि ‘सौतेनी’ भनेर हेला गर्नु पक्कै न्यायसंगत छैन ।

मेरो कथा

म सानै छँदा मेरी आमा वित्नुभयो । तर, आमाले जे-जति कुरा सुनाउनुभयो, सिकाउनुभयो त्यो आज पनि मेरो जीवनमा उपयोगी छ । आमा भन्नुहुन्थ्यो, ‘अरुको लागि बाँच्नुपर्छ । अरुको खुसीको लागि हाँस्नुपर्छ ।’

आमापछि म पनि अरुकै माया र ममतामा हुर्किएँ । मलाई कहिले पनि अर्काजस्तो व्यवहार गर्नुभएन । मैले आफ्नै आमाको स्नेह पाएँ ।

पछि मैले पनि विवाहित पुरुषसँग विवाह गरे, जसको घरबार टुटिसकेको थियो । उनकी श्रीमतीले छाडेर गइसकेको रहेछ । उक्त श्रीमतीतर्फका दुई छोराछोरी रहेछन् । यो कुरा सुरुमा त मलाई थाहा थिएन । तर, उनले -श्रीमान) जतिबेला मलाई विवाहको प्रस्ताव राखे, त्यही बेला स्पष्टसँग आफ्नो सबै कुरा भने । उनले दोस्रो भेटमै भनेका थिए, ‘म केही कुरा लुकाउँदिन । सबै स्पष्टसँग भन्नु । मलाई झुटो बोल्न आउँदैन, मन पनि लाग्दैन । खासमा म विवाहित हुँ । मेरो दुई छोराछोरी पनि छन् । तर, श्रीमतीले मलाई छाडेर गइन् । अहिले म एक्लो छु । उमेर भर्खर २७ बर्षको छ । अब म नयाँ जीवन सुरु गर्न चाहन्छु । मलाई तिमीजस्तै जीवनसाथी चाहिएको छ ।’

उहाँको दुईवटा कुराले मेरो मन पग्लियो । एक त उहाँले मलाई झुकाउने, फकाउने गर्नुभएन । जे थियो, स्पष्ट भन्नुभयो । उहाँको यो सत्य बोल्ने बानी मन पर्‍यो ।

दोस्रो चाहि, उहाँको घरमा हुर्कदै गरेको दुई छोराछोरी, जसले आमाको माया पाएका छै्रनन् । मलाई यसैपनि बच्चा मन पर्ने । सानोमा बच्चा खेलाउनकै लागि म बच्चा भएको घरमा बास बस्थें रे । जब उनको दुई बच्चा छन् भनेको सुनें मलाई उनीहरुको हेरचाह गर्ने रहर जाग्यो । त्यही कारण मैले आफ्नो माइतीसँग विद्रोह गरेर विवाह गरें ।

जब म उनको दोस्रो श्रीमती बनेर भित्रिएँ, त्यसले उनको घरबार बिगि्रएन । किनभने उनी त त्यसअघि नै उनको दाम्पत्य सम्बन्ध बिगि्रसकेको थियो । टुटिसकेको थियो ।

म गएपछि ति दुई छोराछोरीलाई जतिसक्दो माया, ममता दिएर हुर्काएँ । पछि मेरो पेटमा पनि गर्भ रह्यो । मेरो बच्चा जन्मियो । अब मसँग तीन जना बालबच्चा भए । यी तीन जनालाई कतिपनि भेदभाव नगरी मैले हुर्काएँ । अहिले दुबै छोराछोरी हुर्किसके । छोरी अष्ट्रेलियामा छिन् । छोरो पोखरामा छन् । कान्छो छोरा हामीसँगै छ ।

सौतेनी आमाप्रति मान्छेको हेराई राम्रो छैन । सौतेनी भन्नसाथ क्रुर हुन्छन् । पक्षपाती हुन्छन् । खराब हन्छन् भन्ने छ । तर, यो मान्छे अनुसार फरक हुन्छ । मान्छेको मन र व्यवहार अनुसार फरक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment