Comments Add Comment

‘सरकार नै नलागेसम्म कान्ति बाल अस्पताल सुध्रिदैन’

डा. गणेश राई कान्ति बाल अस्पतालको निर्देशक बनेको दुई वर्ष भयो । नियुक्तिअघि नै उनलाई थाहा थियो, नदुखेको टाउको दुखाउने पद हो यो । लामो बेथितिले गिजोलेको अस्पताल कुनै व्यक्ति वा उसको सानो टिमले सुधार्न सम्भव छैन भन्ने पनि उनलाई थाहा थियो । उनको अनुभव पनि त्यस्तै छ ।

प्रस्तुत छ, निर्देशक डा. राईसँग अनलाइखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानी  :

कान्ति बाल अस्पतालको निर्देशकको रुपमा दुईवर्षे अनुभव कस्तो छ ?

नदुखेको टाउको चोयाले बाँधेर दुखाएजस्तो भएको छ । तर, जिम्मेवारी लिएपछि काम गर्नैपर्‍यो ।

कुनैपनि संस्थामा एउटा मान्छे र उसको टिमलाई तलदेखि माथिल्लो तहसम्मले सहयोग गर्नुपर्छ । हामीलाई त विभागदेखि मन्त्रालयसम्मको सहयोग चाहिन्छ । सतप्रतिशत सहयोग काहीँ पनि हुन्न, म त्यो आशा गर्दिन पनि ।

कान्तिको सेवा प्रवाहमा ठूलो जनगुनासो छ नि ?

कसैले कान्तिको सेवा झुर छ भन्छ भने त्यो असत्य होइन । सेवा किन झुर भयो र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरा म भन्छु ।

नेपालको ४० प्रतिशत अर्थात १ करोड २५ लाख जनसंख्या बिरामी पर्दा आउनुपर्ने कान्ति बाल अस्पताल १५-२० वर्ष पुरानो दरबन्दीमा चलेको छ । भवन र उपकरण त्योभन्दा पुरानो छ । यो अवस्थामा सेवाको गुणस्तर खस्कन्छ नै ।

हामीसँग बालबच्चाको लागि नाक, कान घाँटीको सर्जन छैनन् । मुटु र हड्डीका सर्जन छैनन् । न्यूरो सर्जन पनि छैनन् । यस्ता धेरैवटा सेवा छैनन् । बालबच्चाको एकमात्र केन्द्रीय अस्पतालमा यस्ता सेवा नभएपछि कसरी राम्रो भन्न सकिन्छ ?

सरकारी अस्पताल वीरमा वयस्क बिरामीका लागि सबैखाले सेवा छ । । तर, बच्चाहरुको अस्पताललाई हेला गरेर चलाइएको छ । यसरी भेदभाव गर्न त नमिल्नु पर्ने हो नि ।

अर्को कुरा, देशभरका बालबालिकाको उपचार गर्ने केन्द्रीय अस्पताल भएकाले एक जना बिरामी आउँदा परिवारै कुरुवा बस्छन् । त्यसले गर्दा फोहोर धेरै हुन्छ । कोही त अस्पताल पछाडिको खुल्ला ठाउँमा दिसा गरिरहेका भेटिन्छन् । यहाँ सफाइ कर्मचारी पनि कम छन् । त्यसैले फोहोर ज्यादा छ ।

तपाई निर्देशक भएपछि अस्पताल सुधारमा के प्रयास गर्नुभयो ?

कान्तिमा स्वास्थ्य मन्त्रालयले निर्देशक नियुक्त गर्छ । अस्पताल सुधारको लागि मन्त्रालयसँगै समन्वय हो । तर, बजेट भए पो समन्वयको अर्थ हुन्छ ।

सरकारले दरबन्दी नखुलाएकाले सबै बालरोग विशेषज्ञकै तलबमा काम गरिराखेका छन् । पीडा नै पीडा छ यहाँ

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार देशको कुल बजेटको १० प्रतिशतभन्दा माथि स्वास्थ्य क्षेत्रले पाउनुपर्छ । विकसित देशहरुले त १५-२० प्रतिशतसम्म बजेट स्वास्थ्यका लागि छुट्याउँछन् । नेपालमा भने मुस्किलले चार प्रतिशत छुट्याइएको छ । अब मन्त्रालयले यो कनिका कान्तिलाई देओस् कि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाओस् ? कि राजविराजतिर खर्च गरोस् ?

अर्थमन्त्रालयले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट र सामान्य प्रशासन मन्त्रालयले दरबन्दी स्वीकृत नगरेसम्म सरकारी अस्पतालहरु यस्तै रहन्छन् ।

कान्तिका सबै चिकित्सक बालरोग विशेषज्ञको दरबन्दीमा छन् । उनीहरुलाई सरकारले तालिम दिएको होइन । आफैं पढेर, सिकेर, मुटु, मानसिक रोग, क्यान्सर आदिको विशेषज्ञ चिकित्सक बनेका हुन् । तर सरकारले दरबन्दी नखुलाएकाले सबै बालरोग विशेषज्ञकै तलबमा काम गरिराखेका छन् । पीडा नै पीडा छ यहाँ ।

दरबन्दी बढाउन भनिरहेका छौं, तर स्वास्थ्य, सामान्य र अर्थमन्त्रालयको समन्वय मिलेको छैन । मन्त्रालय वा कुनै निकायतिर दोष देखाएर के गर्नु, सिंगो सरकार नै नलागेसम्म यस्तै रहन्छ ।

अरु सरकारी अस्पताल त कान्तिभन्दा राम्रा छन् त ?

तपाईले गंगालाल हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरसँग कान्तिको तुलना गर्नु भएको हो भने त्यो अन्याय हुन्छ ।

हामी अहिले बसिरहेको निर्देशकको भवन ५७ वर्ष पुरानो हो । अहिले पानी परेको भए तपाईले छाता ओढेर मसँग कुरा गर्नुपर्थ्यो । भित्ताहरु चर्किएको, ट्वाइलेटको हालत पनि देख्नुभयो नै होला । यो सब ५७ वर्षअघिको जनसंख्यालाई लक्षित गरेर बनाइएका हुन् । जनशक्ति र उपकरणको कुरा पनि यही हो ।

अर्को कुरा, कान्तिमा एकजना स्टाफ नर्सले मासिक २३ हजार तलब पाउँछ । त्यही नर्सले मोनमोहनमा ४१ हजार र गंगालालमा ४५ हजार रुपैयाँ बुझ्छ । यहाँ मेडिकल अफिसरको तलब ३५ हजार छ भने त्यता ८० हजार । यहाँ पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स)को पढाइ हुन्छ, बालरोग विशेषज्ञ उत्पादन हुन्छन्, तर वीरमा पढाउनेले न्याम्सको भत्ता पाउछन्, यहाँ पढाउनेले पाउँदैनन् । यही कारण यहाँका कर्मचारी पनि वीर या टिचिङमा जान मरिहत्ते गर्छन् ।

देशभरका गरिब बिरामी आउने कान्ति, मानसिक अस्पताल र प्रसूति अस्पताललाई धेरै विभेद गरिएको छ । मन्त्रालयमा यो कुरा उठाइरहेका छौं ।

मनमोहन र गंगालालमा निःशुल्क भनिने अपरेसनको पैसा स्वास्थ्य मन्त्रालयले दिन्छ । कान्ति चाहिँ त्यस्तो बाल अस्पताल हो, जहाँ हामी गरिबका बालबच्चाको निःशुल्क उपचार गर्छौं । खाने, बस्ने र औषधिसम्म किनिदिन्छौं ।

तपाई गंगालाल र मनमोहन सेन्टरमा एक रुपैयाँ नभएका बिरामी उपचार गरेर फर्किएको देखाउन सक्नुहुन्न, तर यहाँ एक सुका नभएर पनि उपचार पाएका बिरामीहरु धेरै भेट्नु हुन्छ ।

स्वास्थ्य मन्त्रालयले किन कान्तिलाई सौतेनी व्यवहार गरेको होला त ?

पहिलो कुरो मनमोहन कार्डियोथोरासिक सेन्टर शिक्षा मन्त्रालयअन्तर्गत छ भने गंगालाल हृदयरोग केन्द्र स्वायत्त । कान्ति भने स्वास्थ्य मन्त्रालय अन्तरगत छ । ती स्वास्थ संस्थाहरु आफैं कर्मचारी ‘हायर एण्ड फायर’ गर्छन्, बढी सुविधा दिन्छन् । हामी भने स्वास्थ्य मन्त्रालयको निर्णयविना केही गर्न सक्दैनौं ।

यहाँका डाक्टरहरुलाई मन्त्रालले कुनै तालिम दिएको छैन । बच्चाको सर्जन र डाक्टरबाहेक बिषेशज्ञको दरबन्दी नै छैन । जबकी, यस्तो केन्द्रीय अस्पतालमा हरेक अंगको बिषेशज्ञ चाहिन्छ ।

अहिले कान्तिलाई के-के आवश्यक छ ?

कान्तिलाई साँच्चै सुधार्ने हो भने नयाँ भवन र अहिलेको भन्दा पाँच गुणा बढी जनशक्ति चाहियो । बजेट बढाउनु पर्‍यो, विशेषज्ञ सेवा बिस्तार गर्नु पर्‍यो । काम गर्ने कमर्चारीलाई तालिम दिन र दलीय राजनीतिलाई अस्पतालको कम्पाउण्ड बाहिर फाल्नु पर्‍यो । त्यसपछि कान्तिले काचुली फेर्न र गरिब बिरामीले राहत अनुभव गर्न पाउँछ ।

५२ बेडको आईसीयू सेवा चाहिँ किन घट्यो ?

यो अस्पताल ३७० बेड क्षमताको हो, तर स्वास्थ्य मन्त्रालयले २५० बेड स्वीकृति दिएको छ । हामीसँग जनशक्ति नभएकै कारण ५०-५५ बेड चलाउन सकेका छैनौं । आईसीयू सेवा घटाएको कारण पनि त्यही हो ।

आईसीयूमा ५२ वटै बेड चलाउँदा एक सिफ्टमा कम्तिमा १५६ जना नर्स चाहिन्छ । तर, मन्त्रालयले नर्सको कुल ७४ दरबन्दी दिएको छ । अनि, कान्तिबाट अब्बल सेवाको अपेक्षा कसरी गर्न सक्नुहुन्छ ?

यो पनि पढ्नुस्ः 

सरकारी अस्पतालको दुरावस्था-१ः आफैं बिरामी छ कान्ति बाल अस्पताल

सरकारी अस्पतालको दुरावस्था-२ः ‘निजीलाई पोस्न कान्ति बाल अस्पतालको बेहाल’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment