Comments Add Comment

काठमाडौंलाई कस्तो शहर बनाउने ? प्राचीन कि आधुनिक ?

कुनै समय काठमाडौं (कान्तिपुर) को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई ‘मन्दिरै मन्दिरको शहर’ पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझैपनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ ।

अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, प्रविधियुक्त संरचनाहरु थपिएका छन् । आदिकवि भानुभक्तले भनेझै कतै दिल्लीजस्तो, कतै लन्डनजस्तो फेरि कतै वाराणसीजस्तै । आधुनिकता र प्राचीन शैलीको फ्युजन भएको छ यो शहर ।

सानो उपत्यकाको एउटा अत्याधुनिक शहर । गगनचुम्बी भवन, पानीको फोहोरा लहराईरहेका कृतिम ताल-तलैया, सुविधासम्पन्न सपिङ मल, सिनेमा घर, चिल्ला एवं फराकिलो सडक, ठाउँ-ठाउँमा ओभरफ्लाई, सुरुङ मार्ग । व्यवस्थित सार्वजनिक यातायात । बेतोडले दौडिरहने मोनो रेल । थरीथरी बिजुलीबत्तीले झलमल्ल शहर । यस्तो शहर, जहाँ प्रवेश गर्नसाथ आधुनिकताले परिपूर्ण शहरमा पुगेको अनुभूत गर्न पाइयोस् । करिब दुई हजार बर्ष पुरानो सभ्यता बोकेर ठडिएको काठमाडौं शहर कस्तो होस् ? आधुनिक वा प्राचीन ?

कस्तो नबनाउने काठमाडौं ?

हामी विकासको मोडलबारे कुरा गर्दा ‘कस्तो बनाउने’ भनेर चर्चा गछौर्ं । काठमाडौंलाई कस्तो बनाउने भन्दा पनि कस्तो नबनाउने भनेर चर्चा गर्नु सान्दर्भिक हुन सक्छ । काठमाडौंलाई हामी पूर्णतः प्राचीन शहरका रुपमा विकास गर्न सक्दैनांै । आजको युगमा त्यो सम्भव नहोला । किनभने काठमाडौं भनेको मुलुकको राजधानी हो । प्रमुख प्रशासनिक शहर हो । देशभरबाट उपचार गराउन, पढ्न, भविष्य बनाउनेहरु यहाँ आउने गर्छन् । यसर्थ काठमाडौं शैक्षिक हब हो । व्यापारिक केन्द्र हो । उपचार गन्तव्य हो । यी सबै कुरालाई व्यवस्थापन, सुलभ, सहज बनाउनका लागि काठमाडौंले आधुनिकतामा छलाङ मार्नैपर्छ ।

काठमाडौंलाई हामी नितान्त प्राचीन शहरका रुपमा फर्काउन सक्दैनौं । पूर्णतः अत्याधुनिक शहर पनि बनाउन सक्दैनौं । यसलाई प्राचीन वास्तुशिल्प सजाएर आधुनिक सेवा-सुविधाले भरिपूर्ण शहरका रुपमा कायम रहन दिनुपर्छ

यहाँ अत्याधुनिक व्यापारिक भवन हुनुपर्छ । यहाँ प्रविधिमैत्री अस्पताल रहनुपर्छ । यहाँ जीवनोपयोगी शिक्षालय बन्नुपर्छ । आधुनिक सडक संरचना बन्नुपर्छ । छरितो र सुविधायुक्त सार्वजनिक यातायात, होटल-लज उपलब्ध हुनुपर्छ । त्यसैले काठमाडौंलाई अब पूर्णप्राचीन मोडलमै फर्काउन त्यति उपयुक्त हुँदैन ।

यद्यपि काठमाडौंको पहिचान भनेकै पौराणिक वास्तुशिल्प हो । यहाँका मठ-मन्दिर र प्राचीन संरचना सदियौं पुरानो वास्तुशिल्पको नमुना हुन् । यही नै काठमाडौंको सौन्दर्य र चिनारी पनि हो । आज विश्वमा ठूल-ठूला र अत्याधुनिक शहर निर्माण भएका छन् । ती शहर आधुनिकताको उच्चतम् नमुना हुनसक्छ ।

किशोर थापा

तर, काठमाडौं ती शहर जस्तो होइन, जोसँग लामो इतिहास र सभ्यता छैन । काठमाडौंको सभ्यता त्यसबेला सुरु भएको मानिन्छ, जतिबेला विश्वका कतिपय शहर नै बसेको थिएन । कुनैबेला यो पवित्र तपोभूमी रहेको थियो । इतिहासको विभिन्न कालखण्डमा यस शहरलाई गोपाल वंश, महिषपाल वंश, किरात वंश,  लिच्छिवी वंश, मल्ल वंशले आ-आफ्नो सभ्यता र रीतिथिी िबसाउँदै आए ।

चारैतिर पहाडले घेरेको यो कचौरा जस्तो शहरसँग सदियौं पुरानो मानव सभ्यताको अवशेष छ । विश्वका कति आधुनिक शहरसँग त्यो प्राचिन सभ्यता छैन, जो काठमाडौंसँग छ । काठमाडौंले आज घोडेजात्रा मनाइरहेको छ, भोटेजात्रा मनाइरहेको छ, मछिन्द्रनाथको जात्रा मनाइरहेको छ, सिन्दुर जात्रा मनाइरहेको छ ।

शहर फगत भौतिक संरचनाहरुको थुप्रो र मान्छेहरुको भिडभाड मात्र होइन । शहरको आफ्नै कला, संस्कृति, रीतिथिति, चालचलन हुन्छन् । काठमाडौं यस्ता मौलिक कला-संस्कृतिको शहर पनि हो । यसहिसाबले हामी काठमाडौंलाई भौतिक सुख-सुविधाले परिपूर्ण अत्याधुनिक शहरको रुपमा मात्र कल्पना गर्न सक्दैनौं ।

काठमाडौंलाई हामी नितान्त प्राचीन शहरका रुपमा फर्काउन सक्दैनांै । यसैगरी पूर्णत अत्याधुनिक शहर पनि बनाउन सक्दैनौं । यसलाई एक प्राचीन वास्तुशिल्प सजाएर आधुनिक सेवा-सुविधाले भरिपूर्ण शहरका रुपमा कायम रहन दिनुपर्छ ।

हामीले प्राचीन सम्पदाको महत्व बुझेनौं

काठमाडौं भन्नासाथ कस्तो शहरको परिकल्पना गरिन्छ ? काठमाडौं मुलुककै सबैभन्दा ठूलो र प्रमुख शहर हो । मुलुकको राजधानी पनि । यो शहर त मुलुककै नमुना हुनुपर्ने । काठमाडौं प्रवेश गर्नासाथ मान्छेहरु रोमाञ्चक हुनुपर्ने । काठमाडौंको सौन्दर्य देखेर मोहित हुनुपर्ने । काठमाडौंको विकास-प्रविधि देखेर उद्वेलित हुनुपर्ने । काठमाडौंको सेवा-सुविधा पाएर धन्य हुनुपर्ने । तर, काठमााडौंको जुन परिकल्पना गरिन्छ, त्यस्तो छैन । आज काठमाडौं भन्नासाथ धुलो-धूँवा, दुर्गन्ध, कोलाहालको च्याम्बर जस्तै भएको छ ।

आज हामीले प्राचीन सम्पदाहरु मास्दै गयौं । त्यसको महत्व र मूल्यलाई बुझेनांै । जथाभावी संरचना निर्माण गर्ने, जग्गा प्लटिङ गर्ने, ढलहरु बनाउने, तारहरु टाङ्ने, पाइपहरु बिछ्यायौं । शहरको हरियाली हराउँदै गयो । पार्कहरु साँघुरिदै गए ।

आज काठमाडौंमा निर्धक्क पानी पिउन सकिँदैन, निर्धक्क सास फेर्न सकिँदैन, सुविस्ताले हिँडडुल गर्न सकिदैन, ढुक्कसाथ खानेकुरा खान सकिँदैन । किन ? किनभने यो शहर अस्तव्यस्त भयो । जतात्यतै फोहोर, दुर्गन्ध, घेरैघर, तार, जताततै पाइप । धरापजस्तै पो भयो काठमाडौं ।

यो शहर हाम्रो हो । हामीले नै यसको गरिमालाई बचाउने हो । तर, आज शहरप्रति हाम्रो सद्भाव छैन । शहरलाई हामीले आफ्नो ठानेका छैनौं । त्यही कारण शहरमा जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास भयो । शहरलाई हेला गर्न थाल्यौं । शहरलाई हामी आफैले कुरुप बनायौ र हामी आफैं गाली गर्दै हिँड्न था थाल्यौं ।

शहर भनेको घरहरु, मान्छेहरु मात्र होइनन् । यो एउटा सभ्यता पनि हो । शहरसँग त्यसको आफ्नै सभ्यता हुन्छ । सभ्यता भनेको त्यहाँको रीतिथिति, चालचलन हो । शहरमा बसोबास गर्नेहरुले यहाँको सभ्यतालाई बुझ्नुपर्छ । यसका लागि हामी आफैं पनि सभ्य हुनुपर्छ । आज हामी सभ्य हुने हो भने हाम्रो शहरको सभ्यता पनि गौरवपूर्ण हुनेछ ।

सजीव शहर

विश्वका थुप्रै शहर मलाई निर्जीव जस्तै लाग्छ । शहर त छ, तर सुनसान । मान्छे एउटै देखिँदैन । चहलपहल देखिँदैन । शहरको प्रकृति भनेको भिडभाड, हो-हल्ला पनि हो । तर, व्यवस्थित ढंगको । शहर चलायमान हुनुपर्छ । गतिशील हुनुपर्छ । शहर सजिब हुनुपर्छ । काठमाडौंलाई हामीले निर्जीव बन्न दिनुहुँदैन ।

काठमाडौंलाई सुन्दर र सुविधायुक्त बनाउनु हाम्रो दायित्व हो । यहाँका घर-बस्तीहरु हटाएर बगैंचा बनाउन, रुख रोप्न त्यती सम्भव छैन । बरु हरेक टोल-टोलमा, हरेक घर-घरमा फूल रोपौं । स-सना बुट्यन लगाऔं । घरको छत र बार्दलीमा ढकमक्क फूल फुलाऔं । कति हरियाली देखिन्छ । कति रंगबिरंगी देखिन्छ । सुगन्धित हुनेछ ।

सरकारले वा महानगरले रुख रोपिदिन्छ, फूल रोपिदिन्छ भनेर किन पर्खेर बस्ने ? हामी आफैं पनि गर्ने । पानीको समूचित प्रयोग गर्ने । जथाभावी ढल नमिसाउने । जथाभावी फोहोर मैला नमिल्काउने । हाम्रो शहर हामी आफै किन नबनाउने ?

सकेसम्म साइकल चढौं । पैदल हिँडौं । निजी सवारीभन्दा सार्वजनिक यातायातलाई प्राथमिकता दिऔ । बाटो काट्न जेब्राक्रस वा स्काइ बि्रज नै प्रयोग गरौं । एम्बुलेन्स, दमकल जस्ता आपतकालीन सेवाहरुलाई बाधा नपुर्‍याऔं । ब्रेल मार्ग, साइकल रुटमा गाडी पार्किङ नगरौं । पसल नथापौ । हाम्रो शहरमा हामी आफैं किन सभ्य नबन्ने ?

(अनलाइनखबरकर्मी शिव मुखियासँग कुराकानीमा आधारित)

तस्वीरहरु : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment