+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यात्रुलाई सभ्य बनाउने एउटा बस

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ असार २१ गते १०:४५

२१ असार, काठमाडौं । बा ४ ख २७२४ । कमलविनायक–कोटेश्वर–बागबजार रुटमा चल्ने यो बस यो बस गंगाराम खाइजु (४२) ले चलाउँछन् । बसमा चढ्नासाथ यात्रुको आँखा ‘सिस्टमबद्ध, झै–झगडामुक्त ख्वपः यातायातमा तपाईंलाई स्वागत छ’ लेखिएको कागजमा ठोकिन्छ ।

बसमा लेमिनेसन गरेर टाँसिएका यस्ता थुप्रै सन्देश छन् । तर सन्देशका कारण होइन, सामूहिक सुविधाका लागि चालकले बनाएको ‘सिस्टम’ले यात्रुहरुलाई दंग पार्छ । कोटेश्वरबाट ब्यासी जान बस चढेकी रजनी काफ्लेले भनिन्, ‘काठमाडौंमा यस्तो बस पनि चल्दो रहेछ ।’

बस सह–चालकविहीन छ । स्टपहरुमा पुग्दा यात्रु बोलाउन मध्यम आवाजको ‘रेकर्डेड’ माइक बज्छ । बस कुन रुट भएर जाने हो, त्यसैले भन्छ । यात्रुहरु बस छेउ आएपछि ढोका स्वतः खुल्छ, यात्रु चढेपछि बन्द हुन्छ ।

यो बसको ‘अटोमेटिक डोर लक-अनलक’ प्रविधि गंगाराम आफैंले स्थानीय ग्यारेजमा बनाएका हुन् । चालक सिटबाट ढोकासम्म फलाम फेब्रिकेन गरेर बनाइएको यो ‘सिस्टम’ले सबैको ध्यान तान्छ ।

सिट खाली भन्दै हातै तान्न आउने सह–चालक नभएकाले यो बसमा प्रायः सिट बराबर मात्र यात्रु हुन्छन् । भनेपछि, ओर्लदा ‘छिटो झर्नुस्’ भन्ने कर्कश स्वर पनि सुन्न पर्दैन । चालकले नै यात्रुहरुको रेखदेख गर्ने भएकाले नओर्लदै बस अघि बढेर दुर्घटना हुने जोखिम पनि छैन ।

बसमा भीडभाड भए गंगाराम माइकमा विनम्र आग्रह गर्छन्, ‘कृपया मिलेर बसिदिनुस्, सिट खाली गरेर नउभिदिनुस् ।’ आरक्षित सिटमा विवाद हुँदा उनी भन्छन्, ‘महिलाका सिटमा महिलामात्रै, जेष्ठ नागरिक सिटमा जेष्ठ नागरिकमात्रै बसिदिनुस्, यात्रालाई झै–झगडा मुक्त राखौं ।’

सह–चालक नभएको बसमा चालक गंगारामले आफ्नो सिट नजिकै स्पष्ट भाडा दरसहित लेखेका छन्–आफ्नो भाडा खुद्रा मिलाई समयमै काउन्टर बक्समा हालिदिनुहोला । उनी घरिघरि सानो लौरोले त्यसलाई हिर्काएर यात्रुहरुको ध्यानाकर्षण पनि गर्छन् । गन्तब्य नजिक आएपछि यात्रुहरु खुत्रुकेजस्तो बक्समा तोकिएको भाडा राखिदिन्छन् । खुद्रा नभएकाहरुका लागि साट्न गंगारामले आफ्नो अघि काठको बाकसमा बिभिन्न दरका नोटहरु चट्ट मिलाएर राखिएका छन् ।

गंगारामले विद्यार्थी परिचयपत्र सक्क्ली वा नक्क्ली के हो भनेर छुट्याउन वाहकले आफ्नो छेउमा बसेको अर्को यात्रुलाई देखाउनुपर्ने नियम बनाएका छन् । उनी भन्छन्, ‘यात्रुबारे यात्रुले नै निर्णय गरेको राम्रो हुनेरहेछ ।’

गंगारामको बसको बिषेशता यतिमै सकिँदैन । यसमा यात्रुले भोक या प्यास लागे चाउचाउ र पानी किन्न किन्न पाउँछन् । कहिलेकाहीँ लामो जाममा पर्दा यो व्यवस्थाले यात्रुलाई निकै राहत दिएको उनको अनुभव छ । गंगाराम भन्छन्, ‘सेवा भावले नै राखेको हुनाले चाउचाउ र पानीको २०–२० रुपैयाँ मात्र लिने गरेको छु ।’

गंगारामले बसभित्र डस्टबिन राखेर जथाभावी फोहोर फाल्न निषेध गरेका छन् । ‘गाडीभित्र खानेकुरा खाएर फोहर बाहिर फाल्नु राम्रो कुरा होइन,’ उनी भन्छन्, ‘डस्टविनमा फोहोर हाल्दा सभ्यता पनि झल्किन्छ ।’

गंगारामले बसभित्र डस्टविन मात्र होइन, प्लास्टिकको पारदर्शी बक्समा ‘न्याप्किन पेपर’ पनि राखिदिएका छन् । रुघा लागेका यात्रुले ती पेपर निःशुल्क प्रयोग गर्न सक्ने उनले बताए ।

कसैले कसैसँग हेपेर बोलेको गंगारामलाई निको लाग्दैन । आफूभन्दा कम उमेरकाले ‘ए, गाडी रोक’ भनेमा उनी ‘ऊ त्यो पढ्नुस् त !’ भनेर लेमिनेसन गरिएको सन्देश देखाउँछन्, जसमा लेखिएको छ– ड्राइभर साहेब, म ओर्लिन्छु रोकिदिनुस् न ! ‘यात्रुहरुलाई धेरै सम्मान गर्ने हो’, उनी भन्छन्, ‘आफू पनि अपमानित नहुने हो ।’

यो बसमा चढेका जयबहादुर कार्कीले गंगारामले सबैले सिको गर्न लायक प्रयास थालेको भन्दै प्रशंसा गरे । ‘आज यो बसमा चढेपछि मैले उहाँले सारै उत्तम चलन बसाउन खोजेको देखेँ’, बयोवृद्ध कार्कीले उनले भने, ‘यस्तो प्रयासको त सबैले सिको गर्नपर्छ ।’

गंगाराम खाइजुको बसमा टाँसिएका रोचक–घोचक केही सन्देश:

–कृपया सक्कली कार्ड प्रयोग गरौं
–महान चरित्र निर्माण महान विचारबाट हुन्छ
–ईश्वरको सर्वोत्तम कृति हो ‘इमान्दार मानिस’
–चरित्रहीन धनी पनि विपत्तिमा पर्न सक्छ
–जति जति धन बढ्दै जान्छ, लोभ पनि बढ्छ
–गाडी चढ्दा, ओर्लिँदा, बाटो काट्दा मोबाइल फोन प्रयोग नगरौं
–पान पराग, चुरोट तथा मदिरा सेवन गरी गाडी नचढौं
–ठेस लागेर दुर्घटना हुँदा ड्राइभरलाई दोषी नबनाऔं
–फलफुल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट निस्कने फोहोर डस्टिविनमा हाली सभ्य नागरिकको परिचय दिऔं ।

भिडियो रिपोर्ट हेर्नुस्

फोटो/भिडियोः शंकर गिरी 

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?