Comments Add Comment

मजदुर-व्यवस्थापन विवादले होटल हायात ४ दिनदेखि बन्द

१ असार, काठमाडौं । सेवा सुविधा कटौती गरिएको भन्दै कार्यरत मजदुरले आन्दोलन थालेपछि पाँच तारे होटल हायातको सेवा ठप्प भएको छ । चार दिनदेखि होटल बन्द भएपछि त्यहाँका पाहुनालाई अन्यत्रै सारिएको होटल व्यवस्थापनले जनाएको छ ।

आन्दोलनका कारण होटलका सबै बुकिङसमेत रद्ध गरिएको होटलका जनसम्पर्क अधिकृत गोविन्दराम परियारले बताए । हायातका पाहुनालाई याक एण्ड यती होटलमा राखिएको छ । परियारका अनुसार सेवा बन्द हुनुको कारणबारे होटलले चाँडै सार्वजनिक जानकारी गराउँदै छ ।

होटल व्यवस्थापनले एकलौटी रुपमा कर्मचारीको सेवा सुविधा कटौती गर्न थालेपछि आन्दोलन गर्न बाध्य बनेको अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघ हायात होटलका अध्यक्ष मुक्ति दाहालले बताए । दाहालका अनुसार नेपाली कामदारहरु होटलबाट निकाल्ने डिजाईनमा श्रमिकको बिमा, सञ्चित बिदा, बिरामी बिदा बापतको रकम, तथा तालिमका अवसरहरु कटौती भएपछि आन्दोलन थालिएको हो ।

श्रमिकको आवास कोषमा जम्मा भएको १७ करोड रुपैयाँमध्ये १५ करोड होटल व्यवस्थापनले अपचलन गरेको दाहालको दावी छ । नेपाली श्रमिकलाई निरुत्साहित गर्न खाना, पानी र पोशाक सुबिधासमेत हटाइएको उनले बताए । होटलका मालिक अरुण सर्राफले नियुक्त गरेका ५/६ जना भारतीयले काम गर्ने वातावरण नै बिगारेको उनको जिकिर छ ।

होटलका चार सय मजदुरमध्ये २३० जना आन्दोलनमा रहेको र बाँकी कर्मचारी कार्यालय आए पनि काम नगरेको दाहालको भनाई छ । हायातलाई घाटामा देखाउन आन्दोलन गर्न बाध्य बनाइएको र यहाँको पाहुनालाई शराफको आफ्नै होटल यक एण्ड यतीमा राखेर व्यक्तिगत लाभ लिन नाटक गरिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment