Comments Add Comment

बालबालिकासँग उनीहरुकै भाषमा बोलौं

बालबालिकासँग कसरी कुरा गर्नुहुन्छ ? बालबालिकाको कुरा कति बुझ्नुहुन्छ ? उनीहरुले भन्न खोजेको र गर्न खोजेको कुरा कसरी थाहा पाउनुहुन्छ ? बालबालिकाले नबोलेर पनि कतिकुरा व्यक्त गर्छन्, त्यसलाई कसरी महसुष गर्नुहुन्छ ?

सामान्य लाग्नसक्छ, तर यी सानातिना कुरामा ध्यान दिइएन भने बालबालिकासँग हाम्रो दुरी बढ्छ । बालबालिकासँग दुरी बढ्नु भनेको उनीहरुलाई धेरै कुरा बञ्चित गर्नुपनि हो । त्यसैले अभिभावकले जहिले पनि बालबालिकासँग सम्बाद गर्नुपर्छ । एकाकार हुनुपर्छ । उनीहरुको भाषा सुन्नु र बुझ्नुपर्छ ।

मेरो बच्चा कस्तो छ ? के सोच्छ ? कसरी सोच्छ ? किन सोच्छ ? के गर्छ ? किन गर्छ ? कसरी गर्छ ? यावत् कुरा अभिभावकलाई थाहा हुनुपर्छ । यसरी आफ्नो बच्चाको मनोविज्ञान र प्रवृत्ति जानेपछि नै उनीहरुलाई हामी उचित रेखदेख गर्न सक्छौ ।

बालबालिका के जान्न खोज्छन् ?

आफ्ना छोरी-छोरी सबैलाई प्यारा लाग्छन् । अझ स-साना बालबालिकाहरु त आँखाका नानी झै हुन्छन् । त्यसैगरी बुवा-आमालाई पनि उनीहरुका सन्तानले उत्तिकै श्रद्धा गर्छन् । अधिकांश बालबालिकाले आफ्ना अभिभावकलाई आदर्श नै मान्छन् ।

अभिभावकले बालबालिकालाई गर्ने व्यवहार अनुसार नै बालबालिकाको व्यक्तित्व समेत विकसित हुँदै जान्छ । बालबालिकाहरु भनेकै हरेक कुरा जान्न खोज्ने, उत्सुक हुने, जिज्ञासा राख्ने स्वभावका हुन्छन् । बालबालिकामा नयाँ कुरा जान्ने, बुझ्ने तथा सिक्ने उत्सुकता हुनु स्वभाविकै हो ।

कतिपय अभिभावकहरु आफ्ना हुन् अथवा अरुका छोरा-छोरीलाई प्याच्च केही भनिदिने बानी हुन्छ । स-साना बालबालिकाहरुले त्यस्ता कुराहरु दिमागमा लिएर बसेका हुन्छन् । त्यसैले ठूला व्यक्तिहरुले स-साना बालबालिकाहरुसँग नकारात्मक अर्थ लाग्ने कुरा गर्दै हुँदैन ।

बालबालिकाहरु स्वभावैले निर्दोष हुन्छन् । हरेक कुरामा चाडै विश्वास गर्छन् । त्यसैले पनि उनीहरुसँग कुनै पनि बेला नकारात्मक कुरा गर्नै हुँदैन ।

आमा-बुवाद्वारा व्यक्त गरिएका नकारात्मक कुराले उनीहरुमा नकारात्मक प्रभाव पर्न सक्छ, उनीहरुको आत्मसम्मानमै ठेस लाग्न सक्छ । त्यसैले पनि हरेक पटक बालबालिकाहरुसंग कुराकानी गर्दा सकारात्मक शब्दहरु जस्तै भेरी गुड, भेरी ह्याप्पी आदि बोल्नु पर्छ । ती शब्दको अर्थ समेत बुझाइदिदा झन् राम्रँे । नराम्रो तथा गलत शब्दहरु बोलियो भने त्यसले बालबालिकाको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले सकेसम्म सकारात्मक कुरा बोलेर उनीहरुको आत्मविश्वास बढाउने प्रयास गर्नु पर्छ ।

के बोल्ने, कसरी बोल्ने ?

कुनै पनि बालबालिकालाई ‘तिमीले यो काम गर्न सक्दैनौं’ नभनौं । बालबालिकालाई चोट पटक नलागोस् भन्नका लागि यो भनाइ त ठिकै होला, तर पटक-पटक यस्ता शब्द प्रयोग गर्नु भयो भने बालबालिकाले यही कुरालाई नकारात्मक रुपमा लिन सक्छन् ।

तिमीले यो गर्न सक्दैनौ, तिमीले यसो गर्नु आवश्यक थिएन, तिमीले यसो गर्नु हुँदैन थियो, तिमी यो किन गर्न चाहान्छौ, तिमीले यस्तो गर्नु हुँदैन जस्ता नकारात्मक शब्दले बालबालिकालाई निराश बनाउन सक्छ । बारम्बार उनीहरुलाई रोक लगाउँदा अभिभावकले बालबालिकाको क्षमतामै रोक लगाएको जस्तो हुन्छ ।
बालबालिकाहरुलाई बारम्बार हरेक कामबाट रोक्न खोज्दा उनीहरुको क्षमतामै रोक लगाए जस्तो हुन्छ, उनीहरुको आत्मविश्वासमा पनि कमि आउँछ । हामीले के बुझ्न अनिवार्य छ भने बालबालिकाहरुले गल्ति गरेरै सिक्ने हो ।

बालबालिकाहरुलाई अरु बालबालिकासँग तुलना गरेको मन पर्दैन । यद्यपि, अधिकांश अभिभावकहरु आफ्ना सन्तानलाई आफ्ना नातागोताका सन्तानसँग तुलना गर्छन् । कतिपय अभिभावक त आफ्ना बालबालिकाको तुलनामा उनीहरुकै भाइ-बहिनीसँग गर्छन् । यसरी तुलना गर्दा बालबालिकामा हिनतावोध हुने तथा इष्र्टाको भावना पैदा हुन सक्छ । यस्तो अवस्थामा एउटै परिवारका बालबालिकाबीच समेत प्रतिस्पर्धि भावना उत्पन्न हुन सक्छ ।

तुलना नगरौं

हामीले के बुझ्नु अनिवार्य छ भने सबै बालबालिका समान हुँदैनन् । एक जनाको तुलना अर्कोसँग गर्दाले त्यसको नकारात्मक प्रभाव उनीहरुकै सम्बन्धमा मात्र होइन, भविष्यमा समेत पर्ने डर हुन्छ ।

बालबालिकाहरुलाई तिमी अब ठूलो अथवा ठूली भयौं भनेर सम्झाइरहनु पर्दैन । उनीहरुले आफ्नो उमेर अनुसारको प्रतिक्रिया आफैंले जनाइरहेका हुन्छन् । त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । उनीहरुको बालसुभल क्षणलाई अभिभावकले खोजिदिनु हुँदैन ।

कतिपय अभिभावकहरु आफ्ना स-साना छोरा-छोरीसँग सानो कुरामा रिसाएर बोल्नै छाडिदिन्छन् । यस्तो गल्ति कहिले पनि गर्नु हुँदैन । बालबालिकासंग बोलचालै बन्द गर्ने काम गर्दै नगर्नु राम्रो । यदि अभिभावकलाई बालबालिकाको कुनै निर्णय, काम अथवा व्यवहार मन परेको छैन भने बोलचालै बन्द गर्नुका साटो उनीहरुलाई त्यसका बारेमा विभिन्न जिज्ञासा राखेर पनि समस्यालाई समाधान गर्न सकिन्छ । मिठासपूर्ण बोली बोलेरै बालबालिकाको मन जित्ने प्रयास गर्नु पर्छ ।

अधिकांश अभिभावकलाई आफ्ना सन्तानहरु सधैं सानै लाग्छन् । साना छन् भन्दैमा उनीहरुलाई हरेक कामबाट बन्चित गराउनु हुँदैन । उनीहरुको उमेर अनुसारको काम गर्न छुट दिनु पर्छ । यसबाट बालबालिकाहरुले खुल्ने अवसर पाउँछन् । आफ्नो घरपरिवार, नातागोता, छरछिमेकलाई चिन्ने मौका पाउँछन् ।

अधिकांश आमाहरु आफ्ना बालबालिकालाई ‘बुवालाई सबै कुरा भनिदिन्छु’ भन्दै उनीहरुमा बुवाप्रति एक प्रकारको डर पैदा गराइदिन्छन् । यो गलत हो ।

बालबालिकालाई अस्विकार नगरौं

अभिभावकले आफ्ना बालबालिकाका अधिकांश प्रस्तावहरुलाई ठाडै अस्विकार गर्नु हुँदैन । कुनै पनि कुरामा सोझै नाई भन्नु उचित हुँदैन । यस्तो कुराले उनीहरुको भावनामा चोट पुर्‍याउँछ । सधैं नो भनिदिँदा बालबालिकाको आत्मविश्वासमा ठेस लाग्न सक्छ । उनीहरुले आफ्ना अभिभावकलाई समेत विश्वास गर्न छाड्छन् । आफ्ना छोरा-छोरीले अनावश्यक कुरामा जिद्दी गरिरहेका छन् जस्तो लाग्छ भने उनीहरुलाई सम्झाउने-बुझाउने प्रयास गर्नुपर्छ ।

हरेक बालबालिकाका लागि उनीहरुका आमा-बुवा नै सबै कुरा हुन्छन् । त्यसैले बुवा-आमा जति नै समस्यामा भएपनि, जति नै थाके पनि उनीहरुलाई कहिले पनि ‘मलाई एकान्तमा बस्न देउ, मेरो अगाडि नबस, म तिमीलाई एक्लै छाडेर जान्छु जस्ता शब्दहरु प्रयोग गर्नु हुँदैन । अभिभावकको यस्तो कुराले उनीहरुलाई दुःखी बनाउँछ । अभिभावकबाट यस्ता कुरा सुनेपछि उनीहरुको मनमा समेत आफूलाई बुवा-आमाले माया गर्दैनन्, मन पराउँदैनन् अथवा बुझ्दैननन् भन्ने पर्छ । जसले बालबालिका र अभिभावकबीचको दुरी बढाउँदै लैजान्छ ।

अधिकांश अभिभावकहरु आफ्ना बालबालिकासँग आफ्नो आर्थिक अभाव व्यक्त गर्छन् । थोरै हदसम्म यो ठिकै होला, तर यदि उनीहरुले कुनै महंगो खेलौना अथवा सामानका लागि जिद्दी गरे भने सोझै गाली गर्नु हुँदैन, उनीहरुलाई प्रेमपूर्वक सम्झाउने प्रयास गर्नु पर्छ । गाली गर्नुको साटो पैसा जम्मा गरेर उनीहरुको रोजाइको कुरा किन्नका लागि प्रेरित गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment