+
+
Shares

सातै प्रदेशका डीआईजीसँग गृहमन्त्रीले भने–तस्करीको रुट खुलेको सुनिन्छ, सचेत हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १३:०३
Photo Credit : किरण भट्टराई/गृहमन्त्रीको सचिवालय

३ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नयाँ प्रदेश प्रमुखका रुपमा जान लागेका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई बादलले विप्लव समूहसहित विखण्डनवादीको गतिविधि पनि निगरानीमा राख्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘राजावादी र विखण्डनवादीका गतिविधि पनि निगरानीमा राख्नू ।’

बैठकमा सहभागी एक अधिकारीका अनुसार बादलले प्रहरी प्रमुखहरुलाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।

‘प्रतिपक्षले साना विषय पनि उचालिरहेको छन्, सचेततापूर्वक काम गर्नू’, बादलले भनेका छन्, ‘आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने महसुस गरेर काम गर्नू ।’

बादलले प्रदेश अनुसार फरकफरक समस्या र विशिष्टता रहेको उल्लेख गर्दै सोही अनुसार काम गर्न पनि निर्देशन दिए ।

उनले तस्करीको नयाँ रुट खुलेको सुनिएको बताउँदै भने, ‘कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गर्छन् । सचेत रहनुस् ।’

तीन दिनअघि प्रदेश १ मा ठाकुरप्रसाद ज्ञवाली, २ मा प्रद्युम्न कार्की, ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद शर्मा घिमिरे, ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?