Comments Add Comment

‘निजीलाई पोस्न कान्ति बाल अस्पतालको बेहाल’

मुलतः सरकारको अकर्मण्यताका कारण कान्ति अस्पताल ध्वस्त भयो । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बस्नेहरु निजी अस्पतालको प्रभावमा नपरेको कान्तिले सरकारी बजेट पाउँथ्यो, जनशक्ति थपिन्थ्यो र यो अस्पतालको अवस्था राम्रो हुन्थ्यो । कान्ति बाल अस्पताल राम्रो बनेको भए नेपालभरका गरिब परिवारका बालबालिकाले सेवा पाउँथे ।

कान्तिमा न मन्त्रीको नजर पर्छ, न त कर्मचारीको । गरिबका बालबालिका आउने अस्पतालप्रति कसैलाई मतलब छैन । आफ्नो वर्गको बालबालिकाको उपचार एक से एक निजी अस्पतालमा भएपछि कान्तिमा किन जनशक्ति थप्नु पर्‍यो, किन बजेट दिनुपर्‍यो ?

निजी अस्पतालहरुलाई मज्जाले मौका दिइरहेको सरकारले सरकारी अस्पतालहरुको विकासमा लगानी गरेको छैन । यसमा पनि सबैभन्दा बेवास्तामा परेको कान्ति बाल अस्पताल नै हो । कान्तिमा सरकारी लगानी बढ्यो भने निजी बाल अस्पतालहरु सुक्ने भएकाले यो अवस्था सिर्जना गरिएको प्रष्टै छ ।

बचाउन सकिने बालबालिका पनि मरेको हेर्न परेको दारुण स्थिति छ । अब त सरकारको मन पग्लिन पर्‍यो !

कान्ति भद्रगोल बन्दा निजीलाई फाइदा हुन्छ । कान्तिको आईसीयू नचल्दा निजीको आईसीयू भरिभराउ हुन्छ । नत्र, ५२ बेडको आईसीयू ३० बेडमा झरिसक्दा स्वास्थ्य मन्त्रालय टुलुटुलु हेरेर बस्ने थिएन होला ।

कान्तिलाई पहिलाको अवस्थामा फर्काउन अब सानोतिनो सुधारबाट सम्भव छैन । मलाई लाग्छ, कान्ति किन धरासायी बन्यो भनेर छलफल गर्न योभन्दा ढिला गर्नु हुँदैन ।

अहिले करारमा कर्मचारी राख्न नपाउने नियम बनाएर कान्तिका अनेक रोगमध्ये एउटाको निदान गरिएको छ । तर, सरकारले लोकसेवामार्फत जनशक्ति थप्न कुनै चासो दिएको छैन । केही महिनामै आईसीयूका २० र जनरल वार्डका ४६ वार्ड कटौती हुँदाको घातक असर गरिब बिरामीहरुमा परेको छ । बचाउन सकिने बालबालिका पनि मरेको हेर्न परेको दारुण स्थिति छ । अब त सरकारको मन पग्लिन पर्‍यो !

कान्ति बाल अस्पतालमा सेवा शुल्क बढाउन सम्भव छैन । यो अस्पतालमा सरकारी लगानी वृद्धि र जनशक्ति आपूर्ति अनिवार्य छ ।

निर्देशक कमजोर भएर यो अस्पताल बिग्रेको भन्ने कुरामा सहमत हुन सकिन्न । निर्देशकको त कर्मचारीलाई कसरी तलब खुवाउने भन्ने टन्टामै दिन बित्छ ।

कान्ति अस्पतालको पहिलेको कान्ति फर्काउन अब छुट्टै स्वायत्त संरचना बनाएर भिजन भएका असल मानिसहरु ल्याउनुपर्छ । त्यो कुनै गाह्रो काम होइन । कान्तिले विशेषज्ञ डाक्टर (रेजिडेण्ट) उत्पादन गरिरहेको छ । बिरामीको लागि अस्पताल छँदैछ । नयाँ भवनहरु बनाउन आफ्नै जग्गा पनि छ ।

कान्तिलाई ‘रिसर्च सेन्टर’को रुपमा अघि बढाउनुपर्छ । त्यसरी अगाडि बढाउने हो भने कान्तिले सात वटा प्रदेशमा बाल अस्पताल बनाउँछ । त्यो अवस्थामा एकातिर केन्द्रमा बिरामीको चाप घट्छ भने अर्कोतिर गरिब अभिभावकहरुलाई राहत पुग्छ । कान्तिमा दुई-चार बेड थपेर अहिलेको जनसख्यालाई धान्न सकिने पनि होइन ।

(अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस आफैं बिरामी छ कान्ति बाल अस्पताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment