Comments Add Comment

यो उदास मौसम ! नयाँ टङ्कप्रसादको खोजी

कार्ल मार्क्सले एकपटक भनेका थिए- इतिहास दुईपटक दोहोरिन्छ, एकपटक दुःखद् र अर्कोपटक मजाकका रूपमा । तर, नेपाली राजनीतिमा भने पटक-पटक उही र उस्तै इतिहास पटक-पटक दोहोरिरहेको पाइन्छ । नेपाली राजनीतिमा प्रतिबन्धको राजनीति घटनाचक्रलाई हेर्दा सात सालपछि उही चक्र उस्तै रूपमा किन घुमिरहेको नेपाली राजनीति मैदानमा सवाल गहिरो र पेचिलो छ । के हामी त्यो चक्र तोड्ने साहस गर्न सक्छौँ ?

२००९ माघ ९ गते रामप्रसाद राई नेतृत्वको मुक्तिसेनाले सिंहदरबार कब्जा गरे । त्यो विद्रोहको नेतृत्व डा. केआई सिंह गरे, यही जेलविद्रोह गरेको राज्य कब्जा गनर्ेे खोजेको आरोपमा वा, यसैलाई निहुँ बनाएर २००९ माघ ११ गते कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । त्यतिबेला मातृका कोइराला सरकारको गृहमन्त्री बीपी कोइराला थिए ।

कम्युनिस्टप्रति उदार टङ्कप्रसादको आचार्य प्रधानमन्त्री भएपछि प्रतिबन्ध फिर्ता भएको थियो । आज बीपीको राष्ट्रवाद भँजाउने कम्युनिस्टहरू जति पनि भेटिन्छन् । तर, टङ्कप्रसादको गुनचाहिँ सम्झने को होला नेपाली कम्युनिस्ट ? यस्तै घटनाको पृष्ठभूमिमा २०१७ सालमा राजा महेन्द्रले शाही ‘कू’ मार्फत् सत्ता हत्याएपछि सबै दलमाथि प्रतिबन्ध गरे र नेपालमा निर्दलीय पञ्चायतको उदय भयो । आजको राजनीति र प्रतिबन्धित नेकपाको सक्रिय रक्षाले नयाँ टङ्कप्रसादको त खोजी गरेको छैन ?

नेपालमा कम्युनिस्टमाथि लागेको आरोप र कम्युनिस्टहरूले खेपेको यातनाको अर्को कारण थियो बमकाण्ड । ०४२ सालको यो काण्ड रामराजाप्रसाद सिंहले जिम्मा लिए पनि नेपाली सत्ता भने कम्युनिस्टहरू मास्ने योजना लिएर गाउँ, सहर, स्कुल र कलेज छिरेर राज्यआतङ्क मच्चाउँदै थियो । रामराजाप्रसादले अन्तरवार्ता दिंदै “मैले हो बम पडकाएँ’ भने पनि पञ्चायती सत्ता कम्युनिस्ट समर्थक शिक्षकहरूलाई जेलनेलसहित यातना दिएर मास्न खोज्दै थियो । त्यही बेलादेखि हो, शिक्षक दिलिप चौधरी हालसम्म बेपत्ता छन्! साकेतचन्द्र मिश्र, पद्म लामा ईश्वर लामा लगायतलाई हत्या गरेको थियो ।

कम्युनिस्ट आन्दोलनको अर्को दुर्घटना थियो, सेक्टर काण्ड ०४३ सालको । नैतिकताको सवाल र किरणको राजीनामा र प्रचण्ड महामन्त्री नैतिकताको सवाल उँचो हो । पाएको पद छोडेर त्यही पार्टीमा रहने पहिलो कम्युनिस्ट नेता होलान् सायद किरण । नैतिक जिम्मेवारीको सवाल आदर्शजस्तै उचाइ थियो । सरकारी प्रतिबन्ध र भोजपुरको हत्याकाण्डको कारण नेकपाभित्रको उकुस मुकुस एनसेल काण्ड, बमकाण्ड, काठमाण्डौको सुकेधारा र अनामनगर विस्फोट सेक्टर काण्ड दोहोरिएको व्यथा । त्यही ०४२ को बमकाण्डजस्तो भयो एनसेल काण्ड, जो विप्लव प्रतिबन्धको निमित्त निहुँ बनेको छ सरकारी तर्कका लागि । राजनीतिक बन्दीहरूको जेलनेल र यातना उस्तै लहर चलेको छ ।

६७ वर्षपछि उही नाम नेपाल कम्युनिस्ट पार्टी देखापरेको छ र उस्तै घटना प्रतिबन्धको पुनः दोहोरिएको छ । ०७५ बाट विप्लव नेतृत्वको नेकपा प्रतिबन्धित छ । नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिन थालेको आभास हुँदैछ । देशमा जनघात, राष्ट्रघात र भ्रष्टाचारले जनजीवन आक्रान्त छ । यस्तो बेला लेखक, कवि, कलाकार चुप बस्नुहुन्न । बोल्नैपर्छ, लेख्नैपर्छ र जाग्दै जगाउनु जरुरी छ, जनाधिकार र स्वाधीनताका लागि । आज सरकार एकपछि अर्को जनअधिकारमाथि धावा बोल्दैछ । यो बेला हरेक जन-जनले आवाज उठाउनु जरुरी छ ।

हिजो आज नेपालमा लेखक, कवि जेल पर्दा लेखक कवि बोल्छन् । अझ खगेन्द्रहरू त चुच्चेटोपी लगाइदिन्छन् । मानौँ, यो देशमा कविहरूब्ााहेक अरू कोही विद्रोही छैनन् । बरालिएका केही कलमका हत्याराहरू लुकीलुकी सत्ताको कोल चाटेर बोल्दैन्, विचार र सिद्धान्तको ढोंग पिट्छन् । विचार र राजनीतिबाट विरक्तहरू जात र थरलाई मात्र गाली गरेर नपुगेपछि छालाको रंग, उचाइ, होचाइ, पिसाब सेतो पहेंलो हेरेर बहसको कुचेष्टा गर्छन् । साहित्य, राजनीति र पत्रकारितामा जनताको विचार उत्पीडित समुदायको आवाज बोल्ने विद्रोही आदर्श कृष्ण सेन ‘इच्छुक’ को हो, संग्रौला, बराल र ढकालहरू होइनन् । आस्थाका बन्दीले जेल भरिएको छ, गाउँ छिरेको सरकार जनताको रगत पिउँदैछ । कुमार र तीर्थको रगत पिउने हत्यारा सरकार होइन र कम्युनिस्ट भन्नेहरूकै ! ज्यूँदो छ भन्नेले लेख्नुपर्छ र बोल्नुपर्छ । त्यही हो, इच्छुकको आदर्श, त्याग, बलिदान र प्रतिबन्धविरुद्धको मोर्चाबन्दी!

एक पत्रकार जेल पर्दा समाचार बन्छ र भाइरल हुन्छ । डाक्टरलाई अन्याय भए अस्पताल बन्द हुन्छ र आन्दोलन चल्छ । शिक्षक जेल परे स्कुल नै ठप्प हुन्छ । अझै कर्मचारीलाई छोए त देशभर अड्डा ठप्प हुन्छ । ड्राइभरलाई छोए यातायात ठप्प सडक खाली । ठेकेदारहरूको त चर्को दादागिरी छ । सिन्डिकेट राज चलेको छ । २० हजार घुस खाने सुब्बा जेल जान्छ । करोडौं काण्ड मच्चाउने एनसेलदेखी वाइडवडी हुँदै मेलम्चीसम्मका लुटेराहरू पुजिने देश हो यो । तर यहाँ जनतालाई अन्याय हुँदा कोही बोल्दैनन्, किन ? पाइलैपिच्छे जनता नलुटिने ठाउँ कहाँ छ भनौँ त महोदय ! लेखक, पत्रकार, कवि र साहित्यकार मित्रहरू !

२००९ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि परेको आपत त्यसको ठीक ८ वर्षपछि देशमाथि परेको थियो र सबै हारगुहार माग्न बनारस पुगेका थिए, त्यही बेला हो निर्दलीय पञ्चायत राजनीतिमा उदायो ।

यस्तै भावना प्रतिबिम्ब हुने जर्मन कवि मार्टिन निमोलरले लेखेको यो कविता एकपटक फेरि यथार्थ परक सावित हुन खोज्दैछ, नेपालमा आज ।

सुरुमा तिनीहरू यहुदी खोज्दै आए
अहँ, म बोलिनँ
किनभने म यहुदी थिइनँ ।
त्यसपछि तिनीहरू
कम्युनिस्टलाई पक्रन आए
अहँ, यसपालि पनि म बोलिनँ
किनभने म कम्युनिस्ट थिइनँ ।
त्यसपछि तिनीहरू
ट्रेड युनियनका कार्यकर्ता खोज्दै आए
अहँ, म बोल्दै बोलिनँ
किनभने म ट्रेड युनियन कार्यकर्ता थिइनँ ।
अनि त्यसपछि त
तिनीहरू मैलाई लिन पो आए
यतिञ्जेल मेरा पक्षमा बोलिदिने
वरिपरि कोही बाँकी थिएन ।

तपाईंहरू सक्नुहुन्छ भने तर्कसङ्गत हुनेगरी बोल्नुस्, नेपालको शान्तिप्रक्रिया टुङ्ग्याउन केले अल्झाएको छ ? विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक प्रतिबन्धको विरोध गर्नुस् र यो अथाह लुटको विरुद्ध गरिबहरूको न्यायको पक्षमा बोल्नुस् ! एक पात्र र कवि-पत्रकार गुठी मात्रै भन्दा पनि समस्याको गुदी र मूल जरोबारे कुरा गर्नुस् ।

भनिन्छ राजनीतिले सबैको नेतृत्व गर्छ । त्यसो त पक्राउ र प्रतिबन्धको विरोध गर्न त लेखक साहित्यकार नै चाहिन्छ भने तर्क हो भने, म भन्छु- विप्लव एक लेखक हुन्, उनका ‘साम्यवादका विशेषता’, ‘विप्लव संकलित रचना’, ‘वैज्ञानिक समाजवाद’ र ‘महापतन’ पुस्तक प्रकाशित छन् । उनी एक गीतकार हुन्, उनका माछी र पानी …, चेले भन्नुभएको …, यो सहरमा …, दाजु भाइ हात देऊ …, कसले बनायो दाजु उडिजाने बस … जस्ता लोकपि्रय गीत रेकर्ड भएका छन् । उनले नेतृत्व गरेको पार्टी प्रतिबन्धित छ । किन होला, यसको बहस जरुरी छ ? बहस गरौँ ।

हेमन्तप्रकाश ओली सुदर्शन, साहित्यक उपनाम एचपी हिमाली हो । उनको दर्शन र सैन्य कार्यदिशा, प्रचण्डपथ ः एक्काइसौँ शताब्दीको विचारधारात्मक छलाङ, दार्शनिक आधार, दार्शनिक रचना अनुवाद काराबासभित्रका दिनचर्याहरूलगायतका पुस्तक बजारमा आएका छ । उनी एक कवि पनि हुन्, उनी जनयुद्धको सहिदपिता पनि हुन् । उनी जेलनेल भोगेर आएका नेता हुन् । उनको सवाल किन न बोल्ने ? उनले रोजेको राजनीति विकल्पबारे बहस किन नगर्ने ?

मानवअधिकार र स्वतन्त्रताको हक कविता लेख्नेलाई मात्रै लागू हुँदैन । पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका हरेक सदस्यको पक्षमा आवाज उठाउनुहोस्, तिनलाई छोडिÞनुपर्छ भन्नुहोस् । सिङ्गो प्रतिबन्धको पक्ष-विपक्षमा बहस गर्नुहोस् ! विचार या आस्थालाई खुला छोडिनुपर्छ भन्नुहोस् । तर, कविता नलेख्नेलाई विचार बोकेकै भरमा समाउन मिल्छ ? गोली हान्न मिल्छ ? कविता लेख्नेलाई चाहिँ समाउन मिल्दैन, अरूलाई मारे हुन्छ भन्नेखालको तर्क नगरौँ ।

माओले भनेका थिए । मानव जीवन सीमित छ तर क्रान्ति असीमित । हो, आज देशलाई जनताको उकुसमुकुस र जनताको आन्दोलनको एक सच्चा नेता चाहिएको छ, देश र जनताप्रति समर्पित । ओखलमा टाउको हालेपछि मुसलको के डर मान्ने र ? कवि पासले भन्नुभएझैँः
हामी लड्छौँ साथी
यो उदास मौसमको विरुद्ध !

(यो लेखकको व्यक्तिगत विचार हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment