Comments Add Comment

कसका लागि लडे नेपालीले विश्वयुद्ध ?

टुँडिखेल छेउको रुखमा निर्दोष सुवेदारको बली

१२ असार, काठमाडौं । विसं १९९० को भूकम्पको दुई महिनापछि प्रधानमन्त्री जुद्धसमशेरले कमान्डिङ इन चिफ रुद्र समशेरका खलकलाई सर्वस्वहरण गरेर पाल्पा धपाए ।

रुद्रका नाति पुरुषोत्तम समशेर राणाका अनुसार रुद्र खलकका सदस्य, सहयोगी, सुरक्षा गारतसमेत गरी दुई सयजना चारबुर्जा दरबार (हालको निर्वाचन आयोग भवन) छाडेर पाल्पा गएका थिए ।

रुद्र समशेरका चारबुर्जा दरबारमै जन्मिएका एकजना नाति भने पाल्पा धपाइने सूचिमा थिएनन् । ती भाग्यमानी थिए– चर्चित इतिहासकार प्रमोद समशेर राणा ।

रुद्र समशेरका सहयोगी–सुसारेलाई समेत काठमाडौं खाल्डोबाट बाहिर पठाउँदा प्रमोदले कसरी यहीँ बस्ने अनुमति पाए ? यो प्रश्न प्रमोद समशेरलाई नै सोधेका छौं ।

‘राणा–नेपाल एन इन्साइडर्स भ्यू (१९७८)’, ‘राणा इन्ट्रिग्युज (१९९५)’, ए क्रोनिकल अफ राणा रुल (२००२) र राणाशासनको बृत्तान्त (२००४) पुस्तकका लेखक प्रमोदसँग हामीले गोर्खा भर्तीका विषयमा विशेष सोधखोज ग¥यौं । राणा शासकहरूले ब्रिटिस र भारतलाई खुशी बनाउन नेपाली युवाहरूलाई कसरी गोर्खा भर्तीमा पठाए ? नेपाली सेनाले अंग्रेजलाई मद्दत गर्नुको कारण के थियो ? प्रथम र द्वितीय विश्वयुद्धमा नेपालको सहभागिता कसरी भयो ? यिनै विषयमा केन्द्रित रहेर हामीले इतिहासकार राणासँग कुराकानी गरेका छौं ।

०७२ को विनासकारी भूकम्पले नारायणहिटी पथको पुर्ख्यौली घर भत्काएपछि प्रमोद समशेर चुनदेवीवासी भएका छन् । ८७ वर्षीय राणा भूकम्पले घर भत्काएपछि नारायणहिटी पथको जग्गा बेचेर नयाँ ठाउँमा सरेका हुन् । श्रीमती, छोराछोरी र बुहारीको मृत्यु भइसकेको बताउने राणा भूकम्पपछि बनेको घरमा सहयोगीहरूका साथमा बसिरहेका छन् ।

स्वास्थ्यका कारण लामो समय बोल्न नसक्ने राणासँग यो छोटो सामग्री तयार गर्न दुईपटक भेट्यौं । विभिन्न औषधीले घेरिएर बसेका इतिहासकार प्रमोद समशेरले हामीलाई अतीततिर यसरी डोर्‍याए :

मेरो जन्म सन् १९३२ मा चारबूर्जा दरबारमा भएको हो । जिजुबुबा (कमान्डिङ इन चीफ) रुद्र समशेरलाई चन्द्र समशेरले १८ माार्च १९३४ मा सर्वस्वरण गर्दा म दुई–तीन वर्षको थिएँ । त्यो घटनापछि जिजुबुबा, बुबा मेघराज समशेर पाल्पा जानुभयो । रुद्र समशेरका सबै खलक धपाइँदा म भने काठमाडौंमै बस्न पाएँ । एक हिसाबले भन्दा म छुटमा परेँ ।

त्यतिबेला मलाई रुद्र शमशेरकी भाउजू (साइनोमा मेरी हजुरआमा) कहाँ लगेर राखिएको थियो । मूलमा जन्मियो, अलच्छिन हुन्छ भनेर मलाई चारबूर्जा दरबार भन्दा बाहिर लगेर पालेका रहेछन् । यो पनि रुद्रकै खलक हो, यसलाई के गर्ने भनेर सोधेका रहेछन् । जुद्ध समशेरले ‘बाह्र वर्ष पुगेपछि विचार गरौंला, अहिले केही गर्न पर्दैन’ भनेर मलाई छाडेछन् ।

काठमाडौंमा बसेर मैले दरबार स्कूल पढेँ । विश्व विद्यालय शिक्षा भारतबाट लिएँ । पटना विश्वविद्यालयबाट बीए र बीएल गरेँ । राजनीतिशास्त्रमा इलाहावाद विश्वविद्यालयबाट एम ए गरेँ । नेपाल फर्किएर वकालतमा लागेँ । लुम्बिनीको अञ्चलाधीश बनेँ । १९७४ मा अञ्चलाधीशबाट राजीनामा दिएर फेरि वकालतमै फर्किएँ ।

लेखपढ गर्नेहरूको संगतले होला, अनुसन्धानमूलक पुस्तकमा निकै चासो बढ्यो । राणाशासनका बेला मान्छेहरू आपसमा खुलेर कुराकानी गर्न पनि डराउँथे । त्यस्तो बेलामा निश्पक्ष भएर लेख्ने, इतिहासको खोज गर्ने, अभिलेख जुटाउनेहरू नगन्य मात्रै थिए भन्दा फरक नपर्ला ।

सन् १९५१ पछि बल्ल लेखकहरूले निर्धक्क भएर लेख्न पाए । तर, यतिबेलासम्म कतिपय महत्वपूर्ण घटनाका प्रमाण कि त नष्ट भइसकेका थिए, कि विदेशीको हातमा पुगिसकेका थिए ।

मैले राणा शासनबारे चारवटा पुस्तक लेखें । मैले आफ्नो लेखनमा सकभर प्रमाणहरू खोजेर घटनाको पुष्टि गर्ने प्रयत्न गरेको छु । यसरी लेख्दा पनि त्रुटि नै हुँदैन भन्ने पनि होइन ।

नेपाली युवालाई यसरी लगियो विदेशी सेनामा

जंगबहादुर राणाको पालादेखि नै ब्रिटिसले नेपाली युवाहरू भर्तीका लागि मागेको थियो । जंगबहादुरले तपाईहरूलाई आवश्यक परेका बेलामा म आफैं सेना पठाउँछु । छुट्टै युवाहरू भर्ती लिनुपर्दैन भनेर टारेछन् । ब्रिटिस भारतमा सिपाही विद्रोह हुँदा जंगबहादुर आफैं फौजको कमाण्ड गरेर सहयोगका लागि लखनऊ र इलाहावाद पुगे ।

जंगबहादुरका भाइ रणोद्वीपसिंहको पालामा पनि फेरि उनीहरूले भर्ती गर्न युवाहरू मागे । खासगरी ब्रिटिस भारतको पश्चिम–उत्तरतर्फ बढ्दो रसियाको प्रभावले गर्दा भाइसराय लर्ड डफरिन सैनिक शक्ति बढाउने निश्कर्षमा पुगेका थिए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको बेलायत यात्रा : गोर्खा भर्ती हटाउने कि ?

आफूले चाहेजस्ता युवाहरू छानीछानी लैजान पाइन्छ भनेर उनले नेपालभित्रै भर्ती केन्द्र खोल्न अनुमति मागेका थिए । डफरिसनको सन्देश लिएर रेजडेन्ट सीआरएस गर्डलस्टोनले पटक पटक रणोद्वीप सिंहलाई भेटेका थिए । तर, उनले नेपालमा भर्तीकेन्द्र खोल्न दिएनन् । जंगबहादुरले जस्तै ब्रिटिस भारतलाई आवश्यक परेका बेलामा नेपाली सेना पठाउँछु भनेर आश्वस्त पार्न चाहे ।

रणोद्वीप ब्रिटिस भारतलाई आवश्यक युवाहरू आफैं छानेर पठाउन भने तयार भए । ती युवाहरूको शारीरिक परीक्षण गर्न चिकित्सक र अधिकारीहरूलाई बेलाबेलामा नेपाल आउने अनुमति पनि दिए ।

युवाहरू भर्तीमा गएवापत ५ हजार ६ सय थान नयाँ राइफल र गोलीगठ्ठा पाए । तर, सहमतिअनुसार थप भूभाग फिर्ता दिएनन् ।

वीर समशेरका पालामा पनि नेपाली युवाहरूलाई निरन्तर भर्तीमा पठाइयो । १८९३ ताका नेपाली सेनाको संख्या करिब ४४ हजार थियो । वीर समशेर उनीहरूका लागि आधुनिक हातहतियार खरिद गर्न चाहन्थे । उनी आफैं कोलकाता गएर भाइसराय लर्ड ल्यान्सडाउनसँग छलफल गरे । भाइसरायले बढीभन्दा बढी मगर र गुरुङ युवाहरू भर्तीमा पठाउन माग गरे ।

यो पनि पढ्नुहोस लण्डनमा प्रधानमन्त्री ओलीले गरे गोर्खा सैनिकको प्रशंसा

वीर समशेरले उनको माग पूरा हुने वचन दिएपछि लर्ड ल्यान्सडाउन पनि हतियार खरिदको अनुमति दिन तयार भए । त्यतिमात्रै होइन, भन्सार महशुल नलिएर हतियार नेपाल भित्र्याउन सहयोग गर्ने वचन पनि लर्डले दिए । उनको एउटै शर्त थियो– हामीमार्फत नेपाल पुगेका हतियार कुनै पनि हालतमा तिब्बत, चीन वा अन्य देशमा पठाउन पाइँदैन ।

त्यतिबेलामा चीन शक्तिमा थिएन । तिब्बतमाथि रसियाले आक्रमण गर्ने भनेपछि ब्रिटिस सेनाका कमाण्डर इन चीफ लर्ड रोबटर्स् काठमाडौं आए । वीर समशेरले रसियाले तिब्बतमाथि हमला गर्‍यो भने म २० हजार सेना पठाउँछु भन्ने बचन रोबटसर््लाई दिए । लडाइँ नभएपछि सेना पठाउनुपरेन । अंग्रेजहरूले खुशी भएर १८९२ मा वीर समशेरलाई नाइट क्रस क्रस अफ द स्टार अफ इन्डिया (केसीअएसआई) तक्मा दिए ।

चन्द्रसमशेरको कालो मन

सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भएपछि प्रधानमन्त्री चन्द्र समशेरले ब्रिटिस सरकारलाई सहयोग गर्न चाहेको खबर पठाए । उनीहरूले सहयोग लिने भएपछि सात हजार पाँच सय सैनिक भारततर्फ पठाए ।

१० पल्टन जनरल पद्य समशेर र ६ पल्टन अर्का जनरल तेज समशेरको नेतृत्वमा गए । पद्य र तेज दुबैले नेतृत्व गरेको टोलीको मुख्य कमाण्डर भने बबर समशेर थिए । उनीहरू लडाईमा प्रत्यक्ष सहभागी भएनन् ।

चन्द्र समशेरले अंग्रेजलाई खुशी बनाउन विभिन्न जिल्लाहरूबाट युवाहरूलाई भारततर्फ पठाए । खासगरी गुरुङ, मगर, राई, लिम्बु युवाहरूलाई पठाएका थिए । उनीहरूले ब्रिटिस गोरखा फौजबाट युरोप, टर्की, मेसोपोटामिया लगायतका देशमा बहादुरी देखाए ।

त्यसबापत नेपालीहरूले भिक्टोरिया क्रस (भीसी) पनि प्राप्त गरे । त्यसको सबैभन्दा बढी लाभ चन्द्र समशेरलाई नै भयो । सन् १९१८ मा लडाई सकिएपछि उनीहरू आफूले प्रयोग गर्ने हतियारसहित नेपाल फर्किए ।

यो पनि पढ्नुहोस गोर्खा भर्तीबारे नयाँ पहल : त्रिपक्षीय सन्धि परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

प्रथम विश्वयुद्धमा सहयोग गरेवापत ब्रिटिश सरकारले नेपाललाई एकैपटक तीन करोड रुपैयाँ वा वार्षिक १० लाख रुपैयाँ सहयोग रोज्ने अवसर दियो । एक पटक तीन करोड लिँदा भाइहरूले डाहा गर्लान् भनेर चन्द्र समशेरले वार्षिक दश–दश लाख रुपैयाँ लिन्छु भनेछन् ।

चन्द्र समशेरकै रोजाइ अनुसार वर्षेनी १० लाख आउन थाल्यो । १९४७ मा ब्र्रिटिसले भारत छाडेर जानु अघिसम्म नेपालले त्यो रकम पाइरह्यो ।

हामीले प्र्रत्यक्ष नलडेको त्यो युद्धको बाछिटाले नेपाललाई लामो समयसम्म पिरोलिरह्यो । उनीहरूका परिवारले भोगेको पीडा शब्दमा बयान गरी साध्य छैन ।

किन हो थाहा छैन, चन्द्र समशेरले गोर्खा फौजमा भर्ती भएका गोरखालीलाई कुनै पनि हालतमा अफिसर पदमा पदोन्नति नगर्न र अफिसरमा भर्ना पनि नलिन ब्रिटिस सरकारलाई गोप्यरुपमा अनुरोध गरेछन् ।

चन्द्र समशेरको यस्तो अनुरोध देखेर भाइसराय र कमान्डर इन चिफसमेत आश्चर्यमा परेका थिए । तर, उनीहरूले चन्द्र समशेरको अनुरोधलाई भने स्वीकारे । जसले गर्दा नेपालीहरूले युद्ध कौशलमा जति नै निपूण र योग्य भए पनि सुबेदार मेजर भन्दामाथिको पद पाएनन् ।

प्रधानमन्त्रीकै छोरा विश्वयुद्धको मोर्चामा परेपछि…

दोस्रो विश्वयुद्ध हुँदा जुद्धसमशेर प्रधानमन्त्री थिए । १९३९ सेप्टेम्बर ३ मा अंग्रेजहरूले जर्मनीविरुद्ध युद्धको घोषणा गरेलगत्तै जुद्ध समशेरले ब्रिटीस राजदुतलाई बोलाएर नेपालले ८ हजार फौज पठाउन चाहेको सन्देश पठाए ।

अंग्रेज सरकार सहयोग लिन तयार भएपछि सहयोगमा गएका फौजको नेतृत्व जनरल बहादुरसमेशरले गरेका थिए । भारतमा भइरहेको आन्दोलन दबाउन र भारतीय स्वतन्त्रता सेनानीहरूको विरोधमा प्रयोग नगर्ने शर्तअनुसार नेपाली फौज पालो–पहरामा मात्रै खटिए ।

यो पनि पढ्नुहोस ‘त्रिपक्षीय सन्धी पुनरावलोकनको प्रस्ताव बेलायतले स्वीकारेन’

१९४२ मा जापानले सिंगापुर कब्जा गरेपछि भने परिस्थिति फेरियो । फ्रन्टमा लड्न नपठाउने शर्त विपरीत कालीबहादुर, महेन्द्र दल पल्टन र शेर पल्टनलाई जापानी सेनालाई रोक्न भन्दै बर्मामा खटाइयो । कालीबहादुरका कमान्डिङ अफिसर कर्णेल नीर समशेर र महेन्द्र पल्टनका किरण समशेर जुद्धका मनपर्ने श्रीमतीहरूका छोरा थिए । ती दुई पल्टनलाई युद्ध क्षेत्रबाट हटाएर अर्को पल्टन पठाउने जुद्ध समशेरको प्रस्ताव ब्रिटिस सरकारको सर्वोच्च कमान्डर इन चीफ लर्ड माउन्टबेटनले अस्वीकार गरे ।

१९४५ मा द्वितीय विश्वयुद्ध समाप्त भएपछि नेपाली फौजले त्यहाँ रहँदा आफूले प्रयोग गरेका हातहतियार र खरखजानासहित फर्किन पाए । युद्धमा सघाएवापत नेपालले प्रत्येक वर्ष २० लाख रुपैयाँ पाउने भयो ।

निर्दोष सुवेदारको बली

द्वितीय विश्वयुद्धमा खटिएका नेपाली फौजमा भ्रष्टाचारसम्बन्धी जबरजस्त एउटा घट्ना घटयो । अंग्रेज सरकारले दूध र रोटी खान जनही मासिक दुई रुपैयाँका दरले राशन थप ग¥यो । भारतको कोहाट छाउनीमा बसेको पल्टनका सिपाहीहरूले कमान्डिङ अफिसर समेतले दूध र रोटी खाना दिएन भनेर हंगामा मच्चाए ।

१९४१ जनवरी १ मा दोस्रो राइफल पल्टनका केही जेसीओ र सिपाहीहरूले कमान्डिङ अफिसर विरुद्ध नारा लगाए । आफ्नो हतियार भुँईमा फालेर व्रिदोह गर्न खोजे ।

त्यहाँबाट शुरु भएको विरोधको स्वर नजिकै रहेको अर्को छाउनी भैरुँ पल्टनमा पनि पुग्यो । उनीहरूले पनि दूध र रोटी खान थपिएको मासिक दुई रुपैयाँ नगदमै दिन माग गरे । यस्तो जानकारी पुगेपछि दुबै पल्टनका सैनिकहरूका हतियार खोसेर ब्रिटिस फौजले घेरा हालेर राखे ।

घटनाको सत्यतथ्य नै छानविन नगरी दुई सय सिपाही, जेसीओ र अफिसरहरूलाई कोहाटबाट बन्दी बनाएर कारवाहीका लागि काठमाडौं पठाइयो । सिंहदरबार पछाङ्गिनीमा राखेर यिनीहरूलाई कोर्रा लगाएर चुटियो ।

यो घटनापछि दोस्रो राइफल र भैरुँ पल्टन नै खारेज भयो । कमान्डिङ अफिसर कर्णेल कुबेर समशेरको पद खोसियो ।

सुवेदार मेघबहादुर थापालाई विना प्रमाण यही हो विद्रोहीको नाइके भनेर जुद्ध समशेरले टुँडीखेलमा झुन्ड्यार मार्नु भन्ने आदेश दिए । मेघबहादुर दोषी होइन भन्ने कुरा जंगी लाठ समेतका उच्च अधिकारीलाई राम्रैसँग थाहा थियो । उनी वास्तवमा विद्रोही थिएनन् । जुद्धले तिललाई पहाड बनाएर मार्ने आदेश दिए ।

सन् १९४१ फ्रेबुअरीमा मेघबहादुरलाई टुँडीखेलको दक्षिण कुनाको रुखमा हजारौं मान्छेहरूको उपस्थितिमा झुण्ड्याएर मारे । मेघबहादुरका बाबा–आमाले जुुद्ध समशेरको नागार्जुन बंगलामा गएर गरेको जीवनदान खेर गयो । यसरी एउटा निर्दोष सुवेदार बलीको बोको बने ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो पनि पढ्नुहोस पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ? यो पनि पढ्नुहोस ‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’ यो पनि पढ्नुहोस कसले मेटाउन खोज्यो चार सहिदको इतिहास ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment