Comments Add Comment

नेपाल भित्रियो कोरियन फ्रेन्चाइज ब्राण्ड लोट्टे, नेपालमा लोट्टेरिया खुल्दै

१० असार, काठमाडौं । गैरआवासीय नेपालीको पहलमा कोरियाली फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड ‘लोट्टे’ नेपाल भित्रिएको छ । कोरियाको सबैभन्दा ठूलो चेन ब्राण्ड लोट्टे ग्रुपले अहिले कोरियामा १३ सयसहित आधा दर्जन मुलुकमा १६ सय रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

लोट्टे ग्रुपले नेपाली कम्पनी हिमालय एनकेमार्फत रेष्टुरेन्ट ब्राण्ड नेपाल भित्र्याउन लागेको हो । यस कम्पनीका सञ्चालक विनोद कुँवर हुन् । गैरआवासीय नेपाली कुँवरले कोरियामा पनि रेष्टुरेन्ट व्यवसाय गर्छन् । उनले नेपालमा जलविद्युत क्षेत्रमा समेत लगानी गरिरहेका छन् ।

मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवको उपस्थितिमा लोट्टे ग्रुपका ग्लोबल सीइओ नाम इक उ र हिमालय एनकेका अध्यक्ष कुँवरबीच व्यवसायिक सम्झौता भयो । सम्झौता अनुसार निकट भविष्यमा नेपालमा कोरियन ब्राण्ड लोट्टे ग्रुपको फ्रेन्चाइज खुल्नेछ ।

लोट्टे ग्रुपको फ्रेन्चाइज रेक्ष्टुरेन्ट ‘लोट्टेरिया’ नेपालमा खुल्न लागेको हो । लोट्टेरिया चिकेन र बर्गरका लागि विश्वप्रख्यात रहेको लोट्टे ग्रुपका ग्लोवल सीइओ इक उले जानकारी दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले सरकार विदेशी आकर्षित गर्न उपयुक्त वातावरण निर्माणमा लागिरहेको बताए । खासगरी कानूनी सुधारका पक्षमा सरकारले धेरै परिवर्तन गरिरहेको उनले बताए । ‘हामी नेपालमा विश्वभरका पर्यटकलाई आफ्नो घरको स्वाद यही चखाउने वातावरण बनाउन चाहन्छौं,’ उनले भने, ‘त्यसका लागि विदेशी लगानीका होटेल र रेष्टुरेन्टले सेवा बिस्तार गर्नुपर्छ ।’

हिमालय एनकेका अध्यक्ष विनोद कुँवरले लोट्टेरियाको आगमनले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भित्रने पर्यटकबीच यो ब्राण्ड लोकप्रिय रहेको भन्दै उनले यसले नेपालकै प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे । हिमालय एनकेमा कोरियाली नागरिक चि चङ सङको समेत लगानी छ । कुँवर र सङ मिलेर कोरियामा रेष्टुरेन्ट संचालन गरिरहेका छन् ।

लोट्टेरिया सन् १९७९ मा स्थापना भएको ब्राण्ड हो । ४० वर्षे इतिहासमा यस ग्रुपले भियतनाम, म्यानमार, इण्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया र लाओसमा फ्रेन्चाइज रेन्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

तीन देशमा करीव ३ सय रेष्टुरेन्ट लोट्टेरियाको छातामुनी सञ्चालन भइरहेको छन् । फ्रेन्चाइजका रुपमा भित्रिसकेपछि रेष्टुरेन्टका लागि बजार खोज्ने, कर्मचारीको क्षमता अभिवृद्धि, उपयुक्त स्थानको खोजीजस्ता काम यसै ब्राण्डका माध्यमबाट हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment