Comments Add Comment

विश्वकपमा पाकिस्तान : हसन अलिलाई के भयो ?

६ असार, काठमाडौं । २०१७ को च्याम्पियन्स ट्रफीदेखि २०१९ को विश्वकप क्रिकेटसम्म, हसन अलिको क्रिकेट करिकर अनौठो मोडमा देखिएको छ । जारी विश्वकपमा सबैभन्दा आश गरिएका पाकिस्तानी बलर अलिको अवस्था नाजुक किन बनिरहेको छ त ?

गएको आइतबार भारतविरुद्धको खेलमा त अलिको खराब बलिङ पाकिस्तानी क्रिकेट समर्थकलाई झस्काइदिने खालकै रह्यो । ९ ओभर बलिङ गरेका उनले एक विकेट लिएर ८४ रन खर्चिए ।

रन खाएभन्दा पनि उनको बलिङमा देखिएको अनियमित गति र लाइन नै मुख्य कमजोरीको कारण बन्यो । उनको बलिङ कि त असाध्यै सर्ट भइरहेको थियो कि त असाध्यै वाइड । जसलाई भारतीय ब्याट्सम्यान रोहित शर्मा र केएल राहुलले सजिलै यताउती पारिदिए ।

अलिसँगै ओपनिङ बलिङमा रहेका मोहम्मद आमिरले ३ ओभरमा ६ रन मात्रै खर्चिंदा भारतीय ब्याटिङमा सम्हालिने अवसर अलिकै बलिङले मिलेको थियो । उनले सुरुको ३ ओभरमा नै २६ रन खर्चिएका थिए ।

पहिलो फस्ट क्लास क्रिकेटमा नै ५ विकेट, २४ खेलमा ५० विकेट लिएर पाकिस्तानका लागि एकदिवसीयमा सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने खेलाडी, २०१७ को च्याम्पियन्स ट्रफीका गोल्डेन बल विजेता बलर, पाकिस्तानमा इमर्जिङ प्लेयर र आईसीसी इमर्जिङ क्रिकेटर अवार्ड जितेका खेलाडी, २०१७ मा सबैभन्दा धेरै विकेट लिने बलर …। यी सबै कीर्तिमानहरु हेर्ने हो र अहिले विश्वकपमा अलिको बलिङ हेर्ने हो भने यिनी तिनै खेलाडी हुन् त भनेर सबैले प्रश्न गर्छन् ।

च्याम्पियन्स ट्रफीको समयको पाँच खेल र अहिले विश्वकपको पाँच खेलमा तथ्यांकलाई हेर्ने हो भने पनि उनको बलिङको स्तर बोलिरहेको देखिन्छ । च्याम्पियन्स ट्रफीका बेला उनले पाँच खेलमा गरेका ४४.३ ओभर बलिङमा १९१ रन खर्चिएर १३ विकेट लिएका थिए । जसमा इकोनोमी ४.३० को थियो । अहिले विश्वकपमा पाँच खेलमा उनले गरेका ३३ ओभरमा नै २५६ रन खाएका छन् । जसमा दुई विकेट मात्रै लिएका उनको इकोनोमी ७.७५ रहेको छ ।

२०१३ मा फस्ट क्लास क्रिकेटमा डेब्यू गरेको खेलमा नै पाँच विकेट लिएर उनले हल्लिखल्ली मच्चाए सँगै घरेलु क्रिकेटमा हरेक प्रतियोगितामा पनि उनको उपस्थिति बलियो बनिरहेको थियो । त्यसैले नै २०१६ मा पीएसल (पाकिस्तान सुपर लिग) को पहिलो प्रतियोगितामा उनलाई पेशावर जाल्मीले लिएको थियो । जहाँ उनले चार खेलमा आठ विकेट लिएका थिए । त्यसपछि २०१६ कै नेशनल वान डे कपमा उनले १७ विकेट लिएका थिए ।

यही कारण उनी २०१६ को अगस्टमा पाकिस्तानी राष्ट्रिय टिमसम्म पुगेका थिए । त्यसपछि उनी टिमको नियमित खेलाडी छन् । पाकिस्तानले २०१७ मा च्याम्पियन्स ट्रफीको उपाधि जित्नुमा उनको योगदान त अतुलनीय नै थियो । त्यसअघि नै उनले तीनभन्दा बढी विकेट लिएको खेल संख्या नौ पुगिसकेको थियो । जतिबेला उनले २१ एकदिवसीय मात्रै खेलेका थिए । त्यस्तै निरन्तरता च्याम्पियन्स ट्रफीमा पनि भएपछि उनको क्षमता अझ उचाइमा पुग्यो ।

२०१७ मा एकदिवसीयका नम्बर वान बलर बनेका अलिले पाकिस्तानी पूर्व क्रिकेटर वाकर युनिसको कीर्तिमान भंग गर्दै २४ खेलमा ५० विकेट लिएर सर्वाधिक छिटो ५० विकेटको आँकडा पूरा गरेका थिए । त्यति नै बेला वाकरले भनेका थिए, ‘मलाई यो केटो हसन अलि असाध्यै मन पर्छ । उसलाई देख्दा मलाई आफ्नो युवा बेलाको याद आउँछ । उसले गरेका कामले पनि उनलाई उत्कृष्ट हुने बाटोमा लगिरहेको छ ।’

तर उचाइको अपेक्षा गरिरहेकै बेला उनको खेल भने विस्तारै कमजोर बन्न थालेको छ । च्याम्पियन्स ट्रफी जितेपछिका दिनलाई हेर्दै विश्वकपसम्म आइपुग्ने हो भने उनी उही हसन अलि रहेनन् । उनले बलिङको आफ्नो क्षमता बिर्सिसकेका जस्ता देखिन्छन् । विकेटविहीन बनिरहेका छन् । ब्याट्सम्यानलाई झुक्काएर क्रस बलमा तीब्रतासँग खेलाउन सक्ने उनको क्षमता कतै हराइरहेको छ । अप्ठ्यारा बाउन्सर्स र योर्कर्स बलिङ त उनका लागि कथा नै बनिसक्यो जस्तो देखिन्छ ।

उनले एकदिवसीय खेलमा दुई विकेट मात्रै लिएको पनि पछिल्लो पटक नोेभेम्बर २०१८ मा मात्रै हो । २०१६ मा ५.३० को इकोनोमी, २०१७ मा ५.०७ हुँदै २०१८ मा ५.७१ को इकोनोमीमा रहेका उनको २०१९ मा ६.६१ को इकोनोमी पुगिसकेको छ । त्यसमा घट्दै गएको विकेट संख्या त झनै भयानक छ ।

यसैले त विश्वकपमा २६ वर्षका अलिले स्थान पाएकोमा नै प्रश्न उठ्न थालेका छन् । त्यस्ता प्रश्न गर्नेमा समर्थक मात्रै होइन क्रिकेट विश्लेषकहरु समेत देखिन्छन् । जसमा उनको हराएको ध्यान र क्षमतामा पनि प्रश्न आइरहेका छन् । पाकिस्तानले खेलमा सम्हालिन नसक्नुमा उनको बलिङ नै मुख्य कारक रहेको तर्कहरु पनि पाकिस्तान भित्रै सुनिन्छन् ।

अब बाँकी रहेका खेलमा सुधार गरेर उनी अघि बढ्छन् या उनको स्थानकै परिवर्तनको खोजिमा व्यवस्थापन लागिपर्छ त्यो दुवै कठिन छ । किनभने शाहिन अफ्रिदी या मोहम्मद असनाइन उनको भूमिकामा आइहाल्न सक्षम देखिँदैनन् । यसैले अलिले नै आफ्नो खेल सुधारेर पाकिस्तानको बाँकी बचेका खेलमा उत्कृष्ट बन्नुपर्ने छ ।

(यो सामग्री क्रिकइनमा असद उल्लाह क्वासिमले लेखेको लेखका साथै क्रिकइन्फोको तथ्यांकमा आधारित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment