Comments Add Comment

फुटबलरको पीडा : घाइते भएपछि न तलव, न उपचार खर्च

२ असार, काठमाडौं । करिब ५ वर्षपछि ए डिभिजन लिग सुरु हुने भएपछि जावलाखेल युथ क्लब प्रतियोगिताको तयारीमा होमियो ।

जावलाखेलबाटै फुटबल खेल्दै आएका समिर विष्ट पनिसँग ६ महिनाका लागि जोडिए ।

ए डिभिजन लिगको तयारीको लागि भनेर जावलाखेल युथ क्लब कास्कीमा प्रतियोगिता खेल्न गएको थियो । खेलकै दौडमा डिफेन्डर विष्टको देब्रे खुटामा गम्भिर चोट लाग्यो । उनी टिमसहित काठमाडौं फर्किए । त्यसपछि उनले ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा चेकअप गराए ।

खुट्टा नचल्ने र समस्या बढ्दै गएपछि सबैको सल्लाह बमोजिम ग्रान्डी अस्पतालमा भर्ना भए र अप्रेसन गराए ।

पहिलो चरणको अप्रेसनमै ३ लाख बढी सकिएको उनले बताए । अझै उनको दोस्रो चरणको अप्रेसन बाँकी नै छ । तर पहिलो चरणको उपचार खर्च आफैंले ब्यहोर्नु परेपछि समिर अहिले आर्थिक समस्यामा परेका छन् ।

‘ग्रान्डीमा करिब एक हप्ता बसेँ । अप्रेसनमा मात्रै ३ लाख सकियो । त्यसपछि फिजियो गर्नुपर्ने रहेछ । अहिले पनि गर्दैछु । फिजियोमा पनि दिनको सात सय गइरहेको छ,’ समिरले भने ।

क्लबले सहयोग भनेर एक लाख दिएको छ । बीमाबाट ५० हजार मात्रै पाए । क्लबको लागि खेल्दा घाइते भएको तर, उपचार आफैंले गर्नुपर्दा पीडित बनेको उनी बताउँछन् । ‘सुरुमा सहयोग गर्ने भनेको थियोतर समयसँगै बोली परिवर्तन भयो । अझै घुँडाको अप्रेसन गर्नुछ । यसको पनि ३ लाख जति नै पर्छ,’ उनी भन्छन्, ‘क्लबले अब सहयोग गर्न सक्दैनौं, त्यो एक लाखले नै मिलाउ भन्छ ।’

६ महिनाका लागि सम्झौता भएको पहिलो महिनामै घाइते भएका उनले अरु महिनाको तलब समेत पाएनन् ।

क्लबका अध्यक्ष ठूलोभाई केसीले भने समिरले एक महिना मात्रै खेलेकाले बाँकी अवधिको तलव नदिएको अनलाइनखबरलाई बताए ।

उनले आफू अन्यायमा परेको भन्दै एन्फामा उजुरी पनि दिएका थिए । तर एन्फाले खासै चासो दिएन । समिर भन्छन्, ‘अनुसाशन समितिमा कुरा गर्नु भन्नुभएको थियो तर त्यहाँ सबैजना पन्छिनुभयो ।’

अनलाइनखबरको कार्यालयसम्म आइपुगेका समिर उपचारको आधा मात्रै भए पनि खर्च बेहोरिदिन क्लबलाई आग्रह गर्छन् । ‘क्लवले अबको अप्रेसनको ५० प्रतिशत खर्च व्यहोरिदिए ठूलो राहत हुन्थ्यो,’ उनले भने ।

जावलाखेल क्लबका अध्यक्ष केसी भने समिरले आफूहरुले भनेको भन्दा अर्को अस्पतालमा उपचार गर्न गएपछि विवाद भएको बताउँछन् । उनले भने, ‘क्लबको पनि नियम हुन्छ । पहिले हाम्रो भाइहरुले पाटनका डाक्टरहरुसँग कुरा गरिरहेको थियो । तर उ चाहिँ आफ्नै हिसाबले ग्रान्डी गयो ।’

समिर र क्लबबीच भएको सम्झौतामा ‘घाइते भएमा क्लबको कार्यसमितिले निर्णय गरेबमोजिम गर्ने’ उल्लेख छ ।

मानवीय र नैतिक पक्षबाट हेर्दा कुनै पनि क्लवले आफ्ना खेलाडी घाइते हुँदा उपचार खर्च व्यहोर्नु नै पर्ने हो । तर, नयाँ र संघर्षशील खेलाडीहरुको भने क्लबले यस्तो जिम्मेवारी बहन गर्न तयार हुँदैनन् ।
केही समय अगाडि थ्रीस्टारका विक्रम लामा घाइते हुँदा उनको १३ लाख रुपैयाँ उपचार खर्च सो क्लवले व्यहोरेको थियो । यस्तै रवीन श्रेष्ठ घाइते

हुँदा पुलिस क्लवले सबै उपचार खर्च व्यहोरेको थियो ।

अन्तर्राष्ट्रिय अभ्यासमा पनि कुनै फुटबलर क्लवका लागि खेल्दा घाइते भएको छ भने क्लवले नै उसको उपचार गराउनुपर्छ । यद्यपि, यदि राष्ट्रिय टिमका लागि खेल्दा घाइते भएको हो भने क्लबले जिम्मेवारी लिँदैन ।

एन्फासँग क्लबबाट खेल्ने खेलाडीको चोटबारे स्पष्ट नीति छैन । एन्फाका प्रवक्ता किरण राई भन्छन्, खर्च कसले ब्यहोर्ने भन्ने कुरा अब क्लब र उबीचमा भएको सम्झौतामा भर पर्छ । एन्फाले त सहयोग गर्नु भन्ने मात्रै हो । अब एन्फाले खेलाडी सबै खेलाडीको विमा योजना ल्याउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment