Comments Add Comment

विराटनगर बाहिरी चक्रपथ २२ वर्षदेखि अलपत्र

१७ असार, विराटनगर । २२ वर्षअघि निर्माण सुरु भएको विराटनगरको बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । ४२ किलोमिटरको चक्रपथमध्ये ३७ किलोमिटरको मात्रै ट्रयाक खोलिएको छ ।

तत्कालिन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले २०५४ सालमा ४२ किलोमिटर लामो चक्रपथको शिलान्यास गरेका गरेका थिए । त्यसपछि यो योजना सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय हुँदै अहिले प्रदेश सरकार मातहत आइपुगेको छ ।

चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा फ्रिज हुने गरेको छ । चक्रपथ निर्माणका लागि पटक पटक गरी हालसम्म ५० करोड रुपैयाँ विनियोजन भएको छ, तर त्यसमा २५ करोडभन्दा बढी फ्रिज भएको छ ।

‘सरकारले चक्रपथ निर्माणका लागि ठूलो स्केलमा बजेट विनियोजन गरेको छैन, सानो स्केलको बजेटले काम गर्ने स्थिति छैन’ प्रदेश १ सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रामसुवर्ण चौधरीले भने । चालु आर्थिक बर्षमा ५ करोड ५ लाख रुपैयाँ विनियोजन भएकामा १ करोड ६० लाख रुपैयाँमात्र खर्च भएको छ ।

संघीय सरकारबाट यही बर्ष हस्तान्तरण भएको चक्रपथका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसको लागत ५ अर्ब रुपैयँ अनुमान गरिएको छ ।

मुआब्जाको विवाद

चक्रपथ निर्माण अघि नबढ्नुमा मुआब्जा विवाद पनि प्रमुख कारण रहेको छ । चक्रपथको ४२ किलोमिटरमध्ये ५ किलोमिटर क्षेत्रमा मुआब्जा विवाद छ । ‘मानव वस्ती रहेको क्षेत्रमा ट्रयाक खोल्न समस्या छ’ इन्जिनियर चौधरीले भने ।

सार्वजनिक निजी साझेदारीमार्फत सरकारले स्थानीयको २ सय ११ विघा जग्गा लिएर चक्रपथ बनाउने र सडकका दुवैपट्टि एक सय मिटर जग्गा प्लानिङ गरी स्थानीयलाई नै फिर्ता गर्ने योजना अघि सारेको थियो ।

तर सर्वसाधारणले आफ्नो जग्गाको मुआब्जा पाउनुपर्ने अडान राखेका छन् । प्रदेश प्रहरी कार्यालयको दक्षिणपट्टि दरैयामा चक्रपथका कारण १२ वटा घर भत्किने अवस्था छ ।

दरैयाका वासिन्दा आनन्दी ठाकुरले आफू उठीबास भएर चक्रपथका लागि जग्गा नदिने बताए । ‘वैकल्पिक व्यवस्था नभएसम्म म घर छाड्न तयार छैन’ उनले भने ‘पहिला मेरो समस्या हल हुर्नुपर्छ, अनि मात्र अन्य विकल्प सोचौंला ।’

तत्कालिन समयमा चक्रपथलाई स्थानीयले दिएको जग्गा अहिले पनि स्थानीयकै नाममा रहेको छ । उनीहरुले मालपोत करसमेत तिर्दै आएका छन् ।

निर्माण नसकिँदै अतिक्रमण !

कटहरी क्षेत्रमा चक्रपथको ४ किलोमिटर सडकमा स्थानीयले पुन खेती गर्न शुरु गरेका छन् । निर्माणले गति नलिएपछि स्थानीयले सडक जोतेर खेत बनाइसकेका छन् ।

‘इन्जिनियर चौधरीले भने, ‘धेरैजसो स्थानमा स्थानीयले पुनः सडक मासेर खेत बनाएका छन्, कतिपय स्थानमा सडकमै टहरा हालेका छन् ।’

यस्तो हो चक्रपथको योजना

तत्कालीन विराटनगर उपमहानगरपालिका र आसपासका कटहरी, भौडाहा, वैजनाथपुर, झोराहाट, लखन्तरी, हात्तीमुडा र टंकीसिनुवारी गाविसलाई जोड्ने गरी जग्गा विकास योजनासहितको चक्रपथ निर्माणको काम शुरु भएको थियो । यी मध्ये अधिकांश गाविसहरु अहिले विराटनगर महानगरपालिकामा समेटिएका छन् ।

चक्रपथका लागि सिङ्घिया नदीमा दुईवटा ठूला पुल बनाउनुपर्ने हुन्छ । चक्रपथको सहायक मार्ग आठदेखि १० मिटरका हुनेछन् । हालसम्म चक्रपथको २५ किलोमिटर सडक ग्राभेल गरिएको छ । १२ किलोमिटर कालोपत्रे भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment