Comments Add Comment

फनपार्क सञ्चालकको बदमासी : आम्दानी ७ करोड, देखाइयो १ लाख

२६ असार, काठमाडौं । भृकुटीमण्डपमा बाल उद्यान सञ्चालन गर्ने ल्याय्म्ह पुचः ले गरिरहेको आर्थिक घोटालाको तथ्य फेला परेको छ । अनलाइनखबरलाई प्राप्त भएको उक्त संस्थाको बार्षिक आय–व्यय वासलात हेर्दा वार्षिक करोडौं रकम हिनामिना भइरहेको प्रष्ट हुन्छ ।

ल्याय्म्ह पुचः ले २५ रोपनीमा फैलिएको फनपार्क क्षेत्र प्रयोग गरेवापत समाज कल्याण परिषद्लाई मासिक १३ हजार रुपैयाँ भाडा तिर्छ । ०७५ पुस ७ गते बसेको वार्षिक साधारणसभाले पारित गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार खर्चभन्दा बढी आम्दानी करिब ४ लाख रुपैयाँ मात्र छ ।

ल्याय्म्ह पुःचले आर्थिक वर्ष ०७४/०७५ मा कुल १२ लाख ३३ हजार ८१३ रुपैयाँ ९५ पैसा आम्दानीे गरेको वासलातमा उल्लेख छ । यो आम्दानी संस्थाको घर भाडा, ल्याय्म्ह पुचः बाल उद्यान भृकुटीमण्डप, नखुलाइएको पसलको भाडा तथा विविध स्रोतबाट प्राप्त हुने देखाइएको छ । सोही आर्थिक वर्षमा ल्याय्म्ह पुचःले समाज कल्याणको भाडाबापत एक लाख ५९ हजार २०४ रुपैयाँ तिरेको थियो । यस्तै ह्रास खर्च शीर्षकमा २ लाख ११ हजार ८ सय कटाइएको छ भने प्रशासकीय खर्च ३ लाख ५३ हजार ६६८ रुपैयाँ देखाइएको छ । एक लाख ३० हजार रुपैयाँ आयकर काटिएको वासलातमा उल्लेख छ ।अनि ‘खर्चभन्दा बढी आम्दानी’ ३ लाख ७९ हजार १४१ रुपैयाँ ९५ पैसा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४/०७५ असार मसान्तसम्म ल्याय्म्ह पुचः को कुल सम्पत्ति ३९ लाख ५ हजार ९०० रुपैयाँ बराबर रहेको देखिएको छ । तर, बागबजारजस्तो ठाउँमा रहेको करोडौं पर्ने साढे तीन तले घरको पनि ३९ लाख मात्रै मूल्याङ्कन गर्नुले संस्थाको बदमासी झल्किन्छ ।

अघिल्लो आर्थिक वर्षभन्दा दुई लाख बढीले सम्पत्तिको मूल्यमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष उक्त संस्थाको कुल सम्पत्तिको मूल्य ४१ लाख १७ हजार ७ सय थियो ।

समाजसेवामा २१ हजार !

ल्याय्म्ह पुचःको विधानमा यसलाई ‘युवाहरुको वृत्तिविकासको क्षेत्रमा काम गर्न संस्था’ का रुपमा चिनाइएको छ । गैरनाफामुलक संस्थाको रुपमा स्थानीय अधिकारीको अनुमति लिएर संस्था दर्ता ऐन २०३४ अनुसार ०५० मा यसको गठन गरिएको थियो ।

तर आर्थिक वर्ष ०७४/०७५ मा उक्त संस्थाले एक वर्षमा समाज विकासका लागि गरेको खर्च ज्यादै न्यून छ । काठमाडौं उपत्यकाको नेवारी सांस्कृतिक पर्व योमरीमा कार्यक्रम गर्न संस्थाले जम्मा रु २१ हजार ९९० रुपैयाँ खर्च गरेको छ, त्यत्ति हो । प्रशासनिक खर्च अन्तर्गत संस्थाले गरेको कुल ३ लाख ५३ हजार ६६८ रुपैयाँ खर्च पनि अस्वभाविका देखिन्छ । यसभन्दा अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा संस्थाले मनपरी खर्च गरेको उसको लेखापरिक्षण प्रतिवेदनले नै देखाउँछ ।

फनपार्ककोे आम्दानी

आर्थिक वर्ष ०७३/०७४ मा भृकुटीमण्डपको २५ रोपनी जमिनमा सञ्चालित फनपार्कले वार्षिक आम्दानी एक लाख मात्रै गरेको संस्थाकै प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७४/०७५ मा त्यो आम्दानी वार्षिक ८ लाख पुगेको छ ।

संस्थाले आफ्नो बागबजारको घर भाडामा लगाएर २ लाख ३८ हजार ७ सय रुपैयाँ थप आम्दानी गरेको दाबी गरेको छ । यो शीर्षकको भाडा रकम अघिल्लो आर्थिक वर्षमा त झन् एक लाख १२ हजार ९३३ रुपैयाँ मात्रै थियो । जबकि, बागबजारजस्तो ठाउँको तीन तल्ले घर मासिक नै लाखौं रकममा भाडा लाग्छ ।

यस्तै पसल भाडाबाट आर्थिक वर्ष ०७४/०७५ मा १ लाख ७७ हजार ५ सय आम्दानी पनि प्रतिवेदनमा लेखिएको छ । यो आम्दानी अघिल्लो वर्ष १९ हजार ५०७ थियो ।

समाज कल्याण परिषदका अनुसार ल्याय्म्ह पुचःले फनपार्कबाट वार्षिक ७ करोड हाराहारी आम्दानी गर्छ । तर संस्थाको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा फनपार्कको आम्दानी कुनै वर्ष एक लाख त कुनै वर्ष ८ लाख मात्रै देखिएको छ । मुख्य कैफियत यहीनेर रहेको समाज कल्याणका अधिकारी बताउँछन् ।

फनपार्कको रेल घुम्ने क्षेत्रभित्र रहेका पोखरीको डुंगासहित २७ वटा खेल, १० वटा खाजा घर र एक शौचालयबाट ल्याय्म्ह पुचःले आम्दानी गर्छ, जो २३ वर्षदेखि निरन्तर छ ।

परिषद स्रोतका अनुसार, ल्हाम पुचःले चालु आर्थिक वर्षका लागि ३० हजार टिकट छपाएको थियो । प्रतिटिकट रु.३० लिने गरिएको छ । यसको सोझो हिसाबले यसबाट वार्षिक नौ लाख रुपैयाँ आम्दानी हुन्छ । फनपार्क प्रवेश शुल्क, बाल रेलसहित २६ वटा खेल–तमासका फरक टिकट र ११ वटा रेष्टुरेन्टको मासिक भाडा ल्याम्ह पुचःको एकलौटी कमाइ हो ।

यो संस्थाले फनपार्कबाट मासिक न्यूनतम ४० लाखदेखि अधिकतम् ६० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको परिषद् स्रोत बताउँछ । वर्षात् र जाडो मौसममा सबैभन्दा कम आम्दानी हुन्छ । फनपार्क प्रवेश शुल्क, २६ वटा खेल र ११ वटा रेष्टुरेन्टसमेतबाट ल्याम्ह पुचःले वार्षिक रु.७ करोडभन्दा बढी आम्दानी गरिरहेको परिषदले विभिन्न समयमा गरेको गुप्त अध्ययनहरुले देखाएको छ ।

यसरी मासिक ६० लाख कमाउने संस्थाले जम्मा १३ हजार भाडा तिरेर करको दायित्वसमेत समाज कल्याण परिषद्लाई नै छोडेको छ । ०५३ सालमा भएको सम्झौतामा करबारे केही उल्लेख नहुनुको फाईदा पुचःले उठाइरहेको हो । परिषदको तत्कालीन नेतृत्वलाई प्रभावमा पारेर सम्झौतामा जानाजान करको विषय नराखिएको स्रोतको भनाइ छ ।

उल्लेखितबाहेक पार्किङ र फनपार्क प्रवेशको सुरुवाती टिकटबाट उठेकोे रकम ल्याय्म्ह पुचः र काठमाडौं फनपार्क प्रालिले बाँडीचुँडी लिन्छन् । समाज कल्याण परिषदसँग यी दुवै संस्थाले गरेर जम्मा २३९ रोपनी जमिन भाडामा लिएका हुन् । जसमध्ये टेकबहादुर गुरुङको काठमाडौं फनपार्क प्रालिले ६ लाख १० हजार र ल्याय्म्ह पुचःले १३ हजार ९२३ रुपैयाँ मासिक भाडा समाज कल्याणलाई तिर्दै आएका छन् ।

के भन्छन् पदाधिकारी ?

ल्याय्म्ह पुचःको लेखापरीक्षण प्रतिवेदनबारे प्रश्न गर्दा संस्थाका महासचिव टंक पन्तले समाज कल्याणसँग कानुनी ढंगबाटै भृकुटीमण्डपको पार्क भाडामा लिएको दाबी गरे ।

भृकुटीमण्डपको अहिलेको भाडा र वार्षिक एक लाख आम्दानी साँचो हिसाब हो त ? भन्ने प्रश्नमा पन्तले समाज कल्याणले दिएबमोजिम नै आफूहरुले प्रयोग गरेको बताए ।

‘समाजकल्याणले दयामायाले हामीलाई त्यो ठाउँ दिएको होइन,’ पन्तले भने ।

पत्रकार गोविन्द वियोगीजस्ताले स्थापना गरेको संस्थामा राम्रै मनले आफूहरु लागेको उनको भनाइ छ । संस्थाको महासचिव भए पनि आफू कुनै पनि कार्यक्रममा सहभागी नहुने दाबी पनि उनले गरे । वरिष्ठ पत्रकार पन्त हाल नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment