Comments Add Comment

भ्रम र सपनाले कसरी बाँच्न सिकाउँछ ?

कुनै मान्छे सडक किनारमा उभिएर तरकारी बेचिरहेको छ । कुनै मान्छे सानो कतै जानका लागि गाडी पर्खिरहेको छ । कुनै मान्छे जागिर खोज्ने सुरसार गरिरहेको छ । कुनै मान्छे खेतीपाती गरिरहेको छ ।

यी सबै मान्छे आ-आफ्नै धुनमा छन् । मग्न छन् । उनीहरुको आँखाले त्यहाँको दृश्यलाई उति ख्याल गरेको हुँदैन । उनीहरुले आफ्नो स्थितीलाई पनि त्यती ध्यान दिएका हुँदैनन् । म कहाँ छु, कुन अवस्थामा छु, के गरिरहेको छु भन्ने बोध गरिरहेका हुँदैनन् । बरु, अब के होला ? कहाँ पुगिएला ? के गरिएला ? भन्ने उत्सुकतामा हराइरहेका हुन्छन् ।

मान्छे वर्तमानको यर्थाथमा होइन, भोलिको कल्पनामा रमाएर बाँच्छ । मान्छे आफ्नो योजनामा बाँचेका हुन्छन् । आफुले गर्ने र गरिरहेको कामको नतिजाले मान्छेलाई आशावादी बनाइरहन्छ । मान्छे आशामा बाँचेको हुन्छ ।

मान्छे अलिकति आशामा, अलिकति भ्रममा, अलिकति कल्पनामा बाँचेको हुन्छ ।

भ्रम, कल्पना र सपना नहुँदो हो त मान्छेले बाँच्ने अनेक यत्न गर्ने थिए ? सोचनिय कुरा हो । हामीलाई कल्पनाले भोलिका लागि बाँच्न उक्साउँछ । भोलि यो होला, भोलि यसो गरिएला भन्ने कुरा कल्पेर हामी बाँच्छौ । भोलि यति कमाइएला, यस्तो चिज किनिएला, स्वास्थ्यस्थिती यस्तो बनाइएला, ऋणपान यसरी चुक्ता गरिएला भन्ने कल्पना र योजनाले हामीलाई बाँच्न प्रेरित गरिररहन्छ । तर, भोलिका दिनमा हामीले सोचेजस्तो सबैकुरा ठिकठाक होला ? सबै बन्दोबस्ती मिल्न सक्ला ? हाम्रा समस्याहरु निमिट्यान्न होला ? पक्कै संभव छैन ।

त्यसैले हामीलाई बाँच्नका लागि अलिकति भ्रम पनि चाहिन्छ । सबै कुरा स्पष्ट, प्रष्ट र यर्थाथ हुँदो हो त हामीलाई बाँच्न गाह्रो हुन्छ । भोलिका दिनमा पनि हामीसँग समस्याको थुप्रो लाग्नेछ । अरु ऋणमा फसिएला, घरबार बिगि्रएला, स्वास्थ्य खराब होला । तर, हामी यी सबै कुरा भुलेर वा भुल्ने बाहना खोजेर बाँच्छौ । भोलिको यर्थाथलाई भुल्ने बाहना खोज्नु भनेकै भ्रममा बाँच्नु हो ।

भोलिको कल्पनामा

सडक किनारमा उभिएर तरकारी बेचिरहेका मान्छेलाई आफ्नो यर्थाथको बोध भन्दा भोलिको सपनाले खुसी र जागरुक राखेको छ । सडकमा उभिएर, चर्को गर्मी खेपेर, धुलो-धूँवा खाएर, ग्राहकको वचन सहेर उनी किन तरकारी बेचिरहेका छन् ?

किनभने तरकारी बेचेपछि प्राप्त हुने पैसाले यो गर्छु, त्यो गर्छु भन्ने कल्पना उनको मनभित्र छ । त्यही कल्पनाले उनलाई सडकमा घण्टौदेखि उभिन लगाएको छ । तर, सबैकुरा उनले भनेजस्तो होला त ?  सबै तरकारी बिक्री होला ? तरकारी बेचेको पैसा ठिक-ठिक ढंगले खर्चिएला ? यसै भन्न सकिदैन । तर, उनको मनमा के भ्रम छ भने उनले कल्पना गरेजस्तै सबै कुरा मिल्नेछ । त्यही भ्रमले पनि उनलाई बाँच्न उकासेको छ ।

उनले कल्पेका सबै कुरा त्यसबेलासम्म भ्रम हो, जतिबेला त्यो यर्थाथमा रुपान्तरण हुँदैन । किनभने अब आउने केही क्षणपछि के होला ? भोलि के होला ? त्यो कसैलाई थाहा हुन्न । भोलिको बारेमा हामी कहिल्यै ढुक्क हुन सक्दैनौ । भोलि के हुन्छ भन्ने कुरा हामी अनुमान, आशा र कल्पना गर्न सक्छौ । ठोकुवा गर्न सक्दैनौ ।

यर्थाथलाई भुल्ने वाहना

हामी अजम्बरी छैनौ । एकदिन मर्नेछौ । त्यो एकदिन कहिले हो ? हामीलाई थाहा हुन्न । तर, थाहा के हुन्छ भने एकदिन हामी मर्ने नै छौ । हाम्रो आयु निश्चित छ । हरेक मान्छे प्रत्येक पल, घडी, मिनेट, घण्टा मृत्युको नजिक-नजिक पुगिरहेको हुन्छ ।

तर, मान्छेलाई आफु मर्नेछु भन्ने थाहा भएर पनि उनीहरुले त्यसलाई भुल्ने बाहना खोजिरहेका हुन्छन् । मान्छे यस्तो भ्रममा बाँच्छन् कि कहिल्यै मरिनेछैन । उनको जीवनमा मृत्यु नै छैन । मृत्यु यर्थाथ हो । सत्य हो । तर, हामीले त्यो यर्थाथ वा सत्यलाई नभुल्ने हो भने बाँच्न सक्दैनौ । रमाउन सक्दैनौ । उमंगित हुन सक्दैनौ । सपना देख्न सक्दैनौ ।

जीवनमा कष्ट छ, दुःख छ । तर, हाम्रो दुःख-कष्टलाई थमथमाउने हाम्रै कल्पना हो । आज हामी दुःख-कष्ट झेल्छौ र भोलिको सुनौलो कल्पनामा रमाउँछौ ।

सपनाले जागा राख्छ

मान्छेलाई सपनाले चाहि जहिले पनि जागा राख्छ । सपना नहुनु हो भने मान्छे ब्यूँझदैनथे । जोसँग सपना हुन्छ, त्यही मान्छेले निद्रा त्याग्छ । अल्छी त्याग्छ । आरम त्याग्छ । विश्राम त्याग्छ । किनभने उनको मास्तिष्कमा यस्तो सपनाको खाका कोरिएको हुन्छ, जसलाई प्राप्त गर्नका लागि उनले जाँगर चलाउनुपर्छ । त्यसैले सपनाले मान्छेलाई जागृत गराउँछ । सपना देख्नुपर्छ ।

यर्थाथमा रमाउने अभ्यास

हामीलाई कतिपय दुःख, पीडाहरु भुलाउनका लागि कल्पना र भ्रमले राम्रै काम गर्छ । साथसाथै भ्रम र कल्पनाले हामीलाई यर्थाथसँग विच्छेद पनि गराउँछ । यदि यर्थाथलाई बोध नगर्ने वा सधै भ्रम र कल्पनामै मग्न हुने हो भने त्यसले पनि जीवनको पूर्ण स्वाद भने दिदैन । बाँच्नुको मज्जा दिदैन । यहि कारण आध्यात्मिक गुरु, चिन्तकहरुले जागरणको कुरा गर्छ । जागरण भनेको सचेतनाको त्यो तहमा रहनु हो, जहाँ आफ्नो अस्तित्व र यर्थाथ बोध हुन्छ ।

अध्यात्म त्यही विज्ञान हो, जसले मान्छेलाई यर्थाथमा पनि मग्न रहने बाटो देखाउँछ । त्यसैले सधै हामी भ्रम र कल्पनामा मात्र मग्न रहनु ठिक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment