+
+

अंक थपेर सुरेन्द्रलाई तीन वटा डिग्री दिएको त्रिविद्धारा स्वीकार

रजिष्टार भन्छन्–संस्थागत होइन व्यक्तिगत त्रुटि

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते २०:५०

१७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर यो संस्थागत नभइ व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीहरुको तर्क छ ।

९ अंक ल्याउका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार पाइएपछि अख्तियारले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ ।

यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलायो । बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरेका छन् ।

रजिष्टार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता छैन । उनले भन्दा ६/७ प्रतिशत बढी नम्बर ल्याउने पनि छन् ।’

कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिष्टार उप्रेतीले जानकारी दिए ।

‘९ लाई ६९ नम्बर बनाउनु व्यक्तिगत त्रुटि’

रजिष्टार उप्रेतीले ९ नम्बरमा ६० थपेर पास गर्ने त्रुटि संथागत नभइ व्यक्तिगत भएको प्रष्टीकरण दिएका छन् ।

‘यो संस्थागत नभइ व्यक्तिगत त्रुटि हो । यसलाई त्रुटि मात्रै नभएर एउटा दुर्घटना नै भन्न चाहन्छु’ उप्रेती अगाडि भन्छन्, ‘त्रिविको साख जोगाउनका लागि यस्ता गलत कार्य रोक्न र आगामी दिनमा हुन नदिन अन्य विभागमा पनि यस्ता गलत कार्य भएका छन कि भनेर अध्ययन गर्ने तयारी गरेका छौं ।’

समिति सदस्यहरुले भने यो प्रकरणले विगतमा पनि नम्बर थपेर पार गराउने, गोल्डमेडल दिने कार्य हुँदै आएका थिए भन्ने पुष्टि गरेको दाबी गरेका थिए । जवाफमा रजिष्टार उप्रेतीले यसबारे अध्ययन गर्ने आन्तरिक रणनीति बनाएको बताए ।

कसरी थपियो ९ मा ६० नम्बर ?

रजिष्टार उप्रेतीकाअनुसार बिद्यार्थीले परिक्षा दिइसकेपछि उत्तरपुस्तिकालाई एकीकृत गरेर सम्बन्धित परीक्षा केन्द्रले परीक्षा नियन्त्रण कार्यालयमा पठाउँछ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक उत्तरपुस्तिकाको भित्रि र बाहिर पृष्ठको नम्बर मिले नमिलेको चेक गर्छ । ‘कसैले छुट्टै पन्नामा उत्तर लेखेर टाँसेको रहेछ भने बाहिर पृष्ठमा थपिएको कापीको नम्बर हुँदैन । वा थपिएकोमा पनि नम्बर नहुनसक्छ । यो हेर्न भित्री र बाहिरी पृष्ठको नम्बर चेक गर्ने गर्दछौं,’ उप्रेतिले भने ।

भित्री र बहिरी पृष्ठको नम्बर नमिलेको अवस्थामा त्यसलाई रद्ध गर्ने र मिलेकाहरुको हकमा बाहिरी पृष्ठ राखेर पुनः नम्बरिङ गरी जाँचका लागि शिक्षकहरु कहाँ पठाइन्छ । कसको कापी कहाँ गएको छ भन्ने पनिकालाई थाहा हुने तर, शिक्षकले कसको उत्तरपुस्तिका जाँच गरेको हो भनेर पत्ता लगाउन नसक्ने उनले बताए ।

शिक्षकले उत्तर पुस्तिका जाँच गरेर पठाएपछि पनिकाको समितिले केही नमूना लिएर उत्तरपुस्तिका जाँच मिले नमिलेको हेर्छ । यदि कुनै नमिलेको भेटिए सच्याइन्छ । यही सच्याउने बेला (नम्बर इन्ट्रीमा) ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बर दिइएको पाइएको रजिष्टार उप्रेतीले बताए । ‘नम्बर इन्ट्री गर्ने बेला मानविकी संकायका गोप्य शाखाका प्रमुखले ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिनु भएछ’ उनले भनेका छन् ।

‘मार्कस्लिपमा ९ नम्बर मात्र’

समिति बैठकमा रजिष्टार उप्रेतीले मार्कस्लिपमा ९ नम्बर नै रहेको (प्रिन्ट पेपर) समिति बैठकमा देखाएका थिए ।

‘मार्कस्लिपमा ९ नम्बर नै छ । तर, पछि ६९ बनाइएको रहेछ’, उप्रेतीले पेपर देखाउँदै भने । कोइरालालाई २०७२/७३ को वाषिर्क परीक्षाको नतिजामा एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका हुन् । नम्बर थपिदिएको आरोपमा गोप्य शाखाका अधिकृत रामु कर्माचार्य पक्राउ परिसकेका छन् ।

यसअघि पनि कर्मचारीहरूकै संलग्नतामा फेल भएकालाई बढी नम्बर चढाएर पास गराउने र कम नम्बर ल्याएकालाई नम्बर थप गरेर बढी बनाइदिने गरिएको आंशकामा अख्तियारले पनि छानबिन जारी राखेको जनाएको छ ।

आफूहरुले नै आन्तरिक रुपमा नम्बर थपिदिने लगायतका गलत कार्यका सन्दर्भमा प्रतिवेदन बनाएर अख्तियारमा बुझाइएको रजिष्टार उप्रेतीले जानकारी दिए ।

नम्बर थपेर प्रमाणपत्र जारी भएको विषयमा छानबिन गर्न पनिकाले पनि प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

सुरेन्द्रलाई ६० नम्बर थपेर ६९ बनाएर मार्कसिट दिएको विषय आफुहरुले गत चैतमा थाहा पाएको रजिष्टार उप्रेतीले बताए । त्यसपछि नै आफुहरुले आन्तरिक रुपमा अध्ययन गरिरहेको र अहिले यो विषय बाहिर आएको उनको भनाइ थियो ।

नम्बर थपेर डिग्री हात पार्ने कोइराला भने पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?