Comments Add Comment

मुकुट लगाएका बलात्कारी, मनमा ज्वालामुखी !

नाटकः प्राइभेट इज पोलिटिकल

पोखरा । जेठ २०३८ मा पोखरामा एउटा सनसनीपूर्ण घटना घट्यो । काठमाडौंदेखि पोखरा घुम्न आएका नमिता–सुनिताको हत्याको घटना देशैभरि फैलिन्छ । जसरी घटनाको हल्ला फैलियो, त्यसरी नै घटनाको वास्ताविकता गुपचुप भयो । अहिलेसम्म पनि नमिता, सुनिताका हत्यारा को थियो ? अनुमानमै सीमित छ । मानिसहरु यसमा ठूलै शक्तिको हात रहेको अनुमान गर्छन् ।

गएको वर्षमात्रै कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या भएको अवस्थामा उखुघारीमा भेटिएकी निर्मलाको हत्यारा को हुन् ? रहस्यमै छ । दोषी अझै कानुनी दायरामा आउन सकेको छैन ।

यो त भयो, बलात्कारपछि हत्या भएका तर दोषी पत्ता नलागेको दुई घटना । बलात्कारको प्रयास तथा दुब्र्यवहार भएर बाहिर आएका तर कारबाही नभएका घटना कति होलान् ? अझ समाजमा भएका तर बाहिर नआएका यस्ता घटना कति होलान् ?

पोखरामा मञ्चन भइरहेको नाटक ‘प्राइभेट इज पोलिटिकल’ महिलामाथि हुने यौनजन्य हिंसामा कस्ता व्यक्ति संलग्न छन् र घटना कसरी लुकाइन्छ भन्ने देखाइएको छ ।

महिलामाथिका हिंसा र सामाजिक मूल्यमान्यता, ढोंगलाई नाटकले विषय बनाएको छ । बालिकामाथि कसरी यौनजन्य हिंसा हुन्छ र उनीहरुले पछि आएरमात्रै थाहा पाउँदा कसरी विक्षिप्त भएर बसेका हुन्छन् नाटकका पात्रहरुले बोलेका छन् ।

जब नाटक सुरु हुन्छ, तब कुनै न कुनै बेला यौनजन्य हिंसाबाट पीडत महिला पात्रहरुको सम्वाद सुरु हुन्छ । जो विभिन्न खाले हिँसा भागेका र देखेका हुन्छन् ।

महिला कहाँ सुरक्षित छन् ? परिवारमै असुरक्षित रहेका घटना सार्वजनिक भइरहेका छन् । आफन्तबाट लुटिइरहका छन्, आफ्नै गुरुबाट यौन हिंसामा परेका छन् । सामाजिक सञ्जालहरुको प्रयोग गर्दा यौनजन्य हिंसा भोग्नु परेको छ । २ वर्षकी बालिकादेखि ८० वर्षीया हजुरआमाहरुसम्म पीडामा परेका छन् ।

‘प्राइभेट इज पोलिटिकल’ नाटक भन्छ, ‘पद र शक्तिको आडमा प्रतिष्ठित व्यक्तिको मुकुट लगाएका व्यक्तिबाट पनि बलात्कार र यौनजन्य हिँसाको सिकार हुनुपरेको छ ।’

महिला अर्थात म हुनुको अर्थ बाटामा कसैको सुसेलीमा सुसेलिन्छ । कसैको जिब्रोमा पड्किन्छ । मेरो जीवनको सम्मान भीडमा गएर कोचिन्छ । आफन्तहरुको स्नेहमा पोखिन्छ । नाटकले कवितात्मक शैलीमा थुप्रै प्रकारका हिँसाका घटनालाई उजागर गरेको छ । आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गर्दा महिलाको चरित्रमाथि औंला ठड्याउने पुरुषवादी घटिया चिन्तनलाई नाटकले प्रहार गरेको छ । विभिन्न पद र प्रतिष्ठाको मुकुट लगाएर कतिसम्मको निच व्यवहार गर्ने व्यक्ति समाजमा छन् भन्ने कुराको उजागर गरेको छ ।

बालिकादेखि आमाहरुसम्म कस्ताकस्ता हिंसामा परेर पनि पश्चाताप र पीडा लिएर पनि चुपचाप छन् भन्ने नाटकमा देखाइएको छ । मनमा बिद्रोहको ज्वालामुखी लिएर पनि किन बिस्फोट हुन सकिरहेका छैनन् भन्ने नाटकले बोलेको छ ।

सुरुमा सबै पीडकको अनुहार नचिनिने तर, भागेपछि मात्रै उसको हर्कत र असली अनुहार देखिने नाटकमार्फत चित्रित छ । एक प्राध्यापकले थेसिस हेरिदिने नाममा गरेको दुर्व्यवहार सम्झिँदै एक पात्रले भन्छिन्, ‘पछिल्लो घटना जब बाहिर आयो र सबैलाई थाहा भयो । मान्छेहरुले उस्टै महिलाको चरित्र र अस्तिमामा औंला उठ्याए । उनी एक बौद्धिक र सबैले रुचाएका प्राध्यापक थिए । कहिलेकाहीँ हामीले भगवान मागेका मान्छेहरु पनि पीडक हुन्छन् ।’

आफूमाथि भएको हिंसाभन्दा प्रमाण खोज्ने आम प्रवृत्तिमाथि नाटकले प्रश्न उठाएको छ । समाजमा अझै महिलालाई हेर्ने पुरुष नजर के हो भन्ने नाटकले दर्शाएको छ । तर, के महिलामात्रै समाजमा पीडित छन् ? पुरुष र तेस्रो लिंगी पनि यौनजन्य हिँसाबाट सिकार हुनुपरेको यथार्थ नाटकले बोलेको छ ।

अझै पनि पुरुषवादी सोच र व्यवहार हाबी छ समाजमा । त्यसो भए के सबै पुरुष गलत छन् ? नाटकले बहसको उठान गरेको छ । ‘राम्रा पुरुष पनि हुन्छन् । त्यो फरक कुरा हो तर, सबै पुरुष त्यस्ता हुँदैनन् भनेर यहाँ समस्याको समाधान हुँदैन,’ नाटकको एउटा संवादले भन्छ, ‘बाटोमा हिँडिरहेका बेला कसैले गलत नियतले पछ्याइरहेको छ । तर, नट अल म्यान, नट अल म्यान भनेर जप्दैमा उसले सम्भावित हिँसाबाट जोगाउँछ ?’

डेढ घन्टाको नाटकमा समाजमा हुने विभिन्न खाले हिंसा र त्यसबाट उत्पन्न मनोदशालाई संवाद, संगीत, कविता र अभिनयमार्फत देखाइएको छ । यस्ता घटनालाई हेर्ने सामाजिक मनोविज्ञानलाई नाटकमा प्रस्तुत गरिएको छ । देशमा घटेका विभिन्न यथार्थ घटनालाई नाटकका पात्रमार्फत उतारिएको छ । ‘योनीका कथाहरु’ सिहर्सल गरिरहेका महिला पात्रहरुका मार्फत नाटकको संवाद गराइएको छ ।

नाटकका पात्रले निर्मला हत्याकाण्डका पीडालाई कवितामार्फत सुनाउँदा महोल स्तब्ध बन्छ । समाजमा महिलाले सुरक्षित र ढुक्क भएर बस्ने समय पर्खिरहेको आवाज नाटकले बोलिरहेको छ । महिलामाथि हुने बलात्कारका घटना, महिलालाई विश्वास नै नगर्ने समाज, महिलालाई हेय र हिंसायुक्त दृष्टिकोण राख्नेप्रति गहिरो प्रहार गर्दै नाटक टुंगिएको छ । नाटककी पात्र लुनिभा तुलाधरले दर्शकसँग सम्वाद गर्दै बिट मार्छिन्, ‘यो नाटकका सबै घटना सत्य हुन् तर, तपाईँ विश्वास नगर्न सक्नुहुन्छ । किनकि यो नाटक महिलाले बनाएको हो ।’

कथा घेरोको प्रस्तुति नाटक ‘प्राइभेट इज पोलिटिकल’, योनीका कथाहरुको चौथो संस्करण हो । अमेरिकी नाटककार इभ एन्सलरले सन् १९९६ मा लेखेको नाटक ‘द भजाइना मोनोलग्स’लाई नेपालीकरण गरी २०७२ सालमा ‘योनीका कथाहरु’ देखाइएको थियो । पछि योनीका कथाहरुकै अवधारणामा नेपालकै कथा बस्तुमा नाटक प्रस्तुत हुँदै आएको छ । नाटककी निर्देशक हुन्, आंकाक्षा कार्की । कथा घेरोले यसलाई नाटकका रुपमा मात्रै नभएर निर्देशक कार्की नेतृत्वमा एउटा अभियान मानेको छ । नाटकको आलेख सौरभ कार्कीले तयार पारेका हुन भने सुरज सुवेदी, सुदाम सिकेले उनलाई सघाएका छन् ।

नाटकमा अनुजा अधिकारी, अर्चना पन्थी, आयुष प्याकुरेल, केनिपा सिंह, विनिता गुरुङ, लुनिभा तुलाधार, रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिके लगायतको अभिनय छ ।

तस्वीरः कथा घेरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment