Comments Add Comment

सन्तुलित टिम घोषणा, शरदको पुनरागमन

१५ असार, काठमाडौं । उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएपछि टिममा के परिर्वतन आउला ? नयाँ पुराना अनुहार कसको प्रवेश होला, को फालिएलान् ? अनि ब्याटिङको ओपनिङमा देखिएको समस्या कसरी सम्बोधन गर्लान् ?

आइतबार टी–२० विश्वकप एसिया फाइनल खेल्ने वैकल्पिक ४ सहित १८ सदस्यीय टोली घोषणा हुँदा केही जिज्ञासा समाधान भएको छ भने केही बाँकी नै छ ।

पारस खड्काको कप्तानीमा घोषित टोलीमा अधिकांश नियमित सदस्यहरु नै अटाएका छन् । चोटका कारण उनले पछिल्ला केही खेल गुमाएका भेट्रान ब्याट्सम्यान शरद भेषाकवर टिममा फर्किएका छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्य ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी करण केसी त टोलीमा पर्ने नै भए ।
उतारचढावपूर्ण प्रदर्शनका कारण टिममा आउने जाने गरिरहेका विनोद भण्डारी र प्रदीप ऐरी पनि अन्तिम १४ मा परेका छन् । युवा बलर अभिनाश बोहोरा, ललितनारायण राजवंशीसँगै पवन शर्राफ टिममा अटाएका छन् ।

तर लामो समयदेखि राष्ट्रिय टिममा पुनरागमनको प्रयासमा रहेका जितेन्द्र मुखियासँगै कुशल भुर्तेल, सुुशन भारी र आरिफ शेख वैकल्पिक खेलाडीमा परेका छन् ।

सन्तुलित टिम, ओपनिङमा विकल्प

राष्ट्रिय टोलीका कप्तान पारस खड्का घोषित टिम सन्तुलित रहेको बताउँछन् । आपनिङमा देखिएको समस्या कसरी सम्बोधन हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पहिला हामीसँग एकदमै कम विकल्प थियो । अहिले धेरै छ ।’

प्रशिक्षक पटवाल र कप्तान पारसले अहिलेसम्म ओपनिङ जोडीबारे कुनै निर्णय लिइसकेका छैनन् । अब बन्द प्रशिक्षण र मलेसियाँग हुने दुई खेलमा केही प्रयोग हुनेछ ।

घोषित टिम हेर्दा ओपनिङका लागि ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, प्रदिप ऐरी, पवन शरार्फका साथै कप्तान पारस आफैं पनि विकल्पका रुपमा छन् । आफूहरुसँग २० दिन रहेको भन्दै कप्तान पारसले भनेका छन्, ‘ओपनिङ सजिलो छैन तर, टी–२० मा जसले पनि त्यो अवसर लिन सक्छ ।’

बलियो मध्यक्रम

नेपालको धेरै जसो ब्याटिङ मध्यक्रमले धान्दै आएको छ । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँगै युवा ब्याट्सम्यान दीपेन्द्र र रोहित मिडिल अडरमा छन् । पारस र ज्ञानेन्द्र ओपनिङमा गएको अवस्थामा विनोद र प्रदीप मध्यक्रममा खेल्न सक्छन् ।

भेट्रान ब्याट्सम्यान शरद भेषावकरको पुनरागमनले पनि मध्यक्रम थप बलियो भएको छ । कप्तान पारस भन्छन्, ‘उनी नेपाली टिमको महत्वपूर्ण सदस्य हुन् । यो प्रतियोगितामा राम्रो गर्नेछन् ।’ पारसको मतमा प्रशिक्षक भेटवाल पनि सहमत छन् ।

तल्लो क्रममा ब्याटिङ गर्ने बलरद्वय करण केसी र सोमपाल कामी पनि नेपाललाई जित दिलाउन सक्ने क्षमता राख्छन् ।

अभिनाश, ललित र पवनले दिएको विकल्प

नेपालको सबल पक्ष भनेकै बलिङलाई मानिन्छ । धेरै खेल बलरहरु नै जिताएका पनि छन् । तर पछिल्लो समय तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसी मात्र थिए । अभिनाश बोहोराको उदयले यसमा विकल्प दिएको छ ।

नेपालका टी–२० आइकनको छवि बनाइसकेका सन्दीप लामिछाने टिममा निर्विकल्प जस्तै भएका छन् छन् । यसबाहेक भेट्रान स्पीनर बसन्त रेग्मीसँगै युवा बलरहरु ललित नारायण राजवंशी र पवन शरार्फले टिममा आएका छन् ।

बलिङ र ब्याटिङमा पर्याप्त विकल्प भएकाले पारसले टिमलाई सन्तुलित मान्नु स्वभाविक हो । उनी भन्छन्, नयाँ प्रशिक्षक र नयाँ वातारणमा हामी खुसी छौैं तर, महत्वपूर्ण कुरा रिजल्ट हो । सिंगापुरमा जितेर विश्वकप नजिक पुग्न चाहन्छौं ।’

प्रशिक्षक पटवालले पनि नेपाली खेलाडी प्रतिभावान रहेको र यसको नतिजा विश्वकप छनोटमा देखिने बताउँछन् । ‘सबै खेलाडी राम्रा छन् । हाम्रो लक्ष्य भनेको विश्वकप खेल्ने हो । त्यसको लागि यो एसिया छनोट पार गरौं पहिले’ उनले भने ।

नेपालमाथि बढी दबाव

एकातिर २०१४ मा विश्वकप खेलेर अर्को संस्करण गुमाउनू, अर्कोतिर तुलनात्मक रुपमा आफूभन्दा तल्लो क्रममा रहेका देशहरुसँग खेल्नुपर्ने भएकाले सिंगापुरमा टी–२० विश्वकप एसिया फाइनल खेल्दै गर्दा नेपाल दबावमा हुनेछ ।

प्रतियोगितामा आयोजक सिंगापुरसँगै नेपाल, मलेसिया, कुबेत र कतार छन् । हरेक टिमले चार खेल खेल्नेछन् र शीर्ष स्थानमा रहने टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछ । कप्तान पारस भन्छन्, ‘अरु टिमभन्दा केही माथि भएकाले हामीमाथि दबाव हुन्छ । त्यसैले कुनै पनि खेललाई सहज रुपमा लिँदैनौं ।’

यदि एसिया छनोटको शीर्ष स्थानमा रह्यो भने नेपालले टी–२० विश्वकप ग्लोबल छनोट खेल्नेछ ।

यूएईमा हुने ग्लोबल छनोटमा टेष्ट नेशन जिम्बाब्वे र आयरल्यान्डसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमान रहने छन् । यस्तै इष्ट एसिया प्यासिफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट केन्या र नामिवियाले स्थान बनाइसकेका छन् । युरोप र एसिया महादेशबाट १–१ तथा अमेरिकी महादेशबाट भने दुई टिम छनोट हुनेछन् र १४ देशको ग्लोबल छनोट खेल्नेछन् ।

ग्लोबल छनोटका उत्कृष्ट ६ टिमले विश्वकप खेल्ने छन् र, नेपालको लक्ष्य एसिया फाइनल, ग्लोबल छनोट हुँदै टी–२० विश्वकप क्रिकेट २०२० खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment