Comments Add Comment

भेरी–बबईको बाँधमा अनुमानित लागतभन्दा ३ अर्ब घटेर ठेक्का दिने तयारी

२२ असार, काठमाडौं । विद्यमान कानूनी व्यवस्थाको दोहन गर्दै नेपालमा कमभन्दा कम रकम कबोल (लो–बिड) गरेर ठेक्का हात पर्ने क्रम झांगिदो छ । पछिल्लो उदाहरण हो, राष्ट्रिय गौरबको भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स अर्थात् बाँधस्थल निर्माणका लागि भएको टेन्डर ।

८ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनामा झण्डै ३६ प्रतिशतसम्म रकम घटेर टेन्डर हालिएको छ । कम रकम कबोल गर्नेलाई ठेक्का दिनुपर्ने नियमले गर्दा यही ठेकेदारलाई प्राथमिकतामा राख्नुको विकल्प छैन । तर, अनुमानित भन्दा ३ अर्ब कम लागतमा ठेकेदारले आयोजना पूरा गर्ला त भन्ने प्रश्न जरुर उठ्छ ।

८ अर्बको परियोजना ५ अर्ब १३ करोडमा लिन तयार भएको रमण कन्स्ट्रक्सनले अब यो आयोजना बनाउने लगभग निश्चित छ । रमण कन्सट्रक्सन बलराम महतोको कम्पनी हो । यो कम्पनीको ठूलो परियोजनामा काम गरेको खासै धेरै अनुभव छैन । चीनको ग्वाङ्डोन–युनाटियन–रमण जेभीमा यो परियोजनाका लागि यस कम्पनीले टेन्डर हालेको थियो ।

भेरी बबईमा कोभिक–तुँदी जेभीले ७ अर्ब ४ करोड, नोङटोङ–आशिष जेभीले ६ अर्ब ४१ करोड, सिनो–केएसएनएस जेभीले ५ अर्ब ७४ करोड, पटेल–कालिका जेभीले ५ अर्ब ३९ करोडमा ठेक्का हालेका थिए । तर, सबैभन्दा कम रकम कबोल गरेको रमणले अनुमानितभन्दा २ अर्ब ८७ करेड कममा ठेक्का सकार्न लागेको हो ।

पछिल्लोपटक धरहरा निर्माणको जिम्मा लिएको रमण कन्सट्रक्सनलाई यो परियोजना ‘फलामको चिउरा चपाउनुसरह’ हुने आयोजनाका एक अधिकारीले बताए । उसको विदेशी जेभीको पनि पनि नेपालमा जलविद्युत क्षत्रेमा काम गरेको अनुभव छैन ।

आयोजनाले आर्थिक प्रस्ताव खोलिसके पनि ठेक्का सम्झौता गर्ने निर्णय लिइसकेको छैन । आयोजना प्रमुख सञ्जीव बराल ठेक्का मूल्यांकनकै क्रममा रहेको बताउँछन् । यो आयोजनाका लागि प्राविधिक रुपमा छनोट भएका ५ कम्पनीको आर्थिक प्रस्ताव खोलिएको थियो ।

यो ठेक्का प्रक्रियामा आएकोमध्ये सिनो सिनो–केएसएनएस जेभी नेपालमा सबैभन्दा अनुभवी कम्पनी हो । चीनको सिनो हाइड्रोले नेपालका थुप्रै जलविद्युत परियोजनामा काम गरेको छ । कुलेखानी तेस्रो र माथिल्लो तामाकोसीको सिभलतर्फको काम उसैले गरेको हो । तनहुँ जलविद्युत आयोजनामा पनि सिनोले ठेक्का पाएको छ । तर, उसले पनि झण्डै २ अर्ब कममा ठेक्का प्रस्ताव गरेको छ ।

भेरी बबई डाइभर्सन आयोजनाको सुरुङको गत चैतमा नै ‘ब्रेक थ्रु’ भएको थियो । अब दोस्रो प्याकेजमा बाँध, विद्यृत गृह, सर्ज ट्रयाक निर्माण गर्न लागिएको छ । यो ठेक्का अवार्ड भएर सम्झौता हुने कम्पनीले भेरी नदीमा पुलसहितको बाँध बनाउनुपर्छ । यो बाँध निर्माण गर्न ५ वर्ष समय लाग्ने अनुमान छ ।

भेरी बबई आयोजना डाइभर्सन आयोजनाबाट हात्तीखालमा ४६.८ मेगावाट विजुलीसमेत उत्पादन गर्ने योजना छ । तर, पावर हाउस निर्माणका लागि पनि अझै ठेक्का लागेको छैन । भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण हुनेछ ।

मुख्य रुपमा सिँचाईका लागि बनाइएको यो आयोजनाबाट वार्षिक करीब चार अर्ब ३ करोड बराबरको विजुली उत्पादन हुनेछ ।

यो पुरै आयोजना सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सक्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment