Comments Add Comment

दम्पतीबीच पनि आवश्यक छ शिष्टचार

अरुको सामुन्ने हामी आफुलाई शिष्ट देखाउने यत्न गर्छौ । अरुकै खातिर सानोतिनो कुरामा पनि शिष्टचार पालना गरिरहेका हुन्छौ । कसरी बोल्ने, कस्तो सम्बोधन गर्ने, कसरी हिँड्ने, कसरी खाने, कसरी बस्ने, कसरी बोल्ने इत्यादि कुरामा हामी आफुलाई सकेसम्म शिष्ट रुपमा पेश गरिरहेका हुन्छौ ।

यस्तो लाग्छ, मानौ शिष्टता भनेको अरुको सामुन्ने गरिने नाटकिय शैली हो । किनभने हामी एक्लै हुँदा त्यस्तो शिष्टताको ख्याल गर्दैनौ । तपाईं वाथरुममा शिष्ट बन्ने अभ्यास गर्नुहुन्छ ? तपाईं बेडरुममा शिष्ट बन्ने प्रयास गर्नुहुन्छ ?

पक्कै गर्नुहुन्न । किनभने शिष्ट भनेको अरुको अगाडि देखाउने भन्ने लाग्छ हामीलाई । तर, यो एक स्वभाव हो, प्रवृत्ति हो । हामीले अरुको लागि होइन, आफ्नो लागि शिष्ट बन्ने हो । तपाईं भलाद्मी वा मान्यजनको अगाडि हुँदा जसरी सभ्य भएर खानेकुरा खानुहुन्छ, एक्लै हुँदा पनि तपाईंमा त्यो सभ्यता कायम रहनुपर्छ । जसरी तपाईं कुनै विशिष्ठ व्यक्तिको अगाडि शालिन भएर बोल्नुहुन्छ, एक्लै हुँदा पनि तपाईंमा त्यो शालिनता रहनुपर्छ ।

तर, हामी के गर्छौ ?

अरुको अगाडि सकेसम्म भद्र हुने कोसिस गर्छौ । अरुको सामुन्ने सभ्य हुने कोसिस गर्छौ । अरुको सामुन्ने शिष्ट हुने कोसिस गर्छौ । अर्थात अरुको अगाडि राम्रो देखिने कोसिस गर्छौ ।

शिष्टचार अरुको अगाडि प्रदर्शन गर्ने कुरा हो भन्ने हाम्रो मान्यता छ । तर, शिष्टता, सभ्यता भन्ने कुरालाई हामीले आफ्नो स्वभाव बनाउनुपर्छ । तब मात्र हामीले प्रदर्शन गर्ने शिष्टचार स्वभाविक देखिन्छ । प्राकृतिक देखिन्छ । यदि अरुको सामुन्ने मात्र आफुलाई शिष्ट देखाउने प्रयास गरिन्छ भने त्यो नाटकिय लाग्छ । बनावटी लाग्छ ।

त्यसैले शिष्टतालाई हामीले आफ्नो स्वभावमा घुलनसिल गर्नुपर्छ ।

हामी जति घरबाहिर शिष्टचार पालना गर्छौ, घरभित्र पनि त्यसको पालना गर्नुपर्छ । ठूलाबडा, मान्यगन्य, भलाद्मी आदिको अघिल्तिर हामी जति सतर्क र सचेत ढंगले कुनैपनि कुरा गर्छौं, घरभित्र पनि त्यसलाई कायम राख्नुपर्छ । अन्याथा हामी ढोंगी हुनेछौ । नौटकीं हुनेछौ ।

दम्पतिबीच पनि आवश्यक छ शिष्टता

अरुको अगाडि त हामी शिष्ट बन्ने प्रयास गर्छौ तर आफ्नै श्रीमान् वा श्रीमतीको अगाडि शिष्टचार पालना गर्दैनौ ।

भन्नलाई त के भनिन्छ भने, श्रीमान् र श्रीमतीबीच सबै कुरा उदांगो हुनुपर्छ । पारदर्शी हुनुपर्छ । केही कुरा लुक्नु हुँदैन । अर्थात स्वभाव, प्रवृत्ति, बानी व्यवहार पनि सक्कली हुनुपर्छ । नाटकिय हुनुहुँदैन । त्यही कारण हामी श्रीमती वा श्रीमानको सामुन्ने आफु जस्तो छौ, त्यस्तै रुपमा पेश हुन्छौ । कुनै ढोंग गर्दैनौ ।

जबकी शिष्ट बन्नु कुनै ढोंग होइन । श्रीमती वा श्रीमानको अगाडि पनि शिष्टचार पालना गर्नु कुनै बनावटी काम होइन । तर, त्यसलाई तपाईंले आफ्नो स्वभावको रुपमा विकास गर्नुभयो भने ।

दम्पतीबीच ख्यालठट्टा हुन्छ । नोकझोंक हुन्छ । मनमुटाव हुन्छ । झै-झगडा हुन्छ । यी स्वभाविक क्रिया हुन् । जब दुई अलग व्यक्ति एकाकार भएर अगाडि बढ्नुछ भने त्यसमा केही घर्षण त आवश्यक हुन्छ नै । त्यसैले श्रीमान् श्रीमतीबीच हुने नोकझोंक, मनमुटाव, झगडा वा ख्यालठट्टा, रमाइलो स्वभाविक हो । यद्यपी यति हुँदाहुँदैपनि दुबैले आफ्नो शिष्टतालाई भने भुल्नु हुँदैन ।

प्रेम र विश्वासको सम्बन्ध हो, दम्पत्य जीवन । यो सम्बन्धलाई कसिलो बनाइराख्नका लागि आपसी सम्मान र शिष्टचार पनि जरुरी छ । आसपी सम्मान र संवादमा शालीनता, सहजता र शिष्टता खाँचो हुन्छ ।

ख्यालठट्टा, नोकझोंकले श्रीमान्-श्रीमतीलाई थप नजिक ल्याउँछ । यो सत्य हो । यद्यपी यससँगै दाम्पत्य सम्बन्धमा शिष्टचार पनि जरुरी छ । यदि त्यसो भएन भने दाम्पत्य सम्बन्धमा आस्था र सम्मानको संकट पर्छ ।

आफ्ना पार्टनरप्रति गरिने व्यवहार, बोलिने भाषा सालिन हुनुपर्छ । सभ्य हुनुपर्छ । एउटाले अर्कोको कुरा वा भावनालाई सम्मान गर्नुपर्छ । दुबैले एकअर्काको भाषा बुझ्नुपर्छ । यसले दम्पतीको सम्बन्ध बलियो र सुमधुर हुन्छ ।

श्रीमान श्रीमतीले एकअर्काप्रति दर्शाउने शिष्टचारले परिवारको माहौल पनि बद्लिन्छ । परिवारका अन्य सदस्य एवं छोराछोरीले समेत शिष्टचारलाई आफ्नो स्वभावको रुपमा विकास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment