Comments Add Comment

प्रदेश १ को बजेट मुस्कान हैन, रोदन : कांग्रेस

उद्योगी व्यवसायी भन्छन्– कार्यान्वयनमा शंका छ

२ असार, बिराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आइतबार प्रदेश सभामा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरे । सरकारले ल्याएको बजेटलाई विपक्षी नेपाली कांग्रेसले कडा विरोध गरेको छ भने बिराटनगरका उद्योगी व्यवसायीहरुले कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।

प्रदेश १ सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिएको विपक्षी दल नेपाली कांग्रेसको आरोप छ । यो बजेट पढ्न र ताली बजाउनका लागि मात्रै सीमित बन्ने प्रमुख विपक्षी कांग्रेसका संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए ।

प्रदेश सरकारको बजेट कार्यकर्ता पोस्नेखालको रहेको कार्कीको आरोप छ । ‘सरकारले ल्याएको बजेटमा समावेश कार्यक्रमहरु कार्यकर्ता पोस्ने खालका देखिन्छन्’ कार्की भन्छन,‘उद्देश्यविहीन बजेटले प्रदेशलाई संस्थागत गर्ने भन्दा पनि बजेटको नाम दिएर पढ्न र ताली बजाउनबाहेक उपलब्धी छैन ।’

केदार कार्की

चालु आर्थिक बर्षको बजेट कति प्रतिशत खर्च भयो भन्ने प्रश्नसमेत कार्कीले उठाएका छन् । उनी भन्छन्, ‘प्रदेश सरकारले सबैको मुखमा मुस्कान भनेको छ । तर, पुँजीगत बजेट नै खर्च गर्न नसक्दा मुस्कान होइन, रोदन भएको छ ।’

कार्यान्वय हुनेमा उद्योगी, व्यावसायीको आशंका

प्रदेश सरकारले कृृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै बजेट ल्याएको हुनाले यो बजेट समग्ररुपमा राम्रो भए पनि कार्यान्वयमा जोड दिनुपर्ने विराटनगरका उद्योगी व्यवसायीहरुको धारणा छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रलाई समेटिए पनि यसको कार्यान्वयनप्रति भने शंका गरे ।

‘चालु आर्थिक बर्षको जेठ मसान्तसम्मको पुँजीगत खर्च २९ प्रतिशत मात्रै रहेको अबस्थामा सरकारले बजेट ल्याएको छ’ घिमिरे भन्छन, ‘यस्तो अवस्थामा बजेट पूर्ण कार्यान्वयन हुनेमा आशंका छ । तर, कार्यान्वयन पक्ष दर्बिलो भए राम्रो कुराको शुरुवात हुनेछ ।’

मोरङ व्यापार संघका पूर्वअध्यक्ष एवं उद्योगी पवन सारडाले प्रदेश सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न सफल भएको बताए ।

उनले सबै क्षेत्रलाई खुसी पार्ने गरी बजेट छरिएकाले यो बजेट पूर्ण कार्यान्वय भए प्रदेशको मुहार फेर्न गाह्रो नहुने बताए । उनले बजेट कार्यान्वयमा भने सरकार चनाखो भएर लाग्नुपर्ने बताए ।

कस्तो छ प्रदेश १ को बजेट ?

प्रदेश १ सरकारले मुख्यमन्त्रीसँग जोडेर केही पुरानै र केही नयाँ कार्यक्रम समेट्दै ४२ अर्बको बजेट ल्याएको छ । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ ।

बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आगामी बर्षका लागि पनि रकम विनियोजन भएको छ ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्म प्रदेश सरकारले पूर्जीगत खर्च २९ दशमलव ४० प्रतिशत मात्र खर्च गर्न सकेको छ । पहिलो आर्थिक बर्षको बजेटभन्दा ७ अर्ब रुपैयाँँ बृद्धी गरी प्रदेश सरकारले बजेट ल्याएको हो । प्रदेश सरकारले पहिलो बर्ष ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यो पनि पढ्नुहोस सात प्रदेशको बजेट : सातथरी नारा, दशथरी वितरण

विनियोजित बजेटअनुसार कृषि, पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रका लागि १ अर्ब ६६ करोड, वन तथा वातावरणका लागि १ अर्ब २० करोड बजेट छुट्याइएको छ ।

यस्तै उद्योग वाणिज्य, आपूर्ति क्षेत्रको विकासका लागि ४७ करोड, सिंचाई व्यवस्था तथा नदी नियन्त्रणका लागि ३ अर्ब २० करोड र समग्र शिक्षा क्षेत्रका लागि १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाइका लागि ३ अर्ब, खेलकुदका लागि ४७ करोड ५५ लाख र सडक पुलमा ८ अर्ब विनियोजन गरिएको छ ।

आवास भवन तथा सहरी विकासका लागि ३ अर्ब र कृषि क्षेत्रको उत्पादन प्रशोधन, भण्डारण एवं बजारीकरणका लागि २० करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले प्रदेश सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिएको छ । चालु आर्थिक वर्षमा समानुपातिक तर्फका सदस्यहरुलाई यस्तो रकम नदिँदा विभेद भएको भन्दै बिरोध भएको थियो ।

आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई २ करोड ५० लाखको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि समावेश गरेको छ । चालु आर्थिक वर्षकालागि प्रत्यक्ष तर्फका ५६ जना प्रदेश सभा सदस्यले २ करोडका दरले यस्तो रकम प्राप्त गरेका थिए ।

प्रदेश १ सरकारको बजेटमा बहुवर्षीय आयोजनाहरु प्राथमिकतामा छन् । प्रदेश गौरवका रुपमा सरकारले झापाको केचनाकवलदेखि सगरमाथासम्मको सडकलाई विशेष प्राथमिकतामा राखेर चालु आर्थिक वर्षभित्रै डीपीआर गर्ने बताएको छ ।

त्यस्तै, झोलुंगे पुल, चतरादेखि तुम्लिङटारसम्म जलमार्ग, पर्यापर्टनको विकास, मध्यपहाडी लोकमार्गमा स्थापना हुने नयाँ सहरमा मानव बसोबासका लागि आधार तयार गर्ने, रोजगारी सिर्जना तथा औद्योगिक विकासमा जोड दिइने बजेटमा उल्लेख छ ।

सुनसरीको कोशीमा रिफ्रेसमेन्ट सेन्टर, विराटनगर विमानस्थलको स्तरोन्नति, वीपी कोइराला, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताको स्मृति पार्क निर्माण गर्ने जनाइएको छ ।

भेडेटार हुँदै रवि राँकेको सिद्धिथुम्कासम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गर्दै हरित कार्यक्रम लागु गर्न बजेट विनियोजन गरिएको छ ।
यो पनि पढ्नुहोस प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment