Comments Add Comment

साइकल, शहर र स्वास्थ्यः मेरो कारणले वायु दुषित नहोस्

‘साइकल र्‍याली गर्ने, आफु चाहि कहिल्यै साइकल नचढ्ने ?’

ख्यालठट्टैमा पुष्कर शाहले यसो भनेपछि मेरो मुड र मोड बद्लियो । चिनाइरहनु नपर्ला, पुष्कर शाह विश्व साइकल यात्री हुन् । साइकलको पैडल घुमाएरै उनले विश्वको फन्को लगाएका छन् ।

त्यसबेला हामी साइकल संस्कारलाई टेवा पुग्नेगरी सानोतिनो अभियानमा जुटेका थियौ । त्यसै अनुरुप ‘राइड टु सिन्धुलीगढी’ शीर्षकमा एउटा साइकल र्‍याली गरिसकेका थियौ । एउटै तीरले दुई शिकार भने झै एउटै तीरले तीन शिकार गर्ने हाम्रो खाका थियो । एक त पयर्टन प्रवर्द्धन, अर्को साइकल संस्कृति र तेस्रो चाहि स्वास्थ्य ।

पहिलो बर्ष काठमाडौंबाट सिन्धुली हुँदै जनकपुरसम्मको साइकल र्‍याली पुरा गरियो । दोस्रो पटक यसैको मेलोमेसो मिलाइरहँदा पुष्कर शाहले ममाथि ठट्यौली कटाक्ष गरेका थिए । त्यसपछि बल्ल मेरो साइकलसँग नाता जोडियो । म साइकल यात्री भएँ ।

वातावरणमैत्री जीवन

सुरुमा म हिँड्थे । किन हिँड्थे भने म प्रकृतिसँग नजिक हुन खोज्छु । मलाई प्रकृतिसँग लय मिलाउन रुची लाग्छ । प्रकृति एवं पर्यावरणसँग एक किसिमको लगाव छ ।

हिँड्न संभव नभए सार्वजनिक यातायात प्रयोग गर्थें, अहिले पनि गर्छु । पछि म मझौला दुरीको यात्रामा साइकल चढ्न थालें । जहाँ पैदल हिँड्न संभव हुँदैन र सार्वजनिक यातायात चढ्नुपर्ने वाध्यता पनि रहँदैन, त्यहाँ म साइकल चढ्न थालें ।

सकेसम्म जीवनलाई वातावरणमैत्री बनाउने मेरो ध्येय हो । प्रकृतिसँग एकाकार हुने चाह हो ।

साइकल र स्वास्थ्य

साइकलमा यात्रा गर्नुको अनेक फाइदा छन् भनेर त मैले दोहोर्‍याइरहनु पर्दैन । म आफैले अनुभूत गरेको कुरा के भने, साइकलमा यात्रा गर्दा शरीर अरु गतिशिल हुन्छ । चलयमान हुन्छ । फुर्तिलो र तन्दुरुस्त हुन्छ । साइक्लिङ आफैमा यस्तो व्यायाम हो, जसले शरीरलाई समूचित ढंगले सक्रिय र स्वस्थ्य राख्छ ।

अब अलि फराकिलो ढंगले हेर्ने हो भने, मेरो यात्राले न प्रदूषण फैलाउन सहयोग गरेको छ, न कोलाहाल । न मेरो शरीरले अतिरिक्त औषधी खपत गर्नुपरेको छ । किनभने म साइकलमा यात्रा गर्छु ।

मेरो कारणले पर्यावरण र जैविक विविधतामा कुनै हानी नोक्सानी पुगेको छैन । एउटा मानवको हिसाबले म यसलाई आफ्नो दायित्व ठान्छु ।

साइकल र शहर

काठमाडौं, जो एशियाकै प्रदूषित शहरमध्येमा पर्छ । सर्बियास्थित अनुसन्धानमुलक वेबसाइट ‘नुम्बियोडटकम’ले प्रकाशित गरेको प्रदूषण सूचांकमा काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर भनिएको छ ।

यो कचौरा आकारको खाल्डो छ । त्यसमाथि मोटर गाडी र कलकारखानाको धुँवा, धूलो आदिले यहाँको वायुलाई विषाक्त बनाएको छ । यही वायुमा हामी र हाम्रा सन्ततीले सास फेर्नुछ भन्ने बोध मात्र भइदिने हो भने धेरैले मोटर गाडीको औचित्यमाथि एकपटक प्रश्न गर्नेछन् । किनभने हामीमध्ये धेरैजसोलाई यो एक आदत भएको छ, आवश्यक्ता होइन । हामी सुविधाभोगी जीवन बाँच्दैछौ ।

मनन गर्नुपर्ने कुरा के भने, काठमाडौंको एक छेउदेखि अर्को छेउ पुग्न त्यती समय लाग्दैन । पैदल हिँडेरै पनि छिचोल्न सकिन्छ । साइकलमा फन्को लगाउन सकिन्छ ।

साइकल छ भने आफ्नै मर्जी अनुसार यात्रा गर्न सकिन्छ । जहाँ पुग्न सकिन्छ, जतिबेला पुग्न सकिन्छ । सार्वजनिक यातायातमा जस्तो कोचिनु पर्दैन । न त समय वर्वाद हुन्छ ।

साइकल सिटीको परिकल्पना

म भन्ने गर्छु, अलि लामो यात्रा गर्नुछ भने सार्वजनिक यातायात प्रयोग गरौं । जस्तो बनेपाबाट काठमाडौं आउने हो भने सार्वजनिक यातायातमा साइकल लिएर आउनुहोस् । अनि काठमाडौंमा आफ्नो नियमित दैनिकीका लागि साइकल प्रयोग गर्नुहोस् । यदि छोटो दुरी छ भने पैदल नै हिँडौं ।

काठमाडौं जस्ता शहरलाई साइकल सिटीको रुपमा विकास गर्नुपर्छ । साइकल सिटी भनेको फेसनको रुपमा होइन । बरु साइकल, पैदल र सार्वजनिक यातायातवीच एक किसिमको सामञ्जस्य मिलाउनुपर्छ, सहकार्य हुनुपर्छ । सार्वजनिक यातायातमा पनि साइकल राख्न सकिने व्यवस्था हुनुपर्छ ।

यससँगै पूर्वाधारको विकास अनिवार्य आवश्यक्ता हो । राजधानीमै ५ लेन ६ लेनको बाटो छ । यत्तिका फराकिलो बाटोमा साइकल कुदाउने ट्र्याक छैन । शहरी क्षेत्रमा साइकल ट्र्याक बनाउनुपर्छ । साइकल पार्किङ गर्ने व्यवस्था हुनुपर्छ ।

। विभिन्न शहरले जस्तो सुर्खेतको विरेन्द्रनगरले आफुलाई साइकल सिटीको रुपमा विकास गर्ने भन्ने कुरा आएको छ । पाटनमा पनि साइकल लेन बनाउने भन्ने छ । राजविराज, धनगढी, विराटनगर, चितवन साइकल मैत्री छन् । तर, त्यसलाई अरु बढी प्रवर्द्धन गर्न सक्नुपर्छ ।

साइकल संस्कृति

म आफु साइकलसँग जोडिएपछि अनुभव गरेको कुरा हो, शहरमा साइक्लिङ कल्चर बढ्दै गएको छ ।  साइकल र्‍याली गर्ने, सप्ताहन्तमा माउन्टेन

वाइकिङ गर्ने ट्रेन्ड छ । यससँगै साइकलमा यात्रा गर्नेहरुको संख्या पनि बढेको जस्तो महसुष गरेको छु ।

साइकल संस्कृति भनेको साइकल रुट बनाउनु वा साइकलका लागि पूर्वाधार निर्माण गर्नु मात्र होइन । खासमा त यसलाई तपाईं कसरी डिजाइन गर्नुहुन्छ भन्ने कुरा मूख्य हो । साइकल लेनले मात्र हुँदैन, साइकल राख्ने स्ट्यान्ड हुनुपर्‍यो, साइकल आयत गर्दा लाग्ने करमा छुट हुनुपर्‍यो, सहुलियत हुनुपर्‍यो, त्यस किसिमको परिपाटी बढ्यो भने चाहि काठमाडौं लगायत तराईका क्षेत्रमा साइकल संस्कार बढ्नेछ ।

सहरको सौन्दर्य कसरी कायम राख्ने ? प्रदूषण कसरी नियन्त्रण गर्ने ? इन्धन खपत कसरी कम गर्ने ? राज्यको व्यायभार कसरी घटाउने ? स्वस्थ्य र तन्दुरुस्त शरीरका लागि के गर्ने ? यावत् कुराका लागि ठूल-ठूला योजना चाहिन्छ भन्ने छैन । विकासे नारा पनि चाहिँदैन । हामीले आ-आफ्नो ठाउँबाट गर्ने स-सनो प्रयास काफी छ ।

साइकल यात्रा गर्नु वा पैदल यात्रा गर्नु पनि समग्र रुपान्तरणकै एउटा अभ्यास हो । यसले कम्तीमा हाम्रा सन्ततीलाई भोलि विषाक्त वायुको चपेटामा पार्नेछैन ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment