Comments Add Comment

सरकारलाई राप्रपा सांसदको चेतावनी : खाल्डोमा फसेको हेरेर कठै भन्ने दिन नआओस्

सत्ता स्थायी चिज होइन, देख्नुभएन माइतीघरमा ?

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले सरकार आफ्नै कारण खाल्डोमा फस्दै गएको भन्दै बेलैमा सचेत हुन आग्रह गरेका छन् ।

विहीबार प्रतिनिधिसभामा बोल्दै राप्रपा सांसद लिङदेनले विधि र प्रक्रिया मिचेर जथाभावी काम गर्दा सरकार आफैं खाल्डोमा फसेको बर्ता । बेलैमा सचेत नभए आफूहरुले पनि कठै भन्नेबाहेक केही गर्न नसक्ने उनले टिप्पणी गरे ।

सरकार सबै विपक्षी मासेर एकछत्र राज गर्ने योजनासाथ अघि बढेको आरोप लगाउँदै राप्रपा नेता लिङदेनले बुधबार माइतीघर मण्डलाको प्रदर्शन सम्झिन सुझाव दिए ।

‘विपक्षीजति सारा मासेर एकछत्र राज गर्ने योजना तपाईंहरुको, शुभकामना छ’ उनले भने ‘तर राजनीति त्यस्तो हुँदैन, कांग्रेसलाई कमजोर बनाउन सक्नुहोला, राजपालाई कमजोर बनाउन सक्नुहोला, राप्रपालाई कमजोर बनाउन सक्नुहोला । तर, जनतालाई कमजोर बनाउन सकिँदैन भन्ने कुरा हिजो देख्नुभएन ?’

नेता लिङदेनले सत्ता स्थायी चिज होइन भन्ने हेक्का राख्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सचेत गराए । ‘सत्ता शक्ति स्थायी चिज होइन, हिजो कहाँ थियो, आज भएको चिज पनि भोलि कहिल्यै हुँदैन’ उनले भने ‘कल्पना गर्नुभाथ्यो, काठमाडौंको जनता आज नै यत्रो ठूलो संख्यामा कुनै पार्टीले नेतृत्व नगर्दा पनि सत्ताको विरुद्धमा यसरी आउँछन् भनेर ? त्यसकारण सरकार ठीक ढंगले अगाडि बढोस् र गल्ती कमजोरी सच्याओस् ।’

प्रधानमन्त्रीलाई ‘झापाली’ बनाइयो

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै राप्रपाका सांसद लिङदेनले विपक्षी दल र आफ्नै पार्टीको पनि फरक गुटका सांसदको योजना काटेर प्रधानमन्त्री र मन्त्रीले आफ्नो क्षेत्रमा योजना पारेको आरोप लगाए ।

‘तपाईहरुले मज्जा लागेको होला, कांग्रेसको केही ठाउँको योजना काटेर, हाम्रा केही योजना काटेर, आफ्नै पार्टीभित्रका केही साथीहरुको योजना काटिदिएर मौका पाएका बेला सिंहदरबार र बालुवाटारको कोठामा बसेर मनोरन्जन गरिरहनुभएको छ’ लिङदेनले भने ‘जुन खाल्डो खनिरहनुभएको छ नि, त्यो खाल्डोमा पसेको हेरेर हामीसँग पनि कठै भन्ने बाहेक अर्को कुनै औषधी हुँदैन ।’

मन्त्री, कर्मचारी र सत्ताको आसपासका केही मान्छे मिलेर प्रधानमन्त्रीलाई देशको नभई झापाको एउटा निर्वाचन क्षेत्रको प्रधानमन्त्री बनाएको पनि लिङदेनले आरोप लगाए ।

‘सबै मन्त्रीहरु र आसपासका मानिस मिलेर (बजेट) झापा पठाउनुभएको छ । तपाईहरुले देशको प्रधानमन्त्रीलाई निर्वाचन क्षेत्रको प्रधानमन्त्री बनाउन खोज्नुभएको छ’ उनले भने ।

सरकारले मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा छानीछानी बजेट हालेको र कांग्रेस र अरु विपक्षी पार्टीले जितेको क्षेत्रमा कनिका छरेजस्तो बजेट छरेको भन्दै उसले मुलुक समृद्ध नहुने र नेपाली सुखी नहुने बताए ।

‘यो गलत बाटोबाट फर्किनुस्, यसले ठीक ठाउँमा पुर्‍याउँदैन । यस्तो बाटोबाट जुन समृद्धिको कुरा गरेका छौं, सुखी नेपालीको कुरा गरेका छौं, त्यो ठाउँमा पुर्‍याउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment