
२४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएका छन् ।
५ असारमा सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु भएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।
लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए । राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको मन्त्री थापाले बताए ।
गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन समितिको रिपोर्टमा उल्लेख रहेको उनले बताए ।
पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए ।
तर, सांसदहरुले पौडेलको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे ।
जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन् ।
बरु शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको बताएका छन् । उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा घटेका हुन् । र, लोकतन्त्रको रक्षा गर्ने क्रममा घट्न गएका हुन् ।’
‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ । जनताको जनादेश पनि त्यही छ, मन्त्री थापाले भने, ‘यसैक्रममा यी घटना घटेका हुन् ।’
सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए । ‘यही क्रममा घटना हुन गएको हो,’ उनले भने ।
यसैवीच, गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु आपत्तिजनक भएको बताए ।
प्रतिक्रिया 4