Comments Add Comment

दिपकराजको गुनासो–‘झुर फिल्म’ भन्दा चित्त दुख्छ’

सामाजिक संजालमा सर्वाधिक धेरै गाली खाने कलाकारमा पर्छन्, दिपकराज गिरी । दिपकराज गिरीले ‘गुड मर्निङ’ भनेर मात्र लेखे भनेपनि उनको स्टाटसमा गालीको बर्षात हुन्छ । दिपकराजले सामाजिक संजालमा यसरी धेरै खाली खान थालेको ‘छक्का पन्जा २’ युटुबमा रिलिज नगरेपछि हो । उनले जे लेखेपनि कमेन्टमा ‘छक्का पन्जा २’ कहिले रिलिज हुन्छ भनेर प्रश्न सोध्ने र गाली बर्षाउने उत्तीकै छन् । उनै, दिपकसँग अनलाइनखबरले ‘गाली संवाद’ गरेको छः

१. तपाइले जे लेखेपनि यति धेरै गाली किन आउँछ ?
मेरो सत्य जे हो त्यही बोल्ने बानी छ । कतिपय मानिसहरुले यही कुरालाई रणनीतिक भाषामा लेख्छन्, म सिधै लेख्छु । यसैले गाली मिश्रित आउँछ । अर्को कुरा, धेरै मानिसमा ‘छक्का पन्जा २’ युटुबमा नहालेको रिस छ । त्यो रिस पोख्नका लागि मैले जे लेखेपनि गाली गर्नुहुन्छ ।

२. तपाई समाचार नै आउँछ भन्ने लोभमा विवादस्पद स्टाटस लेख्नुहुन्छ हो ?
त्यस्तो होइन । म कुनै पनि कुरालाई फरक ढंगले फेसबुकमा लेख्छु । समसामयिक कुरामा फरक तरिकाले लेखेपछि समाचार बन्नु स्वभाविक नै हो । पहिले पहिले पनि मैले लेख्थेँ । पहिले कमेडियन भएकाले धेरैले कमेडीको रुपमा नै हेर्नुहुन्थ्यो । अहिले चलचित्रकर्मी भएकाले पनि धेरैले धेरै नजरबाट हेर्नुहुन्छ ।

३. गाली पढ्दा मनमा के कुरा उब्जन्छ ? दुख लाग्छ कि सामान्य रुपमा हेर्नुहुन्छ ?
मलाई सबैले मान्नैपर्छ भन्ने छैन । कतिपय अवस्थामा मानिसहरुले गाली गर्दा म आत्मासाथ पनि गर्छु । अहिले त मेरो छाला नै गैडाको जस्तो भैसक्यो । प्रतिक्रियाहरुमा तथानाम गाली गर्दा पनि सामान्य रुपमा हेुर्छ । तर, सामाजिक संजालमा प्रशंसा गरेको आधारमा मात्र पनि चलचित्र चल्छ भन्ने त होइन रहेछ । मेरो पछिल्ला ४ चलचित्रले १० करोडको आँकडा पार गरेका छन् । दिपकराजले बनाएको वा खेलेको चलचित्रमा केही हुन्छ भनेर नै दर्शक आउनु भएको छ । मलाई गाली गर्नेहरुमा अनमोल केसी, प्रदिप खड्का, पल शाहका फ्यानहरु पनि छन् । जो, मेरो कारणले उनीहरुको मनपर्ने नायक नम्बर १ हुन सकेनन्, वा मैले उनीहरुलाई जिते भन्ने सोच राख्छन् र मलाई गाली गर्छन् ।

४. तपाई किन अधिकांश नकारात्मक प्रतिक्रियामा रिप्लाई गर्नुहुन्छ ?
मलाई कतिपय प्रतिक्रियाहरु अर्थपूर्ण लाग्छन् र म त्यहाँ प्रतिक्रिया दिन्छु । तर, सबै प्रतिक्रियामा मैले दिएको छैन । मलाई प्रतिक्रिया दिन आवश्यक लाग्यो भने मात्र दिने हो ।

५. सामाजिक संजालमा गाली धेरै आउँदा परिवारका सदस्यहरुले केही भन्नु हुन्न ?
मलाई मेरी छोरीले भने गाली गर्छिन् । किन, जे कुरामा पनि स्टाटस लेख्नुपर्छ भनेर भन्छिन् । तर, मलाई मनमा लागेको सत्य कुरा लेख्न म डराउन्नँ । मलाई त के लाग्छ भने, दिपकराज छुच्चो थियो तर सत्य कुरा बोल्थ्यो भनेर भोली पनि मानिसहरुले संझिन आवश्यक छ ।

६. कस्तो बेलामा गाली आउँदा डर लाग्छ ?
मैले गल्ती गरेको बेलामा गाली आयो भने मलाई डर लाग्छ । जस्तो मैले केही दिन अगाडि सलमान खानको फिल्म किन बुधबार नै रिलिज गर्ने भनेर स्टासट लेखेँ । त्यो बेलामा सलमानका फ्यानहरुले फ्यान क्लबको पेजमै गाली गरे । यो बेलामा मैले नबोलेको भए पनि हुन्थ्यो कि जस्तो लागेको थियो । तर, हामीले नबोले कसले बोल्छ भनेर मैले बोलेको थिएँ ।

७. कस्ता गाली नमिठो लाग्छन् ?
मलाई ‘झुर सिनेमा बनाउँछ’ भनेर कमेन्ट गाउँदा साह्रै नै नमज्जा लाग्छ । झुर सिनेमाले एक सय दिन मनाउँदैन । २० करोड कमाउन चलचित्रमा केही न केही हुनुपर्छ । मान्छेले एक पटक विश्वास गर्छ तर झुर चलचित्रलाई बारम्बार विश्वास गर्दैन । यसैले, यो शब्द प्रयोग गरेर खाली गर्दा नमिठो लाग्छ ।

प्रस्तुतिः विजय ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment