Comments Add Comment

छोरालाई सोध्न मन छ- मलाई पाल्छौ ?

मेलम्चीको पाइपबाट उद्धार गरिएकी शान्तिको कथा

१५ असार, काठमाडौं । दाङ तुलसीपुरकी ४९ वर्षीया शान्ति सेन सामाखुशीस्थित मानव सेवा आश्रमको गेट खोल्न आइपुगिन् । गेटभित्र छिर्दै गर्दा उनका हात जोडिए, ‘नमस्ते सर !’ फेरि गेटको ताल्चामा उनैले चाबी घुमाइन् ।

गेटबाटै देखिन्छ, फलामले बेरेको कम्पाउण्डभित्रको भीड । कोही बच्चा समाएर बसेका छन्, कोही टेवलमा झोक्राएका । कोही घोप्टो परेर टाउको ठोकेका छन्, कोही उत्तानो परेर भुइँमा सुतेका छन् । कसैको कुहिएको हातमा पट्टी बाँधिएको छ । कोही सेतै फुलेको टाउको बेसुरमा कन्याउँदैछन् ।

यहीँ छन्, सडकमा बलात्कृत भइ बच्चा जन्माएका विचलित आमाहरु । यहीँ छन्, भोकभोकै फोहोर झिलापित्रा कपडामा सडकमा डुल्ने बाबा । र, यहीँ छन् बाबा-आमाको प्रेम गुमाएर पुल-नदी छेउ सुत्ने युवा-युवती ।

आश्रमका अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यहाँका प्रत्येक मानिस एक-एकवटा चमत्कारिक ग्रन्थ हुन् ।’

तर, हामीलाई शान्ति सेनको कथा सुन्नु छ ।

दाजुको हत्याको खबर सुनेर भड्किएको मन

कालो कुर्तामा रातो पछ्यौरा, सुहाएको छ शान्तिलाई । गहुँगोरो निधारमा रातो टीका । पछ्यौरीले छोप्न भुलेको कालो कपालले शान्तिलाई उज्यालो देखाएको छ । बेला-बेला खिसि्रक्क हाँस्ने उनी त्यति धेरै बोल्न मन पराउँदिनन् ।

तर, मज्जाले सेवा गर्छिन् । मानव सेवा आश्रममा कामलाई सेवा भनिन्छ । उनी खाना बनाउँछिन्, सबैलाई पस्किदिदिन्छन् । भाडा माझ्छिन, झाडु लगाउँछिन् । अशक्त आमा-बाबाको बस्त्र परिवर्तन गरिदिन्छन् । यसोभन्दा पनि फरक नपर्ला कि ! शान्तिको काँधमा मानवसेवा आश्रम काठमाडौंको रेखदेखको ठूलै जिम्मेवारी छ ।

आश्रममा त बेसाहारा, असहायलाई पुर्‍याइन्छ । तर, शान्ति त्यस्ती लाग्दैन ! बरु हातमा भएको सिंगैै एउटा रातो चुराले ठूलो प्रश्न जन्माउँछ, ‘के तपाईका श्रीमान हुनुहुहुन्छ ?’

‘हुनुहन्छ नि ! श्रीमान हुनुहुन्छ । तीनजना छोरा छन् । दाइ, दिदी हुनुहुन्छ’, शान्तिको आवाज मसिनो छ ।

उसोभए उनी किन एक्लै मानव सेवा आश्रममा बसेकी त ?

‘जेठो दाइ….। दाइलाई दुश्मनले मार्दियो’, अविरल बग्दछन् शान्तिका आँखा । मनमा ठूलो झरी पर्‍यो । उनी सुँक्सुकाउन थालिन् ।

‘नरुनुस् । बितेको कुरा सम्झेर रुनुको अर्थ छैन । तपाईसँग यत्रो सुन्दर जीवन छ’, शान्तिलाई यतिबेला दिनका लागि हामीसँग यत्ति एउटा सहानुभूति त हो ।

‘याद आउँछ नि सर !’, शान्ति झन् रुन थाल्छिन् । उनले पछ्यौरीको छेउले आँशु त पुछिन्, तर, आँशुको ढिक्का औँलामाथिबाट उर्फंदै भुइँतिर झर्‍यो ।

शान्तिले ७ पास गरेकी छन् । माइतमा १० विघा जमिन थियो । पाँच/छ परिवारले उनीहरुकहाँ काम गर्थे । शान्तिको १९ वर्षमा तुलसीपुरकै विष्णु चन्दसँग बिहे भयो । तीन छोरा जन्म दिइन् । विष्णुको होटेल व्यवसाय थियो- अर्जुन होटेल । शान्ति साहुनी भइन् । काउण्टरमा बस्थिन् ।

त्यसपछि शान्ति सपरिवार सिमलातिर लागिन् । श्रीमान ठेकेदारी गर्थे, शान्तिले परिवार थामिन् ।

एकपटक शान्ति नेपाल आएकी थिइन् । उनले सुनिन्, ‘नेपाल आर्मीमा भर्ती भएका डोर्ण दाइ मारिए ।’

शान्तिको दिमाग सड्कियो । अहिलेसम्म आँखामा दाइको माया बगिरहेछ, ‘उहाँ मेरो बाबाजस्तो हुनुहुन्थ्यो ।’

त्यसपछि शान्तिको मन मात्र होइन, ज्यान पनि थिरमा रहेन । उनी भन्छिन्, ‘घरमा बस्नै लाग्दैनथ्यो । कहाँ जाम, कहाँ जाम, के गरुँ, के गरुँ हुन्थ्यो ।’

शान्ति माइत गएकी थिइन् । मध्यरातमा घर छोडिन् । त्यसपछि के भयो ? शान्तिलाई थाहा छैन ।

सामाखुशीमा नालाको बास !

थाहा नपाइकन शान्तिले के-के गरिन् ?

अलिकति इन्स्पेक्टर प्रताप पौडेललाई थाहा छ । जतिबेला प्रताप पौडेल गोंगबु प्रहरी वृत्तमा थिए, त्यतिबेला उनले शान्तिलाई देखेका थिए, जतिबेला मान्छेहरु शान्तिलाई भन्थे, ‘पागल ।’

हिलोबाट उठाएको र शान्तिले पहिरिएको कपडामा खास फरक थिएन । उनको शीरमा कपाल छ या माटो, ठम्याउन गाह्रो थियो । हातभरी फलामका औँठी थिए, घाँटीभरि माला । मेलम्चीको पानी ल्याउनका लागि फलामको नाला राखिएको थियो गोंगबुमा । शान्तिको घर त्यही नालामा थियो ।

नालाभित्र बोराका बोरा थोत्रा कपडा, जुत्ता र खेलौना थिए । नजिकै कोही आउन खोज्यो कि शान्तिले ढुंगा, गिट्टी टिपेर हिर्काइहाल्थिन् । कहिले एक्लै गीत गाउँदै बस्थिन्, कहिले चिच्याउँथिन् । रीस उठ्यो कि ढुंगा समाएर मान्छेहरुलाई लखेट्दै हिँड्थिन् ।

विरामी हुँदाकी शान्ति गोंगबुको नालीमा ।

प्रतापलाई सम्झना छ, ‘शान्ति आमा सडकको बीच-बीचमा दौडनुहुन्थ्यो । उहाँकै कारण थुप्रै सवारी दुर्घटना भएको मेरै आँखाले देखेको थिएँ । हाम्रै लागि पनि चुनौती हुनुहुन्थ्यो उहाँ ।’ आजभोलि प्रतापले शान्तिलाई ‘शान्ति आमा’ भनेर बोलाउँछन् ।

शान्तिले काठमाडौंमा मागेर खान्थिन् । होटेल होटेलमा पुगेर भन्थिन्, ‘मलाई बासी भात दे ।’ नजिकै एउटा ठेला पसल थियो । ती ठेला पसले दिदीले प्रेमका साथ शान्तिलाई चिया र पाउरोटी दिन्थिन्, जुन खाना शान्तिका लागि निकै प्रिय थियो । यो संसार प्रेमको भोको छ । हो, उनलाई माया गर्नेलाई शान्तिले पनि माया गर्थिन् ।

तीन महिनापछि उनै ठेला पसलकी दिदीको सहारामा चिया समाएर रातको १२ बजे प्रताप शान्तिको नाला-घरमा पुगे । शान्तिले के प्रतापलाई देखिन्, ढुंगामुढा गर्न थालिहालिन् । प्रतापको टिम ढुंगा समाउँदै शान्तिको नजिक पुग्यो । प्रताप चिया खुवाउन सफल भए । प्रतापको उद्देश्य शान्तिलाई चिया खुवाउनु मात्र थिएन, त्योभन्दा ठूलो उद्देश्य त उनलाई मानव सेवा आश्रमको गेटभित्र छिराउनु थियो ।

तर, शान्ति मान्दै मानिनन् । सडकका मानिसलाई सडक नै प्यारो । शान्तिको दिमाग ठीक ठाउँमा थिएन । उनलाई घर भनेको के थाहा, बन भनेको के थाहा ।

मानव सेवा आश्रम र प्रहीरको टिमले शान्तिलाई अलिअलि फकाए, अलिअलि जबरजस्ती गरे । र, भ्यानमा राखे । त्यतिबेला शान्तिले आफ्ना कवाडी सामान एउटा पनि छुटाउन दिइनन् ।

अनि शान्ति पुगिन्, सामाखुशीको मानव सेवा आश्रममा ।

त्यहाँ पनि शान्ति किन शान्त हुन्थिन् ? आजै गेट खोलिदे भन्थिन्, भोलि नै गेट खोलि दे भन्थिन् । आश्रमका सुमन गर्तौला सम्झन्छन्, ‘सम्हाल्नै गाह्रो थियो । घरै थर्किने गरी चिच्याउनुहुन्थ्यो, कराउनुहुन्थ्यो । एकपटक त कहाँबाट भागेर निस्कनुभएछ । चार दिनपछि फेरि गेट अगाडि आएर उभिइरहनुभएको थियो ।’

त्यसपछि आश्रमले शान्तिलाई न बाहिर जाने गेट खोलिदियो, न त मानसिक रोगको औषधी खुवाउनै बिर्सियो ।

आखिर शान्ति ६ महिनापछि सुरमा आइन् । अहिले शान्ति त्यो क्षण सम्झँदै भन्छिन्, ‘साँझ परिसकेको थियो । म खाटमा थिएँ । वरिपरि दाOm दिदीहरु हुनुहुन्थ्यो । झसंग भएँ । यो त मेरो घर होइन ! यताउति हेरें र दिदी बहिनीलाई सोधेँ, म कहाँ छु हँ, मलाई यहाँ कसले ल्यायो ?’

गोंगबुमा ‘पागल’ को पहिचान बनाएकी यी महिला कुनै दिन होसमा आउन सक्छिन् भनेर शायदै कसैले सोचेको थियो होला । साँच्चिकै प्रेमले ढुंगालाई पनि पगाल्दोरहेछ ।

तथापि साइरन बजाउँदै चिल्लो कारमा गुड्ने सरकारले सडक छेउका शान्ति सेनहरुलाई देख्दै देख्दैन । के कालो सिसाबाट बाहिरको दुनियाँ देखिँदैन ?

माइत जाने रहर

शान्तिले विस्तारै अह्राएको काम गर्न थालिन् । विस्तारै उनलाई काम अह्राउनै परेन । अरुले भन्नुभन्दा पहिले नै काम गरिसक्ने भइन् । र, आश्रमको एउटा सक्रिय सेवकका रुपमा दरिन थालिन् ।

तर, करिब वर्षपछि उनले भन्न थालिन्, ‘मेरो घरमा पुर्‍याइदिनू ।’

उनले यति जिद्दि गरिन् कि घरमा नपुर्‍याई आश्रमले धरै पाएन । शान्ति सुकिली भएर माइत पुगिन् ।

माइती घर देख्नासाथ उनले आँशु खसालेकी थिइन् । सायद त्यो हर्षको आँशु हुनुपर्छ । तर, कस्तो दुःखद । त्यहीबेला शान्तिकी आमाले संसार छाडेर हिँडिछन् । दाइ जयबहादुर कोरामा थिए । जो, अवकाशप्राप्त नेपाल प्रहरी हुन् ।

शान्ति फेरि दुःखको स्मरणमा भक्कानिइन्, ‘दाइले देख्नेवित्तिकै मलाई गाली गर्न थाल्नुभयो । तेरो मुख नदेखा यहाँ, तँ जहाँ पायो त्यहीँ हिँड्छेस्, मेरो बेइज्यत भइसक्यो भन्नुभयो ।’

तर, शान्तिले विलाप गरिन्, ‘म पहिलेकी जस्ती छैन दाइ । घर सम्झेर आएकी छु । यहीँ बस्न चाहन्छु । यस्तो नभन्नुस् ।’

दाइ झन् भुन्भुनिए- ‘जा जा जा.. गैहाल । जहाँ गएर मरे नि मर् । मलाई मतलव छैन ।’

र, त्यही दिन आश्रमले शान्तिलाई फर्काएर काठमाडौं ल्याइपुर्‍यायो । आश्रमका सुमन भन्छन्, ‘त्यसपछि उहाँले कहिल्यै घर लगिदेओ भन्नुभएको छैन ।’

शान्ति अहिले समूहमा छिन् । उनलाई बृद्ध र असक्तको स्याहार गर्दा आनन्द लाग्छ । तर, कहिलेकाँही उनी आफूलाई एक्लो महशुस गर्छिन् ।
उनी सुस्केरा हाल्दै भन्छिन् ‘बाँच्न नै किन पर्‍यो र भन्ने पनि लाग्छ । जिन्दगीदेखि हार खाएँ ।’

शान्ति आफ्नो विगतबारे सम्झेर घोत्लिन्छिन् र आफैंमाथि प्रश्न गर्छिन्, ‘म किन यस्ती भएँ ?’ अनि फेरि आफूले आफैंलाई सन्तुष्ट पार्छिन्, ‘कर्मैले दुःख दियो त के गर्नु !’

शान्तिले श्रीमानको घरमा जाने आँट जुटाउन सकेकी छैनन् । उनलाई लाग्छ, ‘घर छोडेर हिँडेकीलाई के स्वीकार्लान् ? दाइले जस्तै गर्ने त होलान् नि ।’

तर, आफ्नो परिवार र सन्तानको मायामा बाँच्ने इच्छा कुन जीवनलाई नहोला । शान्तिलाई पनि छ । माइत पुग्दा भाउजूबाट सुनेकी थिइन्, ‘श्रीमानले पनि बिहे गरेका छैनन् रे ।’

शान्ति एकछिन् टोलाउँछिन् र भन्छिन्, ‘एकपटक तीनै भाइ छोराहरुलाई भेटेर मलाई पाल्छौ कि पाल्दैनौ भनेर सोध्ने मन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment