
२० असार, वीरगञ्ज । नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीले आपसी विवादमा धारिलो हतियार चलाउँदा तीनजना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका-१५ त्रिशुल चोकमा डेरा गरी बस्ने २८ वर्षीय रञ्जितप्रसाद रौनियार, २५ वर्षीय चाँदनीदेवी रौनियार र उनीहरुकी आमा ६० वर्षीय मीनादेवी रौनियार घाइते भएका हुन् ।
उनीहरुलाई सर्लाही घर भइ सँगै डेरा गरी बस्ने नेशनल मेडिकलमा एमबीबीएस पढ्दै गरेका अरवीन्द सहनीले शुक्रबार बिहान धारिलो हतियारले हानेका थिए ।
घटनापछि अरवीन्द फरार छन् । अरवीन्द र रञ्जित दुवै नेशनल मेडिकलमा एमबीबीएस अध्ययनरत छन् ।
रञ्जितको पेटमा चोट लागेको छ भने मीना र चाँदनीको हातमा चोट लागेको छ । उनीहरुको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।
घरायसी विवादमा रञ्जितले चक्कुले हानेर घाइते बनाए पनि प्रहरीले चक्कु फेला नपरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे थप अनुसन्धान भइरेहेको जानकारी दिए । ‘चक्कु प्रहारबाट घटना भएको बताइएको छ, घटनास्थलबाट कुनै पनि धारिलो हतियार फेला परेको छैन । प्रहार गर्ने फरार छन् ।’ उनले भने, ‘उनको खोजीसँगै घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’
प्रतिक्रिया 4