+
+
Shares

घिमिरे बाजेको १० फिट लामो टुप्पी, भन्छन्-मेरो लाश जलाउँदा टुप्पी नजलाइयोस्’

सुवास पण्डित सुवास पण्डित
२०७६ असार १० गते १२:०९

१० असार, चितवन । भरतपुर महानगरपालिका वडा नं. ९ का कृष्णनाथ घिमिरे उमेरले ६६ वर्षका भए । किसानको छोरा भएकाले कृषि कर्ममा नै उनले आफ्नो लामो जीवन व्यतीत गरेका छन् । बचेको समयमा समाजसेवामा लाग्छन् । फूलेको जुँगा, शिरमा ढाका टोपी लगाएर ठाँटिएर हिँड्ने उनको हुलिया हो । ढाका टोपी लगाएर हिँड्दा कसैले पनि अनुमान गर्दैनन् कि उनको टोपीभित्र १० फिट लामो टुप्पी गुजुल्टिएको छ भन्ने कुरा । जब उनले शिरमा लगाएको ढाका टोपी खोल्छन् अनि मान्छेहरु झट्ट देख्दा तर्सिन्छन्, उनको टाउकोमा के भएको रहेछ भनेर । सर्प जस्तै गरी बसेको टुप्पी जब कृष्णनाथले खोल्न थाल्छन् मान्छेहरु दंग परेर हेर्छन् ।

उनको टुप्पीका बारेमा थाहा पाउन थालेपछि पछिल्लो समयमा मिडियाका मान्छेहरु पनि उनको घरसम्म आउने गरेका छन् । घरमा बस्दा पनि उनी बालकच्चाहरुसँग खेल्छन् रमाउँछन् । बालबच्चाहरु उनको टुप्पीमा रमाएर खेल्ने गरेको कृष्णनाथले बताए । ‘म आफू पनि बालबच्चा भनेपछि हुरुक्क हुन्छु, बालिबालिका पनि मेरो टुप्पीसँग खुबै रमाएर खेल्छन्,’ कृष्णनाथले भने । अहिले टुप्पी टोपीभित्र अटाएकाले खासै समस्या नभएको उनले सुनाए ।

२०३७ सालबाट उनले टुप्पी पाल्न थालेको बताए । २०३७ सालमा मिर्गौलासम्वन्धी समस्या भएर अस्पतालमा लामो समय बस्नुपर्‍यो । त्यतिबेला उनको लामो कपालमा लट्टा पर्‍यो । त्यसपछि उनले टुप्पी पाल्न थाले । ‘विस्तारै बढ्दै गयो, यति लामो टुप्पी नै पाल्छु भन्ने मलाई थिएन, तर भयो, अब किन काट्ने ?’ कृष्णनाथले भने, ‘हाम्रो हिन्दु संस्कार जोगाउन पनि मैले टुप्पी पालेको हुँ ।’

टुप्पी पाल्दा मनमा आनन्द र शान्ति मिल्ने गरेको उनले सुनाए । घर परिवारमा कसैले पनि टुप्पी काट्नुस् झ्याउ हुन्छ भनेर नभनेको कृष्णनाथको भनाइ छ । घर परिवार मात्रै होइन उनलाई भेट्न आउने व्यक्तिहरु कसैले पनि टुप्पी काट्नुस् भनेर नभनेको कृष्णनाथले बताए । ‘बरु किन पाल्नुभयो भनेर सोध्नेहरु आउँछन्, काट्नुस् भनेर अझसम्म कसैले भनेको छैन,’ टुप्पी बाजेको नामले परिचित बनेका कृष्णनाथले भने ।

‘जुँगे बा’बाट बने ‘टुप्पी बाजे’

‘टुप्पी बाजे’ भनेर कसैले बोलाउँदा आफूलाई खुसी लागेको उनले बताए । एकै व्यक्तिका फरक-फरक नाम हुने भन्दै नाममा विविधता आउँदा त्यसलाई आफूले अनौठो नमानेको उनको भनाइ छ ।

उनलाई पहिला गाउँमा ‘जुँगे बा’ भनेरसमेत बोलाउने गरिन्थ्यो । ‘कृष्णनाथबाट जुँगे बने अहिले टुप्पी बनेको छु,’ कृष्णनाथले भने, ‘भगवानका पनि अलग-अलग नाम छन् नी ।’

उनले आफ्नो टुप्पीलाई स्याहारसुसार गर्ने गरेको बताए । हरेक दिन नुहाउँछन् । बाथरुमको काँटीमा टुप्पी अड्काएर नुहाउने गरेको उनले बताए । नुहाएपछि उनी केहीबेर घाममा बस्छन् र सुकेपछि ढाकाटोपी लगाएर बाहिर निस्कन्छन् । टुप्पीलाई पनि हरेक दिन नुहाइदिने गरेको कृष्णनाथले बताए ।

जीवनको बाँकी उमेरसम्म टुप्पीलाई राखिरहने उनको योजना छ । मरेपछि टुप्पीलाई के गर्ने भन्ने प्रश्नमा कृष्णनाथले भने, ‘यसलाई नजलाउने, मलाई जलाउने ।’ उनले आफ्ना छोराहरुलाई शेषपछि टुप्पीलाई नजलाइकन सुरक्षित तरीकाले राख्न भनेका छन् ।

गिनिज बुकमा नाम लेखाउने चाहना

कृष्णनाथले टुप्पी यतिको लामो भैसकेपछि एउटा धोको पनि मनमा संगालेको बताए । गिनिज बुक अफ दी वर्ल्ड रकर्डमा नाम लेखाउने उनको योजना छ । आफ्नोभन्दा लामो टुप्पी अरु कसैको भए जानकारी गराएर सहयोग गरिदिनसमेत कृष्णनाथले अपिल गरेका छन् । ‘मेरोभन्दा लामो कसैको छ कि छैन होला भनेर मलाई कौतुहलता भैरहेको छ,’ कृष्णनाथले भने, ‘यदि कसैको छ भने जानकारी गराइदिन अपिल गर्छु, अब यतिको लामो भैसकेपछि किन गिनिज बुकमा नाम नलेखाउने भन्ने लागेको छ ।’ तर, कहिले यसको प्रकृया अघि बढाउने भन्नेबारे उनले केही बताएनन् ।

युवाहरुले टुप्पी पाल्नेहरुप्रति हेपाहा दृष्टिकोण राख्ने बारेमा सोधिएको प्रश्नमा कृष्णनाथले भने, टुप्पी पाल्दा रिसराग र आवेग हराउँछ, त्यसले युवाहरु बढी रिसाहा हुन्छन् । ऋषिमुनीहरुले टुप्पी पाल्ने भएकै कारणले गर्दा शान्त र शालीन हुने गरेको बुझाइ उनको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?