Comments Add Comment

सुन कारोबारीमाथि १ अर्ब ६६ करोडको मुद्दा

६ महिनामा १५६ किलो सुनको अवैध कारोबार !

२ असार, काठमाडौं । राजस्व अनुसन्धान विभागले १५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा दुई जना दाजुभाइविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ ।

रौटहत, गौर नगरपालिकाका अनुकेश साह र विजयकुमार साहले चोरीपैठारी गरी ल्याएको उक्त परिमाणको सुनको कारोबार गरेको विभागको भनाई छ । विभागले अनुकेशको साथबाट ९९९ ग्राम, ८२० मिलिग्राम सुन बरामद गरेको थियो ।

विभागले कारोबार भएको र बरामद सुनको मूल्य ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँ कायम गरी ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको राजस्व चुहावट भएको ठहर्‍याएको छ । यस्तै, ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको विदेशी विनिमय अपचलनको आरोपमा कूल १ अर्ब ६६ करोड २० लाख ९५ हजार रुपैयाँ विगो दावी गरिएको हो ।

उनीहरुविरुद्ध गत जेठ ३१ मा जिल्ला अदालत रौटहतमा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

साह दाजुभाइमध्ये दाजु विजकुमार साहको नाममा दर्ता भएको सुन पसल छेमामाई ज्वेलर्सबाट उक्त परिमाणको सुनको कारोबार भएको विभागले जानकारी दिएको छ । सुनसहित भाई अनुकेश पक्राउ परे पनि दाई विजयकुमार भने फरार रहेको महानिर्देशक मैनालीले जानकारी दिए ।

विभागका अनुसार गत वैशाख २० मा अनुकेशकुमार साह ९९९ ग्राम, ८२० मिलिग्राम सुनसहित पक्राउ परेका थिए । उनको साथबाट बरामद मोवाइलको डाटा डाउनलोड गरी हेर्दा १ सय ७५ थान सुनको कारोबारको हिसाव प्राप्त भयो । उनले विजकुमारको नाममा दर्ता भएको सुन पसल छेमामाई ज्वेलर्सबाट सुनको कारोबार गरेका हुन् ।

दाजुको नाममा दर्ता सुन पसलबाट १ सय ५६ किलो सुनको अवैध कारोबार भएको विभागले जानकारी दिएको छ । उनीहरुले ८२ करोड ५९ लाख ९० हजार रुपैयाँको सुन कारोबार गरिसकेको र बरामद भएको सुनको ५० लाख ५७ हजार ६ सय ८९ को समेत कूल मूल्य जोड्दा हुने ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको कारोबार अबैध देखिएको विभागले जानकारी दिएको छ ।

कहाँबाट आयो सुन ?

पक्राउ परेका साह र उनका दाजुले सुन कारोबारको बिल पेश गर्न नसकेको र स्रोत पनि उल्लेख नगरेपछि अवैध कारोबार भएको निष्कर्षमा विभाग पुगेको हो ।

‘सुन कहाबाट ल्याएको भन्ने साहले अहिलेसम्म खुलाएका छैनन्,’ महानिर्देशक मैनालीले भने, ‘कारोबारको हिसाव देखाउन नसकेपछि हामी अबैध कारोबारको निष्कर्षमा पुगेका हौं ।’ नेपालमा चीन, हङकङ र खाडी मुलुकबाट बढी अवधै सुन भित्रिरहेको भन्दै उनले साह दाजुभाइको स्रोत भने नखुलेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment